मन्त्रालयमै थमाैती र सरुवा रोक्नेको भीड
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा केही दिनदेखि कर्मचारीको भीड छ। यो भीड आकर्षक सरकारी कार्यालयमा सरुवा माग्ने र थमौती गर्न चाहने कर्मचारीको हो। केही सरकारी कार्यालय ‘मालदार’ कार्यालयका रूपमा चिनिन्छन्, जहाँ घुस नदिई जनताका कुनै काम हुँदैनन्।
Advertisement 1
मन्त्रालयले काठमाडौँमा नै जरोकिलो गाडेर बसेका कर्मचारीलाई मधेश प्रदेशका स्थानीय तह र रिक्त भएका विभिन्न पालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर सरुवा गरेको छ । एक सातामा दुई चरणमा गरी मन्त्रालयले ५७ जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयमा अहिलेसम्म सरुवाका लागि ४५२ जना कर्मचारीले निवेदन दिएको मन्त्रालयले जनाएको छ । केही दिनभित्रमा नै रिक्त स्थानीय तहमा मन्त्रालयले निवेदन दिने कर्मचारीमध्येबाट सरुवा गर्ने तयारी गरेको छ ।
सरुवा भएको स्थानमा जान छाडेर थमौती गराउन खोज्ने कर्मचारीको प्रवृत्ति गलत भएको मन्त्रालयले जनाएको छ । केही कार्यालयमा अतिरिक्त कमाइ हुने लोभमा कर्मचारी मरिहत्ते गरेर जाने प्रवृत्तिमा कमी आउन सकेको छैन् । आकर्षक र घुस्याहा सरकारी कार्यालयमा मनग्गे रूपमा आर्थिक कमाइ हुने गरेको छ। कतिपय कर्मचारीले दैनिक १० देखि ३० हजार रुपैयाँसम्म अतिरिक्त कमाइ गर्ने गरेको राष्ट्रिय सतर्कता केन्द्रकै अध्ययनले देखाएको छ। त्यस्ता कार्यालयमा कर्मचारीको पहुँच शक्तिकेन्द्रसँग समेत हुने गरेको छ।