एसएसपी पाल निलम्बनमा !
नेपाल प्रहरीका एसएसपी योगबहादुर पाललाई गृहमन्त्रालयले निलम्बन गरेको छ । प्रहरी प्रधानकार्यालयको सिफारिसमा उनलाई मन्त्रालयले निलम्बन गरेको हो ।
Advertisement 1
नेपाल प्रहरी प्रदेश कार्यालय, कञ्चनपुरको प्रमुखको रूपमा कार्यरत रहँदा गत १९ जेठमा उनले सोही कार्यालयमा कार्यरत एक महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेका थिए। बिदामा जान लागेकी कर्मचारीलाई निवासमा बोलाएर ‘तिमी मलाई मन पर्यो आज गुड फ्राइडे मनाउनुपर्छ’ भन्दै दुर्व्यवहार गरेका थिए। महिलाको उजुरीका आधारमा छानबिन गर्दा एसएसपीको गल्ती देखिएपछि उनलाई निलम्बन गरिएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका एसपी श्यामसिंह चौधरीको अध्यक्षतामा समिति गठन भई छानबिन समितिले एसएसपी पालको गल्ती देखाएको थियो । सो छानबिनका क्रममा अन्य महिला प्रहरीले पनि विगतमा आफूहरूलाई समेत एसएसपी पालले दुव्र्यवहार गर्दै आएको सुनाएका थिए । छानबिन समितिले १९ जेठको घटनाबारे कार्यालयका प्रहरी कर्मचारीसँग सोधपुछ गरेको थियो । जसक्रममा अन्य महिला प्रहरीले पनि विगतमा आफूमाथि एसएसपी पालले गरेको दुर्व्यवहारका घटना सुनाएका थिए ।