हुलाकसेवाको अधिकृतदेखि मुख्यसचिवसम्म

झण्डै एक लाख निजामती कर्मचारीको अभिभावकको जिम्मेवारी पाएका छन्,डा बैकुण्ठ अर्यालले । तीन दशक अघि २०४९ मा शाखा अधिकृतबाट निजामती सेवामा पाइला राखेका अर्यालले ३० बर्ष पछि निजामती सेवाको सर्वाेच्च पद मुख्य सचिव बन्न सफल भएका छन् ।
निजामती सेवा प्रवेश गरेको ७ बर्षपछि उपसचिव,१७ बर्षमा सहसचिव,२६ बर्षमा सचिव हुँदै तीस बर्ष पूरा भएपछि मुख्य सचिव बन्ने अवसर पाएका हुन । हरेक सरकार बन्दा अर्थ सचिव हुने चर्चा चलाइए पनि अर्थ सचिव बन्न नपाएका अर्याल अवकाशको अन्तिम समयमा मुख्य सचिव भएका हुन्।

Advertisement 1

अर्यालले रामेछापको हुलाक कार्यालयबाट अर्यालले निजामती सेवामा पाइला राखेका थिए । उपसचिवका रुपमा उनले २०५६ देखि १० वर्ष राष्ट्रिय योजना आयोगमा काम गरेका थिए । उनले आयोगमा आर्थिक विश्लेषण र उद्योग, वाणिज्य, आपूर्ति, पर्यटन र जलस्रोत लगायतका क्षेत्रहरुमा काम गरेका थिए । काठमाडौंको दक्षिणकालीमा जन्मिएका र हाल ललितपुरको ढोलाहिटीमा बस्दै आएका अर्याल ०७५ असार ३ गते सचिवमा बढुवा भएका थिए सचिवको ५ वर्षे सेवाअवधि सकिएर आजै अवकाशमा जाँदै थिए।
निजामती सेवामा प्रवेश गरेको १७ बर्षपछि ०६६ मा सहसचिव बनेपछि उनले केही साता गृह मन्त्रालयमा काम गरे । त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भए । झण्डै २० महिना प्रधानमन्त्री कार्यालयमा काम गर्दा सञ्चार र कागजात व्यवस्थापनलाई डिजिटलाइज्ड गर्न उनले भूमिका खेलेका थिए ।

अर्थ मन्त्रालयमा रहँदा एलएमबीआईएसका अतिरिक्त, कागजात व्यवस्थापन प्रणाली र सार्वजनिक खर्च समीक्षाका लागि डेटा व्यवस्थापन लगायतका विभिन्न प्रणाली सुधारमा संलग्न रहेर काम गरेका छन् ।
२०७५ मा उनी सचिव भएपछि पहिलो पदस्थापन राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा भयो, जुन बेला आयोगमा पदाधिकारी थिएनन् । आयोग गठन पछिको पहिलो सचिवका रुपमा उनले त्यहाँ १९ महिना बिताए । वित्तीय संघीयतालाई संस्थागत गर्न उनले त्यहाँ निर्वाह गरेको भूमिका महत्वपूर्ण मानिन्छ ।

Advertisement 2

वित्त आयोगको प्रमुख काम संघीय सरकारले प्रदेश तथा स्थानीय सरकारलाई दिने वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँटको सूत्र निर्माण गर्नु हो । प्राकृतिक स्रोतबाट प्रदेश र स्थानीय तहमा रोयल्टी बाँडफाँटको सूत्र तर्जुमा गर्न पनि उनले प्रमुख भूमिका निर्वाह गरे ।

 

Advertisement 3

त्यसपछि उनले वाणिज्य मन्त्रालयमा सचिवका रुपमा काम गरे । कोरोना महामारीको समयमा वाणिज्य सचिवका रुपमा काम गर्दा आपूर्ति व्यवस्थापनमा उनको भूमिका महत्वपूर्ण थियो ।

त्यसपछि उनी केही समय प्रधानमन्त्री कार्यालयमा रहेर काम गरे । लगत्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिवका रुपमा काम गरेका थिए । सञ्चार मन्त्रालयमा रहँदा उनले खासगरी संघीय मन्त्रालयहरुलाई डिजिटल कार्यालय बनाउने कामको सुरुवात गरेका थिए । उनले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा टिप्पणी, फाइल सदर तथा पत्र आदानप्रदान गर्ने काम कागजरहित ढंगले गर्ने कामको सुरुवात गरेका थिए । गत चैतमा उनी सञ्चार मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर तथा नर्वेको कृषि विश्वविद्यालयबाट विकास र स्रोत अर्थशास्त्रमा स्नातकोत्तर समेत गरेका छन् ।

प्रकाशित :२०८० असार १, शुक्रबार ०७:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry