मन्त्रिपरिषद्को आकस्मिक बैठक, अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने तयारी

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बिहान ९ बजे बैठक बस्ने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार बिहानका लागि आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

Advertisement 1

मुख्यसचिव नियुक्त गर्ने विषयमा छलफल गर्न मन्त्रिपरिषदको आकस्मिक बैठक बस्न लागेको स्रोतले जनाएको छ । हालका मुख्यसचिव शंकरदास वैरागीलाई राजदूत बनाएर पठाउने र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत डा वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी भएको छ । २०४६ सालमा निजामती सेवामा प्रवेश गरेका डा. वैकुण्ठ अर्यालसँग हुलाक सेवादेखि १० वर्ष राष्ट्रिय योजना आयोग, गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालय हुँदै संघीयतापछि गठन गरिएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसम्म काम गरेको अनुभव छ । २०७४ पुसमा प्रकृतिक स्रोत तथा बित्त आयोगमा पहिलो कायममुकाम सचिव भएका उनीसँग संघीय अर्थतन्त्र र यसमा भएको अभ्यासबारे पनि राम्रो अनुभव छ । सचिवमा बढुवा भएको ५ वर्षको अवधिमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काम गरिसकेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेका अर्यालले नर्वेबाट डेभलपमेन्ट एन्ड रिसर्च इकोनोमिक्समा स्नातकोत्तरसँगै विद्यावारिधि गरेका छन् । तीन दशक सरकारी सेवामा बिताएका कुशल प्रशासक अर्याल चैत्रको दोश्रो साता सञ्चार मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानिएका थिए ।

प्रकाशित :२०८० जेष्ठ ३२, बिहीबार ०८:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry