शक्तिशाली सहसचिव

के निजामती क्षेत्र भनेकै शक्ति र पैसा हुनेको मात्र हो ? चलखेलमा माहिर कर्मचारीहरु सधै आकर्षक अड्डामा काम गर्ने अवसर पाउने अनि शक्ति र पहुँच नपुग्ने कर्मचारीहरु दुर्गम भेगमै सडिरहनु पर्ने । उनीहरुले कहिले राम्रा र आकर्षक मानिने कार्यालयमा काम गर्ने अवसर नपाउने ।
Advertisement 1
केही फष्ट क्लासका अफिसरहरुको जिद्धि उनीहरुले रोजे वा खोजेकै कार्यालय चाहिने । सकेसम्म राजधानीभित्रकै ए ग्रेडकै कार्यालय चाहिने,अन्यन्त्र जानै नमान्ने ! पछिल्ला समय निजामती वृत्तमा यस्ता ‘डन’ प्रवृत्तिका कर्मचारीहरुको बोलबोला बढ्न थालेको छ ।
पछिल्ला उदाहरण हुन,नारायण ढकाल । ढकाललाई स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले चांैथो पटक स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी दिएर पठाएका छन् । उनी १६ महिनासम्म जिम्मेवारीविहिन अबस्थामा थिए । यस अघि ढकाललाई बिस्थापन गरेर त्यहाँका डिजी बनेका भरत भट्टराईलाई राष्ट्रिय प्रयोगशालामा खटाइएको छ । उपेन्द्र यादव,विरोध खतिवडा,भानुभक्त ढकाल लगायतका काँग्रेस इत्तरका मन्त्री हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एउटा कोठामा बस्ने कुर्सी समेत नदिइ जिम्मेवारविहिन भएका उनी गगन थापा,उमेश श्रेष्ठ हुँदै मोहनबहादुर बस्नेत लगायतका काँग्रेसी खेमाका मन्त्री हुँदा औषधि व्यवस्था विभागको डिजी बन्न सफल भइरहे । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले २९ असोज २०७७ मा क्याविनेटको निर्णय गराएर ढकाललाई हटाएर भट्टराईलाई महानिर्देशकमा नियुक्ति गरेका थिए । पछि गठबन्धन सरकार बनेको दुई महिना नपुग्दै भरत भट्टराईलाई हटाएर विवादित छविका नारायण ढकाललाई महानिर्देशक बनाइएको थियो । यस अगाडि ढकाल २०७३ भदौ ३१ देखि विभागको महानिर्देशकको जिम्मेवारीमा थिए । त्यो पनि बिभिन्न विवादमा मुछिएकाले तत्कालिन स्वास्थ्य मन्त्री उपेन्द्र यादवले १५ असार २०७६ मा ढकाललाई महानिर्देशकबाट हटाएर पानबहादुर क्षेत्रीलाई निमित्त महानिर्देशक बनाएका थिए । यसरी एउटा कर्मचारी,सोही विभागको हर्ताकर्ता बन्न चाहनुको पछाडि कुन फ्याक्टरले काम गरेको होला ?
यस्तै स्वास्थ्य सेवा विभागका महानिर्देशमा तीन बर्षदेखि डा दीपेन्द्ररमण सिंहलाई नचलाइनुको कारण के हो ? उनको कार्यसम्पादन अब्बल भएर हो ? वा अन्य कुनै तत्व कारक छ,उनी त्यही टिकिरहनुको पछाडि ? कतिपय विभागका महानिर्देशकहरु ४÷५ महिनामै भकुण्डो बनाइँदा उनी ०७८ सालदेखि नै महानिर्देशकको भूमिकामा छन् ।
Advertisement 2
अर्काे,उदाहरण अर्थमन्त्री प्रकाशशरण महतले भन्सार विभागको महानिर्देशकको जिम्मेवारी दिए शोभाकान्त पौडेललाई । बजेटको मुखमा त्यहाँका महानिर्देशक चक्रबहादुर बूढालाई पर्यटन मन्त्रालयमा पठाएर महिनौ दिनसम्म नेतृत्वविहिन बनाइएको विभागको कमाण्ड गर्ने अवसर पाएका छन्, शोभाकान्त पौडेलले । उनलाई खानेपानी मन्त्रालयबाट अर्थमा तानेर बजेट लगतै भन्सारको डिजीका रुपमा खटाइएको हो । यस अघि ६ महिना आन्तरिक राजस्व विभागबाट महानिर्देशक चलाएका पौडेललाई सो जिम्मेवारी खोसेर केही महिना सामान्यको बरण्डामा थन्काइएको थियो । त्यहाँबाट खानेपानीमा पुगेका पौडेल ठूला करदाता कार्यालयको प्रमुख थिए । सोही समयमा एनसेलको ७२ अर्ब रुपैयाँ पूँजीगत लाभकर छली प्रकरणमा बाहिरिएको थियो ।
निजामती वृत्तमा यस्ता सहसचिव पनि छन्,जो एउटै कार्यालयमा ९ बर्षसम्म महानिर्देशक चलाए । वाग्मती प्रदेशको सचिव हुँदै अहिले शिक्षा मन्त्रालयमा कार्यरत विश्ववावु पुडासैनी एउटै कार्यालयमा ९ बर्षसम्म कुन शक्तिको बलमा टिके होला ? जबकी निजामती ऐनले हरेक २ बर्षमा कर्मचारीको जिम्मेवारी हेरफेर हुनुपर्दछ भन्दछ ।
Advertisement 3
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बाहेक अन्यन्त्र बस्नै नमान्ने सहसचिव हुन,मतिना वैद्य । संघीय मामिला तथा सामान्य प्रशासन वैद्यलाई कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा खटाएको थियो । त्यो सरुवालाई उल्टाएर उनी भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय बाग्मती प्रदेशको सचिवका रुपमा केही समय काम गरिन । त्यहाँबाट ०७८ असोजदेखि उनी पुन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको डिजीको कुर्सीमा छिन् । वैद्यमाथि लकडाउनका वेला ७२ हजार किलो अखाद्य चिनी आयातमा चलखेल गरेको आरोपमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत छुट्टाछुट्टै अनुसन्धान चलिरहेको छ । त्यही अनुसन्धानलाई प्रभावित पार्नका लागि उनी सो विभाग छाड्न नमानेको कृषि मन्त्रालयका कर्मचारीहरु चर्चा गर्दछन् ।
सडकतिर पनि यस्तै भद्रगोल देख्न पाइन्छ । सडक विभागमा दोह्रो¥याएर महानिर्देशक खाए अर्जुनजंग थापाले । उनी पछि त्यहाँ अहिले सुशीलबाबु ढकाल कमाण्ड सम्हाल्न पुगेका छन् । ढकाल यस अघि सडक विभागकै एडीबी प्रोजेक्टमा कार्यरत थिए ।
गृह मन्त्रालयका सबैभन्दा भाग्यमानी कर्मचारीमा गनिन्छन्,सहसचिव आश्मान तमाङ्ग । उनी लगातार ८ वटा जिल्लाको प्रमुख जिल्ला अधिकारी बनिसकेका छन् । गृहमन्त्रालयका कर्मचारीको भाषामा प्रायश मालामाल हुने जिल्लाको कमाण्डर बन्ने अवसर पाउने थोरै सहसचिवमध्येका एक हुन उनी । शिक्षा सेवाको सहसचिवबाट गृहमा प्रवेश गरेका आश्मान ०७३ फागुनमा तेह्रथुम हुँदै सिन्धुपाल्चोक जिल्लाको कमाण्ड सम्हाल्न पुगे । त्यहाँबाट मकवानपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी बनेका उनी राजधानी नजिकैको अर्काे जिल्ला धादिङ्गको सिडिओको जिम्मेवारी सम्हाल्ने अवसर पाए । सिन्धुपाल्चोक,मकावनपुर र धादिङ्ग राजधानी काठमाडौंको हिसावले सवैभन्दा आकर्षक जिल्ला मानिन्छ । धादिङ्गको प्रमुख जिल्ला अधिकारीबाट पर्साको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएका उनी ०७७ साल चैत्र २४ मा रुपन्देही जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएकामा त्यहाँबाट चितवनमा ल्याइयो । अहिले वाग्मती प्रदेशको भौतिक मन्त्रालयको सचिवको जिम्मेवारीमा छन् । उनीझैं गृहबाट यस्तो लाभ प्राप्त गर्ने अर्का सहसचिव हुन जयनारायण आचार्य । आश्मान र जयनारायणलाई गृहका कर्मचारीहरु ‘अर्कै ग्रहबाट आएका हाकिम’का रुपमा व्यग्य गर्ने गर्दछन् ।
उसो त अहिले प्रधानमन्त्रीको निजी सचिवको जिम्मेवारी सम्हालिरहेका नवराज ढुङ्गनालाई पनि कहिल्यै नरम कार्यालयमा बसेर काम गर्नु परेको छैन । यस अघि मातृका यादव वन मन्त्री हुँदा उनको सचिवालयमा बसेर काम गरेका ढुङ्गनाले पूरानो परिपाटी भत्काउदै मन्त्रीको निजी सचिवालयमा सहसचिव तहका कर्मचारीले बस्ने मौका पाएका । उनीमाथि अकुत सम्पत्ति आर्जनको मुद्धा विचराधिन छ । गोरखा, रत्ननगर नगरपालिका र तत्कालीन पोखरा उपमहानगरपालिकामा प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिसकेका उनीमाथि जग्गाको कित्ताकाट खुलाउने भन्दै पैसा उठाएर हिँडेको आरोपसमेत खेपिरहेका उनी प्रधानमन्त्रीको सचिवालयमा आउनु अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,वन तथा वातावरण, वीरगञ्ज भन्सार,महालेखा नियन्त्रकको कार्यालयमा बसे । सह–महालेखा नियन्त्रकमा रहँदा सरुवा, बढुवामा घुस लिएको आरोपसहित छानबिनको लागि २०७८ पुस १३ गते उजुरी दर्ता भएको हो भने रकम लेनदेनसहित थप तीन वटा उजुरीउपर निर्णय हुन बाँकी नै छ ।
उनै ढुंगनाको विशेष कृपाबाट अहिले अध्यागमन विभागको जिम्मेवारी सम्हाल्दै छन्,झलकराम अधिकारी । अधिकारी प्रधानमन्त्री प्रचण्डको जिल्लाबासी । राजश्व सेवा समूहबाट माथि नउठेका उनी कहाँ कहाँ राजश्व मार्न पाइन्छ त्यही कार्यालय खोजेर र रोजेरै बस्न सफल हाकिम हुन । साढे चार महिना मात्र पुल्चोकस्थित विभागमा रहेका उनी सहकारी विभागको रजिष्टार रहँदा बदनामी कमाएका पात्र हुन् । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हुँदै अध्यागमनको हर्ताकर्ता बनाइएको छ । निजामती कर्मचारीले एक पटक सुगम स्थानमा बसेपछि अर्को पटक दुर्गम स्थानमा सेवा गर्नुपर्ने सामान्य नियम हो । तर, पावर पुगेका र पैसा पेल्न सक्ने कर्मचारीको हकमा यस्तो नियम लागू भएको देखिदैन ।
आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनाली पनि ठूला कार्यालयमा बस्न नपाए छटपटीमै पर्ने हाकिममा पर्दछन् । वैदेशिक अध्ययन÷ भ्रमण पनि तिनैलाई,सिंहदरबारको चौघेरा तोडेर अन्यन्त्र जानुनपर्ने,खटिए पनि ए ग्रेडका अड्डाबाट ए ग्रेडकै अड्डामा जान पाउने भाग्यमानी पनि उनै । हाइ प्रोफाइलको अड्डामा बस्न नपाए छटपटाउनेमध्येका हुन,खुमराज कोइराला,जो जागिरे अवधिभर अर्थ र योजना आयोग छोडेर अन्यन्त्र कतै जानु परेन । योजना आयोगबाट बुटबलस्थित अर्थ मन्त्रालयको सचिव बनाएर खटाइएको दुई महिना पनि त्यहाँ टिकेनन्,अहिले उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छन् ।
बजेट लेखनको जिम्मेवारी पाइरहेका भूपाल बराल कहिल्यै नरम ठाउँमा बसेर काम गर्नु परेको छैन । उनीझैं कलकताको महावाणिज्यदूत ईश्वर पौडेल,श्रीकृष्ण नेपाल,उमेश ढकाल,कमल भट्टराईहरुलाई अवसरको खात लाग्ने कर्मचारीमा पर्दछन् ।
कनिष्ट भए पनि सुरेन्द्रमोहन श्रेष्ठ शहरी विभागको डिजी खाइरहेका छन् । सहसचिव भएको दुई बर्ष भयो । नौ बर्ष अघि सहसचिव भएकाहरु जिम्मेवारी नपाएर कौसीमा घाम तापिरहेका छन् । सहरीका सहसचिवहरु इ गणेशराज वस्तीलाई हालै वित्त आयोगतिर लखेटिएको छ । त्यहाँ पदममैनाली मैनाली,रामचन्द्र दंगालहरु जिल्लाराम छन्,गतिलो जिम्मेवारी पाएका छैनन् । सहसचिव इश्वरचन्द्र मरहठ्ठा भ्रष्टाचारमा डामिएपछि निलम्बनमा परे । त्यहाँ सिनियरहरुलाई बाइपास गरेर भरतप्रसाद अर्याललाई डोलीको इडी बनाएर पठाइएको छ । यस्ता विकृतीका बान्की निजामतीभित्र कति छन कति !