प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन

मुलुकको प्रशासनिक संयन्त्र संचालन, अनुगमन र निर्देशन दिने मुख्य केन्द्र हो, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय । सरकारले लिएका नीति निर्णयहरूको कार्वान्वयन पक्षको अनुगमन तथा निर्देशन दिने, सुशासन कायम गराउने र देशभरको विकास निर्माणको अवस्था बुझ्ने थलो पनि हो त्यो ।
Advertisement 1
तर, देशको समग्र प्रशासनिक गतिविधि तथा कामकारवाहीलाई चुस्त दुरुस्त राख्न समन्वय र निर्देशनकारी भूमिका खेल्नुपर्ने प्रधानमन्त्री कार्यालय आफैँ भने भद्रगोल बनेको छ । तीन सचिवले चल्ने कार्यालयमा आठ जना सचिवको भीड लागेपछि ठाउँ अभावले त्यहाँ भद्रगोल अवस्था बनेको हो ।
कतिसम्म भने, सचिवहरुलाई बस्ने कुर्सि र टेवलसम्म पनि छैन त्यहाँ । केही सचिवलाई उपसचिवहरुको कोठा खोसेर जेनतेन बस्ने व्यवस्था मिलाइएको छ भने केही त टेवल कुर्सि बिहीन छन् । प्रधानमन्त्री कार्यालयमा यसअघि चार जना प्रशासन र एक जना कानुन हेर्ने गरि पाँच जना सचिव थिए ।
अहिले प्रधानमन्त्री कार्यालयमा बैकुण्ठ अर्याल,यादवप्रसाद थपलिया,कानुन हेर्ने गरी उदयराज सापकोटा,गणेशप्रसाद पाण्डेय,खगेन्द्रप्रसाद नेपाल (विशेष दरबन्दी),मणिराम गेलाल,एकनरायण अर्याल,टेकनरायण पाण्डे (अतिरिक्त) गरी आठ सचिवलाई त्यहाँ राखिएको छ ।
जसमध्ये यादवप्रसाद कोइराला,बैकुण्ठ अर्याल,एकनारायणहरु वरिष्ठ सचिव हुन् ।शारीरिक रुपले असक्त रहेका खगेन्द्र नेपाललाई विशेष दरबन्दी सृजना गरेर सचिव बनाएर लगिएको छ ।
Advertisement 2
कोइराला अबको एक सातापछि अवकाश हुने क्रममा छन् । अर्यालको सेवा अवधि केही वर्ष बाँकी रहेको छ । प्रशासन, आर्थिक तथा पूर्वाधार र कानुन हेर्ने एक(एक जना गरि तीन सचिव भए पर्याप्त हुने ठाउँमा बस्ने ठाउँ नै अपुग हुने गरि सचिवको भिड लगाइएकोमा प्रधानमन्त्री कार्यालयकै कर्मचारीहरुले उदेक मानेका छन् । मुख्य सचिवको कमजोरीका कारण यस्तो अवस्था बनेको त्यहाँका कर्मचारीहरु बताउछन् ।
‘कर्मचारीलेले बढुवा हुन् प्रयास गर्नु अस्वभाविक होइन, तर कसरी व्यवस्थापन मिलाउने भन्ने त मुख्य सचिवको कुरा हो । उहाँले क्षमता देखाउन सक्नुभएन’, नाम नलेख्ने सर्तमा त्यहाँका एक सचिवले प्रतिक्रिया दिएका छन् ।
Advertisement 3
प्रधानमन्त्री कार्यालयमा देखिएको यो रमिताले हाम्रो सत्ता संचालनको शैली र कर्मचारीतन्त्रको अवस्था मज्जैले झल्काएको छ । निर्णय गर्ने ठाउँमा हुनेहरुलाई ठिक लागेपछि जे पनि गर्छन् भन्ने कुराको प्रमाण पनि हो यो ।मुलुकको कार्यकारी प्रमुख बस्ने कार्यालयको त यो हविगत छ भने अन्यत्र झन् के होला ?