गुनासोरहित सेवा प्रवाह कर्मचारीको पहिलो प्राथमिकता :- प्रजिअ ढकाल
अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले गुनासोरहित सेवा प्रवाह कर्मचारीहरुको पहिलो प्राथमिकता रहेको बताउनु भएको छ। हालै गृहबाट सरुवा भएर प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी सम्हाल्न पुग्नुभएका ढकालले निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन अर्घाखाँचीको संयोजनमा जिल्लामा क्रियाशिल ट्रेड युनियनहरुले संयुक्त रुपमा स्वागत तथा शुभकामना कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।
Advertisement 1
अर्घाखाँची जिल्लाको प्रशासन हाँक्ने हालसम्म ५० जना सिडियोमध्ये रा प प्रथम श्रेणी (सहसचिव) तहको तेश्रो प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ ढकाल ।
प्रमुख जिल्ला अधिकारी ढकालले आफू जिल्लाको शान्ति सुरक्षा र समग्र सेवा प्रवाहको लागि २४ सैं घण्टा खटिन तयार रहेको बताउदै, कर्मचारीहरुमा देखिएको वितृष्णा सुधार्न सबै लाग्नु पर्ने बताउनु भयो । ट्रेड युनियनको जायज माग सम्बोधन गर्न आफू निजामती कर्मचारी भएकोले सक्दो सहयोग गर्न तयार रहेको बताउनु भएको थियो ।
सिबिए अर्घाखाँचीका अध्यक्ष कृष्ण वर्माले समग्र निजामती कर्मचारीको समस्या र चुनौती सेवाग्राहीको बारेमा बताउँदै, ट्रेड युनियन तथा समग्र कर्मचारीहरुलाई सकरात्मक क्रियाकलापमा सारिक गराउन अनुरोध गर्नु भयो । साथै सिबिए अर्घाखाँचीको पहलमा ट्रेड युनियनहरुको संयुक्त भवन निर्माणको लागि जग्गा उपलब्ध र सम्पूर्ण कर्मचारीहरुको लागि सकरात्मक उत्प्रेरणा हुने खालका कार्यक्रम संचालन गर्न समन्वयन गरिदिनुहुन विशेष अनुरोध गर्दै हरेक क्रियाकलापमा ट्रेड युनियनको साथ र सहयोग रहने बताउदै प्रमुख जिल्ला अधिकारीको सफल, सक्षम र जनप्रिय कार्याकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य दिलिपकुमार केसी, जिल्ला अध्यक्ष गणेश भण्डारी, राष्ट्रिय कर्मचारी संगठनका जिल्ला अध्यक्ष यादवप्रसाद सापकोटा, युनियनका जिल्ला सचिव अर्जुन प्रसाद रेग्मी लगायत सिबिए र विभिन्न ट्रेड युनियनका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम सिबिएका जिल्ला अध्यक्ष कृष्ण वर्माको अध्यक्षता, उपाध्यक्ष हरि प्रसाद डुम्रेको स्वागत मन्तव्य र सह सचिव नारायण दमासेको संचालनमा सम्पन्न भएको थियो ।