मापदण्ड एकातिर,सरुवा अर्कैतिर

गृह मन्त्रालयले गत बुधवार ९ सहसचिव र १३ जना उपसचिव गरी २२ जना कर्मचारीहरुको सरुवा गर्यो । जसमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु समेत हेरफेरमा परेका छन् ।सरुवाको सूची अनुसार फष्ट क्लास अफिसर खटाइने जिल्ला धादिङ,ललितपुर,कास्की,अछाम,अर्घाखाँची,गुल्मी र सेकेण्ड क्लासका अफिसर खटाइएका जिल्लामा रुकुम पूर्व र तेह्रथुमका प्रमुख जिल्ला अधिकारीहरु परिवर्तन भएका छन् ।
Advertisement 1
सरुवाको सूची अनुसार, ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी जयनारायण अचार्यलाई गृहमा तानिएको छ भने ललितपुर जिल्लाको कमाण्डरका रुपमा रुद्र प्रसाद पण्डितलाई खटाइएको छ । पण्डित पञ्जिकरण विभागका महानिर्देशकका रुपमा कार्यरत थिए । पण्डितको ठाउँमा झक्क प्रसाद आचार्यलाई पठाइएको छ ।
यसरी सरुवा हुँदा गृह आफैले बनाएको मापदण्ड विपरित केही कर्मचारीहरु चार महिनामै सरुवामा परेका छन् । त्यसरी चार महिना नबित्दै सरुवा हुनेमा धादिङ, अर्घाखाँची, गुल्मी र अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु रहेका छन ।
गृहले धादिङमा बद्रीनाथ गैरे, गुल्मीमा टेकबहादुर केसी, अर्घाखाँचीमा कमलराज ढकाल र अछाममा शिवराम न्यौपानेलाई सिडिओमा खटाएको छ । धादिङमा कार्यरत सिडिओ रमेश ढकाल, अर्घाखाँचीकी मीना अर्याल, गुल्मीका सागरमणि पाठक र अछामका लक्ष्मण ढकाल गत माघको दोस्रो साता मात्र ती जिल्लामा खटिएका थिए । धादिङमा कार्यरत ढकालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै अन्यत्र सरुवा गरेकाले त्यहाँ नयाँ सिडिओ खटाइएको हो भने गुल्मीका सिडिओ पाठकमाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पनि सोधपुछ गरिरहेको छ ।
Advertisement 2