कर्णाली प्रदेशमा ११ सय कर्मचारीको अभाव, बजेट कार्यान्वयनमा समस्या
कर्णाली प्रदेशमा कर्मचारी अभावले बजेट कार्यान्वयनमा समस्या आएको मुख्यमन्त्री राजकुमार शर्माले बताएका छन्। आइतबार मुख्यमन्त्री कार्यालयमा शर्माले आगामी बजेटका प्राथमिकताका विषयमा पत्रकारसँग छलफल गर्दै कर्मचारी अभावले बजेट कार्यान्वयनमा समस्या आएको बताएका हुन् ।
Advertisement 1
कर्मचारी अभावका कारण बजेट कार्यान्वयनमा समस्या आएको उनले बताए । “हामीकहाँ ११ सय कर्मचारीको अभाव छ । जसले बजेट कार्यान्वयनमा समस्या आएको छ,” उनले भने, “आर्थिक संकटको प्रभाव परेको छ । प्रदेशमा सुशासन कायम गर्न सकेका छैनौँ ।’ “कर्णाली अनुकूल कानुन बनेका छैनन्, योजना छनोटमा समस्या भएको छ । यी समस्याका बाबजुत पनि हामी काम गर्ने भनिरहेका छौँ,” शर्माले भने, ‘सबै किसिमबाट प्रभावकारी काम हुनुपर्ने हो तर त्यसो भएको छैन ।”
आगामी बजेटमा नागरिकका प्रत्यक्ष सरोकारका विषय, गरिबी निवारण, शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रलाई प्राथमिकता दिएर समयमै बजेट कार्यान्वयनको पाटोमा लैजानुपर्ने, आवश्यकताका आधारमा मात्रै योजना छनोट हुनुपर्ने, आयोजनाको प्रभावकारी मूल्याङ्कन, असारे विकास गरेर बजेट खर्च देखाउने परिपाटी रोक्नुपर्ने लगायतका क्षेत्रमा ध्यान दिन पत्रकारहरूले सुझाव दिएका थिए ।