यातायात कार्यालय सुकेधाराका उपसचिवविरुद्व १ करोड १५ लाख भ्रष्टाचारको मुद्दा दायर
सुकेधारास्थित यातायात व्यवस्था कार्यालयका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
Advertisement 1
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीविरुद्ध एक करोड १५ लाख २९ हजार एक सय ९३ रुपैयाँ ७१ पैसा बिगो राखेर विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
भट्टराईले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा उनीसँग एक करोड १५ लाख २९ हजार एक सय ९३ रुपैयाँ ७१ पैसाबराबरको स्रोत नखुलेको सम्पत्ति पाइएको अख्तियार स्रोतको भनाइ छ। सोही रकमलाई बिगो बनाएर अख्तियारले मुद्दा दायर गरेको हो।
Advertisement 2
अख्तियारका प्रवक्ता भोला दाहालले भट्टराईको सरकारी सेवा प्रवेश २०३८ साउन १ गतेदेखि २०७५ मंसिर मसान्तसम्मको वैध आम्दानी १ करोड ९२ लाख एक हजार ९२२ रहेको, तर उनको खर्च भने ३ करोड ७ लाख ३१ हजार ११६ रुपैयाँ ५ पैसा देखिएको जानकारी दिए ।
अख्तियारले भट्टराईले अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको भन्दै प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुरमा एक करोड १५ लाख २९ हजार १९३ रुपैयाँ माग दाबी सहित मुद्दा दायर गरेको हो । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद तथा जरिवानाको सजाय माग गरेको छ ।