साउनभित्रै ठेक्का प्रक्रिया थाल्न सबै मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ का सबै आयोजना तथा कार्यक्रमको खरिद प्रक्रिया साउन महिनाभित्रै सुरु गर्न सबै मन्त्रालय तथा मातहतका निकायलाई निर्देशन दिएको छ।
Advertisement 1
भौतिक पूर्वाधार विकास शाखाले साउन ५ गते जारी गरेको पत्रमा नेपाल सरकारको नीति तथा कार्यक्रम–२०८३/८४ को बुँदा नं. ७२ अनुसार लागू गरिएको ‘शून्य–दिन खरिद नीति’ प्रभावकारी रूपमा कार्यान्वयन गर्न भनिएको छ।
कार्यालयले असार १७ गते नै आयोजना तथा कार्यक्रमको पूर्वतयारी सम्पन्न गर्न निर्देशन दिइसकेको उल्लेख गर्दै अब चालु आर्थिक वर्षमा सञ्चालन हुने सबै आयोजना तथा कार्यक्रमका लागि बोलपत्र आह्वानको सूचना प्रकाशित गरी खरिद प्रक्रिया साउनभित्रै सुरु गर्न मन्त्रालयहरूलाई आदेशानुसार अनुरोध गरेको हो।
Advertisement 2
निर्देशनअनुसार मन्त्रालयहरूले आयोजना तथा कार्यक्रमको नाम, लागत अनुमान, बोलपत्र आह्वान मिति, जिम्मेवार पदाधिकारी र प्रगति विवरणसहितको प्रतिवेदन हरेक साताको आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउनुपर्ने व्यवस्था गरिएको छ।
प्रधानमन्त्री कार्यालयले समयमै खरिद प्रक्रिया अघि बढाएर विकास आयोजना ढिलाइ हुन नदिन, बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन तथा आर्थिक वर्षको अन्त्यतिर हुने अस्वाभाविक खर्चको चाप घटाउने उद्देश्यले ‘शून्य–दिन खरिद नीति’ कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको जनाएको छ।
Advertisement 3









