५३ हजार कर्मचारी संघमा छन् दुर्गम ठाउँमा कोही जान चाहँदैन
‘५३ हजार कर्मचारी संघमा छन् । दुर्गम ठाउँमा कोही जान चाहँदैन । विकट सुन्न चाहँदैन । सबै उपत्यका र काठमाडौं वरिपरि र सुगम मात्र जान चाहन्छ । यस्तो विकृति छ’, उनले भने, ‘म एकरूप सरुवा प्रणालीमा कटिबद्ध छु । भर्खर आएको छु, मन्त्रालयमा बुझ्दै छु ।’ यो भनाइ हो संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको । उनी मन्त्री भएको केही दिनमा नै कर्मचारी दुर्गममा जान नचाहने र सुगममा मात्र बस्न चाहने विकृति रहेको बताएका थिए ।
Advertisement 1
पछिल्लो समय दुर्गमका स्थानीय तहबाट अनुकूलका स्थानीय तहमा सरुवा माग्दै निवेदन दिने कर्मचारीको लर्को लागेको छ । स्थायी नियुक्ति लिएर दुर्गमका स्थानीय तहमा खटाइएका एक हजार सात सय कर्मचारीले अन्तरस्थानीय तह सरुवा माग्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिएका हुन् ।
सरकारले दोहोरो सहमतिका आधारमा कर्मचारीलाई चाहेको ठाउँमा जाने मौका पटक–पटक दिए पनि यस्तो प्रवृत्ति रोकिएको छैन । मन्त्रालयले तीन वर्षको अवधिमा पटक–पटक गरेर दोहोरो सहमतिका आधारमा करिब तीन हजार कर्मचारीको अन्तरस्थानीय तह सरुवा गरिसकेको छ । कानुनमा कहीँ नभएको यस्तो व्यवस्था संघीय मामिला मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट खोल्दै र स्थगित गर्दै आएको छ ।
Advertisement 2
१९ र २० मंसिर ०७८ को निर्णयबाट मन्त्रालयले एक हजार ६ सय १३ कर्मचारीलाई अन्तरस्थानीय तह सरुवा गरेको थियो । २५ चैत ०७६ मा पनि त्यसरी नै ८१ कर्मचारीको अन्तरस्थानीय तह सरुवा गरेको थियो । अहिले पनि चाहेको ठाउँमा जान दुईतर्फी सहमति लिएर कर्मचारीहरू दैनिकजसो मन्त्रालय धाउँदै छन् । कर्मचारीहरूले इमेल र भौतिक रूपमै मन्त्रालयमा सरुवाको निवेदन दिएका छन् ।