अब सामाजिक सुरक्षा कोषबाट पेन्सन पाइने
सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमबाट योगदानकर्ताले निवृत्तभरण (पेन्सन) बुझ्न पाउने भएका छन्। रोजगारदाता तथा श्रमिकका मागलाई सम्बोधन गर्दै सरकारले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५ दोस्रो पटक संशोधन गरेको छ । संशोधित कार्यविधिमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना सुविधाका लागि योग्य हुन जम्मा गर्नुपर्ने योगदान रकम निरन्तर तीन महिना हुनुपर्ने प्रावधानलाई थप स्पष्ट बनाइएको छ । जसमा अस्पताल भर्ना नभई उपचार गर्दा पाउने रकम उपयोग नगरेका वा कम उपयोग गरेकाले सीमाभित्रको रकम अस्पताल भर्ना भई उपचार गर्दा थप हुने व्यवस्था मिलाइएको छ ।
Advertisement 1
कोष सञ्चालन कार्यविधि संशोधन गर्दै विशेष सापटीको रूपमा जागिरमा हुँदै ८० प्रतिशतसम्म रकम निकाल्न पाउने व्यवस्था पनि मिलाइएको छ।
सामाजिक सुरक्षा कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कोषबाट सञ्चालनमा ल्याइएका वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत जम्मा हुने योगदानकर्ताको आधारभूत पारिश्रमिकको २८ दशमलव ३३ प्रतिशत रकमलाई निवृत्तभरण योजनामा २० प्रतिशत र अवकाश सुविधा योजनामा ८ दशमलव ३३ प्रतिशत रकम जम्मा हुने व्यवस्था मिलाइएको छ।
Advertisement 2
निवृत्तभरण योजनामा जम्मा भएको कूल रकमलाई १८० ले भाग गरी मासिकरूपमा निवृत्तभरण दिने व्यवस्था भएकोमा १८० भाजकलाई १६० कायम गरी मासिक निवृत्तभरण रकम बढाउन सक्ने व्यवस्था मिलाइएको छ। यस्तै २०७८ असार मसान्तभित्र योगदान सुरु गर्ने योगदानकर्ताहरूले चाहेमा निवृत्तभरणअन्तर्गतको २० प्रतिशत रकमसमेत अवकाश सुविधा योजनामा जम्मा गर्न सक्ने व्यवस्था गरिएको विज्ञप्तिमा जनाइएको छ।
अवकाश सुविधा योजनामा जम्मा भएको रकम अवकाश हुँदा वा जागिरबाट अलग हुँदा निकाल्न पाउने तथा जागिरमै हुँदा ८० प्रतिशतसम्म विषेश सापटीको रूपमा प्रदान गरिने पनि कोषले जनाएको छ।
Advertisement 3
अवकाश सुविधा योजनाअन्तर्गत नियमितरूपमा ८ दशमलव ३३ प्रतिशत रकम जम्मा गर्ने व्यवस्थाका अतिरिक्त कुनै योगदानकर्ताले स्वेच्छिकरूपमा जम्मा गरेको रकम, अन्य अवकाश कोषबाट हस्तान्तरण भइ आएको रकम, योगदानकर्ताले चाहेमा न्यूनतम आधारभूत तलबको तीन गुणाभन्दा बढी निवृत्तभरण योजनामा जम्मा हुने सीमाभन्दा बढीको रकम र ६० वर्ष उमेर पुरा भएका योगदानकर्ताहरूको निवृत्तभरण अन्तर्गतको रकमसमेत अवकाश सुविधा योजनामा जम्मा हुने व्यवस्था मिलाइएको कोषले जनाएको छ।
मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताको पत्नी सुत्केरी भएपछि ६ हप्ताको उपचार खर्चसमेत पाउने गरी कार्यविधि संशोधन भएको छ । यसै योजनाअन्तर्गत निवृत्तिभरण प्राप्त गरेका योगदानकर्ताले चाहेमा आफ्नो मासिक निवृत्तिभरणबाट निश्चित रकम कट्टा गरी औषधि उपचार सुविधालाई निरन्तरता दिन सक्ने व्यवस्था गरिएको छ ।
दुर्घटना तथा सुरक्षा योजनाअन्तर्गत दुर्घटनाको उपचारलाई पारदर्शी बनाउन कोषलाई जानकारी गराउने व्यवस्था गरिएको छ । यसै योजनाअन्तर्गत अशक्तता वृत्तिको अधिकतम सीमा हटाइएको छ । आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत योगदानकर्ता विदेशी नागरिकको मृत्यु भएमा हकवालाले एकमुष्ट ७ लाख रुपैयाँसम्म पाउने भएका छन् ।
२०७८ असार मसान्तभित्र योगदान शुरु गर्ने योगदानकर्ताले चाहेमा निवृत्तिभरणअन्तर्गतको २० प्रतिशत रकमसमेत अवकाश सुविधा योजनामा जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ ।