१० महिना पछि प्रधानमन्त्री आज सिंहदरबार जाँदै

झण्डै १० महिना पछि प्रधानमन्त्री केपी शर्मा ओली आज सिंहदरबार प्रवेश गर्दैछन् । आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयको भवनको उद्घाटन गर्ने कार्यक्रम छ । यो भवन झण्डै ८७ करोड लागतमा तयार भएको हो ।

Advertisement 1

०७२ को भूकम्प र ०७५ मा दक्षिणी गेटमा आगलागी भएको सिंहदरबारको मूलभवनको जगैदेखि पुनःनिर्माण सम्पन्न भएपछि आज त्यसको उद्घाटन र त्यसै दिनदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुरानै ठाउँमा कायम हुने भएको हो । ०७२ को भूकम्पले सिंहदरबार मूलभवनमा ८० प्रतिशत क्षति भएको थियो । त्यसबेला सरकारले भवन भत्काएर नयाँ भवन निर्माण गर्ने योजना बनायो । तर, विश्व सम्पदा सूचीमा भएका कारण त्यसको पुरातात्विक महत्व लोप हुने गरी भवन भत्काउन दिइएन । र, अहिले पाँच वर्षपछि रेट्रोफिटिङ सम्पन्न भएको छ । ३ गते उद्घाटनलगत्तै त्यहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने गरी अन्य तयारी शुरु भइसकेको प्रम कार्यालयस्रोतले जनाएको छ । तर, त्यहाँ ०७२ को भूकम्पअघिका अन्य कार्यालय भने सारिने छैन । अहिले प्रधानमन्त्री कार्यालयमा विभिन्न मातहत कार्यालयहरु तानिएको र सचिवको दरबन्दी पनि थपिएको तथा ठूलो हलसहित केही कार्यालयीय संरचनालाई विस्तार गरिएका कारण अन्य निकायलाई त्यहाँ नराखिने स्रोतले जनाएको छ ।

विसं १९०३ मा राणा प्रधानमन्त्री चन्द्र समशेरले आफ्नो निजी निवासको रुपमा उक्त भवन निर्माण गरेका हुन् । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरवारको पुनःनिर्माण सम्पन्न भएसँगै आज उद्घाटन गर्न लागिएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा पुनःनिर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उ्दघाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय यही भवनमा सर्नेछ ।

प्रकाशित :२०७७ फाल्गुन ३, सोमबार ०७:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry