त्रिभुवन पार्कमा कर्मचारी नेताहरुको तमासा

‘धोकेबाज हौ तिमी…’ को बोलमा उत्तम कटवाल नाच्दै थिए, जिल्ला अदालतका नासु नरेन्द्र अधिकारी कराउन थाले, ‘देउडा लगा, देउडा !’ दीपेन्द्र गिरीले ‘भाग साले’ भन्दै धपाए । अनि, उनी एक्लै नारा लगाउन थाले, ‘उत्तम कटुवाल मूर्दावाद, मूर्दावाद !’

Advertisement 1

यसरी कांग्रेससम्बद्ध कर्मचारीको पिकनिकमा ८८४८ भोड्कामाथि वल्ड दरबार ह्विस्कीले यस्तो कक्टेल गराइदियो कि, पर बसेर हेरिरहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, उपसभामुख इन्दिरा रानादेखि संघीय मामिला सचिव कृष्णहरि पुष्करसम्मलाई ठिटाहरूले तान्न थाले ‘नाचुम्–नाचुम्…’ भन्दै ! शिव परियारले टु बाई फोर बिटमा गाएको चल्तीको गीत ‘धोकेबाज’ बजिरहँदा कसैलाई देउडा, कसैलाई दोहोरी त कसैलाई भांग्रा डान्स चाहियो र कुरा मिलेन । अनि, शुरु भयो बाङबाङबुङबुङ ।

प्रसंग हो शनिवारको । कांग्रेसनिकट कर्मचारी संगठन निजामती कर्मचारी युनियनले पिकनिक आयोजना गरेको थियो, त्रिभुवन पार्क थानकोटमा । ०५९ सालदेखि हरेक बर्ष यस्तो कार्यक्रम हुँदै आएको छ । प्रमुख अतिथिका रूपमा आयोजकहरू सभापति शेरबहादुर देउवालाई निमन्त्रणा गर्न धुम्बाराही पुगे । उनले निमन्त्रणा स्वीकार गरेनन् र प्रतिनिधित्व गरे उपसभापति पूर्णबहादुर खड्काले । जसै दिन ढल्दै र साँझ पर्दै गयो, अनि बग्न थाल्यो अनेकथरि मदिरा । २ कार्टुन वल्ड दरबार र हालसालै बजारमा आएको झण्डै एक लाख बराबरको नयाँ रक्सी वल्ड फरेस्टर उद्योग विभागको सौजन्यबाट प्राप्त भएको थियो । बाँकी ५ लाख बराबरको मदिरा युनियनको खर्चमा खरिद गरियो । मात चढ्दै गएपछि त्रिभुवन पार्क नै थर्कने गरी स्पिकरमा गीत गुञ्जँदै थियो, ‘धोखेबाज हौ तिमी, धोखेबाज ….’

Advertisement 2

काठमाडौं जिल्ला अदालतका नासु नरेन्द्र अधिकारी, कर्मचारी युनियनका विभागीय सदस्य हुन्, घर पश्चिमतिर, स्वाभाविक हो देउडाको सौखिन हुनु । उनले शिव परियारको गीत रोकेर देउडा लगाउन खोजे । अनि भनाभन, धकेलाधकेल हुँदै झण्डै हात हालाहाल हुन पुग्यो । कर्मचारी नेताहरूले रोकेपछि अप्रिय घटना त हुन पाएन तर एक्लै नारा लगाउन थाले, उपमहासचिव उत्तम कटवाल मूर्दावाद…। कटवाल भने वनभोज कार्यक्रमका संयोजक थिए ।

अध्यक्ष गोपाल पोखरेल आफ्नै खर्चले घरमा सप्ताह लगाएझैं गरी प्रस्तुत भएपछि केही पदाधिकारी मुर्मुरिएर दिउँसै हिँडिसकेका थिए । उक्त वनभोज ००७ सालको प्रजातन्त्र अपुरो भएजस्तै कर्मचारीबीच एकछिनमा कुरा मिल्ने, फेरि एकैछिनमा कठालो तानातान हुने क्लाइमेक्समा पुग्यो । फर्किंदा आधा मान्छे होसमा थिएनन् । एक जनालाई चारजनासम्मले ‘लोड’ गरेर गाडीमा हाल्नु परेको खबर जनआस्था साप्ताहिकले लेखेको छ ।

प्रकाशित :२०७९ चैत्र १६, बिहीबार १३:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry