कोही किन कर्मचारी संगठनको अध्यक्ष खाइरहन मरिहत्ते गर्दछ ?
काममा दलिनु नपर्ने, हाजिर लगाए पुग्ने यस्तो ढुक्कको जागिर खाने हो भने केही गर्नु पर्दैन कर्मचारीको नेता बने पुग्छ । अहिले तिनै कर्मचारी ट्रेड युनियनको आडमा साँढेहरु मोटाउने विकृती बढेको भन्दै कर्मचारी वृत्तबाटै आलोचना हुन थालेको छ ।
Advertisement 1
राष्ट्रियस्तरका कर्मचारी संगठनका आडमा नेताहरुमात्रै मोटाउने रोगले नराम्रोसँग ती संगठनलाई गाँजेको देखिन्छ । यस्तो रोगले काँग्रेसी कर्मचारी संगठनलाई मात्र होइन,एमाले निकट कर्मचारी संगठनलाई पनि गाँजेको छ । केदार देवकोटाको बर्हिगमन पछि अहिले लेखनाथ कोइराला एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष छन् । सरुवा बढूवामा सके आफू नसके पत्नीदेखि प्रेमिकासम्मलाई मालदार ठाउँमा खटाउने रोगले हरि रावललाई पनि नछोइरहन सकेन ।
रावल,माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हुन् । सरकारले उपयोग गर्न दिएको बबरमहलको सरकारी जग्गामा भवन ठडाएर क्याफेलाई भाडामा लगाएर उनले मासिक ६० हजार उठाएर खाइरहेका आरोप लाग्दै आएको छ ।
नासु पदमा सहकारी प्रशिक्षण केन्द्रमा कार्यरत रावलले १० बर्षदेखि त्यहाँको क्वार्टर त प्रयोग गर्दै आएका उनले हालैमात्र महालेखाले गरेको सरुवामा आफ्नो पत्नी प्रमिलालाई आकर्षक मानिने परराष्ट्र मन्त्रालयमा फिट गर्न सफल भएको भन्दै माओवादी निकट कर्मचारीबाटै उनको तिव्र आलोचना भइरहेको छ। केही महिना २०८ लेखापाल सरुवा हुँदा अन्तिम नम्बरमा रावलको नाम सरुवाको सूचीमा परेको छ ।
Advertisement 2
कर्मचारी संगठनको नेताको आडमा यसरी तर मारिरहन पाउने भए पछि रावल फेरि पनि अध्यक्ष बन्नका लागि सकेसम्मको बल लगाइरहेको माओवादी निकट कर्मचारीहरुको आरोप छ ।
उनी विगत १२ बर्षदेखि नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनमा छन् । पाँच वर्ष महासचिव र सात वर्ष अध्यक्ष गरी १२ वर्षदेखि संगठनको नेतृत्वमा रहेका उनले पुनः एकदेखि डेढ वर्ष कार्यकाल बढाउने योजना बनाएपछि अन्य पदाधिकारीहरु आगो भएका हुन ।
Advertisement 3
संगठनका केही सदस्य र पदाधिकारीले बताए अनुसार यही माघ २० र २१ गते भैरहवामा महाधिवेशन गरेर नयाँ नेतृत्वका लागि बाटो खोल्ने तय गरिएको थियो । कार्यतालिकासमेत सार्वजनिक गरिसकेको महाधिवेशन हरि पक्ष अडिग नभएपछि स्थगित गर्नुपरेको थियो । सो मितिमा उनले काठमाडौंमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएर आफ्नो कार्यकाल लम्ब्याउने कसरत गरिरहेका थिए । त्यस्तो अवसर आगामी चैत १७ र १८ गते काठमाडौंको कोटेश्वरमा अवस्थित ए–वान पार्टी प्यालेसमा जुर्न लागेको छ । महाअधिवेशनको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्ने तय भएको हो ।
यसभन्दा अगाडि विष्णु पाण्डे, मधुसुदन अधिकारी,रुक्म लामिछाने, मोनमान स्वाँर,दयाराम भुसाललगायतका व्यक्तिहरु संगठनका अध्यक्ष भइसकेका छन् । तर,पदको लोभलालच गरेका हरिले आफ्नो कार्यकाल लम्ब्याएर सबैलाई चक्मा दिन लागेका हुन ।
महाअधिवेशन गर्नका लागि वरिष्ठ उपाध्यक्ष अम्वादत्त भट्टलाई विधान संशोधन समितिको संयोजक बनाइएको छ । भोलि मंगलबार विधान संशोधन समितिको बैठक बस्दै छ । त्यस्तै, व्यवस्थापन समितिको संयोजकमा सुरेश चापाईलाई चयन गरिएको छ । आर्थिक समितिको संयोजकको जिम्मा उनै हरि रावलले पाएका छन् ।
६५० जना प्रतिनिधि र परिवेक्षक सहभागी हुने माओवादी कर्मचारीहरुको कुम्भमेलामा दुई हजार बढीको उपस्थिति रहने जनाइएको छ ।