मुख्यसचिवको प्यार, कृष्णहरिको चमत्कार
नरम, शालीन, भद्र र कसैलाई नबिझाउने स्वभावका मुख्यसचिव शंकरदास बैरागी निर्णय क्षमतामा भने कमजोर मानिन्छन् । एकातिर जागिरे जीवनको तीन दशक बढी परराष्ट्र मन्त्रालय र विदेशी नियोगमा बिताएका उनी प्रशासन र प्राविधिक सेवाका एकाधबाहेक कर्मचारी नै चिन्दैनन् । उनले चिन्ने र घनिष्ठ सम्बन्ध भएका कर्मचारीमध्येका हुन्, कृष्णहरि पुष्कर । अख्तियारमा हुँदा गोविन्द केसीलाई ‘पागल’को संज्ञा दिएर विज्ञप्ति निकाल्ने पुष्कर लोकमान सिंह कार्कीकै जोडले नयाँदिल्लीस्थित नेपाली दूतावासमा इकोनोमिक मिनिष्टर नियुक्त भए । त्यतिबेलादेखि नै बैरागीसँग घनिष्टता कायम भएको हो ।
Advertisement 1
मुख्यसचिव र पुष्करकोमा राजेश्वर ज्ञवाली, अख्तियारमा मुद्दा खेपिरहेका संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका सु.ई ललिजन खनाल, समानान्तर जेभीका विवादित ठेकेदार अच्युतकृष्ण खरेल र बिचौलिया रमेश खड्काको बाक्लै आवतजावत र उठबस हुने गरेको स्रोतले जनाएको छ ।
मुख्य सचिवको विशेष प्यारका कारण पुष्करले जुनियर सचिव हुँदा पनि प्रदेशतिर ओर्लनुपरेन । अर्थबाट अहिले अमनलाल मोदीले सम्हालेको सामान्य प्रशासनमा पुगेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलबाट भइरहेको सरुवा प्रणालीमा अहिले जतिको लथालिंग र भद्रगोल कहिल्यै नभएको कर्मचारी वृत्तबाटै आलोचना शुरु भएको छ ।
त्यहाँ बिचौलियाको काम गर्दै आएका ओभरसियर रमेश हावी हुँदा सामान्य प्रशासन मन्त्रालयका पछिल्ला सरुवा विवादित बन्न पुगेको छ ।