सचिवहरुको पीडा कसले सुनिदिने ?
मातहतका कर्मचारीको तनाव सुन्ने अनि समस्या समाधानका लागि पहल गर्नुपर्ने जिम्मेवारीमा रहेका सिंहदरबारका ‘टप ब्यूरोक्रेट’हरुको दुःखेसो पनि कम्तीका छैनन् । राजनीतिक नेतृत्वको चेपुवामा परेर तनाव झेलिरहेका केही कर्मचारीका नेता त दबाबमा काम गर्न नसकिनेु भन्दै गोजीमा राजीनामा पत्र लिएर हिंड्न थालेको सिंहदरबारभित्र चर्चा छ ।
Advertisement 1
एकजना सचिवले इकर्मचारी डटकमसँग कुराकानी गर्दै गर्दा गोजीबाट राजीनामा पत्र निकालेर भने,‘राजीनामा पत्र एक महिनादेखि गोजीमा राखेर हिँडेको छु । जुनैबेला पनि मुख्यसचिवलाई बुझाउन सक्छु ’ तत्कालीन एमालेका मन्त्रीले सम्हालेको मन्त्रालयको कर्मचारी प्रशासनमा नेतृत्व गरिरहेका उनी भन्छन्,‘मन्त्री निस्किएर के गर्नु अहिले पनि तर्साइरहेका छन् ’
उनको भनाईअनुसार एमालेले सरकार छोड्ने निर्णय गरिसकेपछि हाल निवर्तमान भैसकेका ति मन्त्रीले करिब ४० जना विभिन्न श्रेणीका कर्मचारीको सरुवा गर्न खोजेका थिए । मन्त्रीको त्यस्तो निर्णयमा सहीछाप गर्न सचिवले नाँइनास्ती गरेपछि दबाब दिन थालियो जुन अहिलेसम्म पनि जारी छ । कर्मचारी सरुवाको विषयमा ति मन्त्रीसँग मत बाझिएपछि च्याप्नसम्म च्यापेको उनले गुनासो गरे ।
Advertisement 2
कहिले संसदीय दलको कार्यालयमा बोलाउने त कहिले पिए पठाएर दबाब दिइएको र सामदाम दण्ड भेद सबै प्रयोग गरेर फकाउने र तर्साउने काम हरेक दिन हुने गरेको उनी बताउँछन् । यद्यपि, सचिव ‘टस मस’ भएपछि मन्त्रीसंग डिलिङ गरेका कर्मचारीहरुले उनीसमक्ष हारगुहार गर्न थालेका छन् ।
‘जुन दिन एमालेले सरकार छोड्यो, सोही रात करिब १० बजेतिर मन्त्रालयबाट बाहिरिएका मन्त्रीको नाम र फोटो वेभसाइटबाट हटाउन निर्देशन आएको थियो, त्यो पनि एसएमएसमार्फत’, ती सचिवले इकर्मचारी डटकम म्यासेज देखाउँदै भने । निर्देशन नेपालीमा नभई अङ्ग्रेजीमा लेखिएको थियो । म्यासेजमा उनलाई निवर्तमान मन्त्रीको एउटा पनि निर्णय कार्यान्वयन नगर्न भनिएको छ ।
Advertisement 3
सबैको अनेकथरीको निर्देशन सुन्दा सुन्दै तनावमा पर्ने कर्मचारी उनीमात्र होइनन् । अरु सचिव, सहसचिवहरु पनि राजनीतिक नेतृत्वको दबाब खेप्दाखेप्दै आजित भैसकेका छन् । तर, सचिवहरुलाई तर्साउनका लागि खडा गरिएको अतिरिक्त समूहमा पर्ने भयले कोही पनि बोल्न चाहाँदैनन् । माथिको आदेश नटेर्नेबित्तिकै अतिरिक्तमा फालेर सजाय दिने डर बोकेर काममा खटिनुपर्ने बाध्यता उनीहरुमा देखिन्छ ।
मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारमै कर्मचारी प्रशासनको नेतृत्व मानिने मन्त्रालयका सचिवहरु यसरी निरिह हुँदा देश कसरी चल्ला ? यसबारे मुख्यसचिवको ध्यान गएको छ कि छैन होला ? आफूलाई पीडित सचिव भन्न चाहाने ति कर्मचारीको प्रश्न छ, हमी सबैको अभिभावक मुख्यसचिव नै हो, हाम्रा समस्या र गुनासो उहाँले सुन्नुपर्छ ।