किन ओरालो लाग्दैछ निजामतीको गरिमा र शाख ?
निजामती सेवाप्रतिको आकर्षण बढ्दो छ । सरकारी सिन्दुर लगाउन चाहनेको लर्काे छ । लोकसेवा आयोगकै पछिल्ला प्रतिवेदनहरु केलाउने हो भने हरेक बर्ष लाखौं युवाहरुले आवेदन दिएका देखिन्छन् । ७८/७९ मा मात्र ३ लाख ६५ हजार ४३४ जनाले आवेदन दिँदा ७७/७८ मा आवेदन दिनेको संख्या ५ लाख ३३ हजार ५४८ जना रहेको देखिन्छ । यस्तै,०७६/७७ मा ४ लाख ५१ हजार ५२६ जनाले दरखास्त दिएका देखिन्छन् । यो विवरण केलाउँदा सरकारी जागिरप्रति युवाहरुको बढ्दो आकर्षणलाई देखाउँछ । अघिल्लो आर्थिक बर्षमा सञ्चालन गरिएका ३ हजार ७ सय २७ पदका लागि ३ लाख ६५ हजार ४ सय ३४ जनाको दरखास्त परेको छ ।
लोकसेवा आयोगका अनुसार आर्थिक वर्ष २०७८/७९ मा विभिन्न निकायबाट रिक्त पदपूर्तिका लागि आयोगमा माग भएअनुरुप ५ सय ८२ वटा बढुवा सूचना, १ सय २५ वटा आन्तरिक प्रतियोगिता, २ सय ५२ वटा खुला प्रतियोगिता र ४ सय ३८ वटा विभिन्न समावेशी समूहका गरी जम्मा १ हजार ३ सय ९७ वटा विज्ञापन प्रकाशन गरिएको थियो । सोमध्ये बढुवातर्फ आप्रबाहेक १ हजार २ सय ३३, आन्तरिक प्रतियोगितातर्फ २ सय ७१, खुला प्रतियोगितातर्फ १ हजार २ सय ६ तथा समावेशीतर्फ १ हजार १७ गरी ३ हजार ७ सय २७ पदका लागि आयोगले दरखास्त माग गरेको थियो ।
Advertisement 1
सरकारी सेवा प्रवेश गर्नु अघि ‘पानीमात्र खाएर भए पनि सेवा गर्दछु,जहाँ खटायो त्यही जान्छु’ भन्नेहरुमध्य धेरै कर्मचारी न त सिंहदरबार छाडेर अन्यन्त्र जान चाहन्छन्,न त घुस विना कामै गर्दछन् । सोही कारण निजामती सेवाको गरिमा र शाखा क्रमश ओरालो लाग्दैछ । यो पेशाप्रति हेर्ने नजर नकरात्मक बन्दैछ,दिनप्रतिदिन । भनिन्छ पनि,कुनै पनि देशको शासन प्रणाली कस्तो छ भन्ने बिषय निजामती सेवामा भर पर्दछ । तर हामीकहाँ बदनामी कमाउँदैछ,निजामती सेवाले ।
पछिल्लो समय आफ्नो पेशागत मर्यादा र अनुशासनलाई नालीमा फालेर उच्चपदस्थहरु व्यक्तिगत स्वार्थमा रुमलिन थाले । तल्ला तहका कर्मचारीहरु ट्रेड युनियनको नाममा कर्मचारी प्रशासन सुध्रानभन्दा पनि सरुवाको खेतीपातीमा व्यस्त भए । सोही कारण आज न त उच्चपदस्थ कर्मचारीहरुप्रति हेर्ने नजर सही छ न त ‘साढेरुपी’कर्मचारी ट्रेड युनियनलाई नै हेर्ने नजर नै सही छ । भनिन्छ,निजामती सेवामा ७० प्रतिशत कर्मचारीहरु बदमास छ र बााँकी ३० प्रतिशतमात्र सही । जसरी एउटा बोराको कुहिएको आलोले सिंगो बोराकै आलुलाई कुहाइदिन सक्छ । उही ढंगले गलत नियतका कर्मचारीहरुका कारण असल नियतका कर्मचारीहरु समेत ओझेलमा परिरहेका छन् । नियमित हुनुपर्ने सरुवा हुनका लागि समेत कर्मचारीहरु नै बोरामा राखेर पैसा बुझाउनु पर्ने स्थिती कर्मचारी बृत्तबाटै छिपेको छैन । पैसा बुझाउन नसक्ने कर्मचारीको सरुवा नहुने स्थिती देखिदैंछ । यस्तो भद्रगोल सुर्धाछ कस्ले ?नियमित हुनुपर्ने वृत्ति विकासका लागि समेत भेटी चढाउनु पर्ने परिपाटी भए पछि इमान्दार कर्मचारीहरु कसरी टिक्छन,यो सेवामा ? आज निजामती सेवामा बदनामहरु हाबी हुने र इमान्दार कर्मचारीहरु रेटिने स्थिती भयाभह देखिदैंछ । इमान्दार कर्मचारीहरुको पीडा यी विकृती बारे बोलौं,बोल्न सकिदैंन,नबोलौं अत्याचर सहेर कतिञ्जेल बस्ने ? कति समयसम्म टिक्ने । त्यही कारण अध्ययन बिदा मिलायो । विदेश भासियो र उतै पलायन हुने रोगले निजामती सेवालाई गाज्दै छ । स्वदेशमा सम्मान नभएपछि कतिपय कर्मचारी यस्तो बाटो रोज्न विवश छन् । एउटा प्रतिभा विदेश पलायन हुँदा राज्यलाई हुने नोक्सानीको हिसाब खोजोस नै कस्ले ? कस्लाई फुर्सद छ र यहाँ यस्को हिसाब किताब खोज्ने ?
Advertisement 2
सेवामा रहेकामध्ये पनि अधिकांश कामचोर र ठगको बिगबिगी छ । अर्काेतिर यस्ता कर्मचारीहरुलाई लगाम लगाउनुपर्ने निकाय राष्ट्रिय सतर्कता केन्द्र,अख्तियार दुरुपयोग अनुसन्धान आयोग,सम्पत्ति शुद्धिकरण,विशेष अदालतजस्ता निकाय पनि भुत्ते र कर्मकाण्डी हुँदा भ्रष्ट कर्मचारीहरुकै मनोबल बढ्दै गएको देखिन्छ । भन्नलाई त राज्यले भ्रष्टाचारविरूद्ध शून्य सहनशिलता अवलम्बन गर्ने नीति लिएको छ तर रंगेहात अख्तियारले समाएका र भ्रष्टचारी भन्दै मुद्धा दायर गरिएका कर्मचारीलाई समेत विशेष अदालतले सुनपानी छम्केर चोख्याउने सिलसिला बढ्दो छ । सामान्य प्रशासन मन्त्री फेरिएपिच्छे अर्काे आवाजमा उठ्छ प्रशासन सुधारको आवाज । यस्तो आवाज २००८ सालदेखि उठेको हो । यो बीचमा २० औं आयोग बन्यो । खै त प्रशासन सुधार भएको ?
निजामती सेवा किन यतिधेरै आलोचित छ ? किन कर्मचारीले जशभन्दा अपजशको भारी बढी बोक्न परिरहेको छ ? यस्को विश्लेषण कहिँबतैबाट हुँदैन । सुधार्नुपर्ने कुरामा कोही तातेको देखिदैन । निजामती सेवा किन नतिजामुखी,पारदर्शि हुन सकेन ? किन नागरिकको मन जित्न सकेन ? केन्द्रीकृत मानसिकताका कारण निजामती सेवा दुर्गन्धित हुँदै गइरहेको छ । यसरी दिनप्रति दिन बदनाम हुँदै गइरहेको शाख गुमाइरहेको निजामती सेवाको शाख उचाल्छ चाहिँ कस्ले ?
०००