‘केन्द्रीय जोखिम व्यवस्थापन प्रणाली अपनाएर काम गरिरहेका छौँ’

०२६ सालमा जन्मिएका हुन्, भन्सार प्रमुख नारायण प्रसाद भण्डारी । ०४२ सालमा एसएलसी सकेर ०४५ सालमा पोखरामा बोर्डिङ स्कुल स्थापना गरेर ०५९ सालसम्म गरि १४ वर्ष अध्यापन गराए । माओवादी द्वन्द्वको त्रासले उनले शिक्षण पेशा छाडेर र रोजे निजामती सेवा,०५९ माघ २१ गते राजश्व अधिकृमा नाम निकाले । आन्तरिक राजश्व कार्यालय सिमरामा साढे तीन वर्ष बिताएका उनले आन्तरिक राजश्व कार्यालय पोखरा, नेपालगन्ज, ठूला करदाता कार्यालय, धरान, आन्तरिक राजश्व कार्यालय बालाजु, राजश्व विभाग, ठूला करदाता कार्यालय, सिमरा हँुदै हाल रसुवा भन्सार कार्यालयमा ६ महिनादेखि कार्यरत छन् । उनैसँगै समुन्नति मासिक पत्रिकाका महेश्वर गजुरेलले कुराकानी गरेका छन् ।
० नयाँ अर्थमन्त्री आउनेबितिकै राजस्व संकलनको लक्ष्य पूरा गर्न पटक–पटक निर्देशन दिन्छन् । लक्ष्यअनुसार रसुवामा चाहिँ राजस्व उठ्ने सम्भावना के–कति छ ?
चालू आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्ममा रसुवा भन्सारले वार्षिक लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ । वार्षिक लक्ष्य रु छ अर्ब १० करोड ६१ लाख ८३ हजार भन्सार शुल्क असुल गर्ने वार्षिक लक्ष्य निर्धारण भए पनि आठ महिनाकोे अवधिमा रु तीन अर्ब ९९ करोड ६७ लाख ४७ हजार असुली भएको छ । नेपालको उत्तरी नाका रसुवागढीबाट निर्यात सामग्रीमा कमी भए पनि आयात सामग्रीको परिमाणबाटै असुली गर्न सफल भएका छौँ । यस्तै, भन्सार ऐन नियमबमोजिम सही मूल्याङ्कनबाटै कम अवधिमा लक्ष्यभन्दा बढी राजश्व आर्जन गर्न पनि सफल भएका छौँ । नेपाली बजारमा खपत हुने जुत्ता, चप्पल, कपडा, विद्युतीय सामान, बच्चाका खेलौना, थर्मस, कुकर, ब्ल्याङ्केट, तयारी पोशाक, फलफूलतर्फ स्याउ, नासपतीलगायतका सामग्री चीनबाट आयात हुने गरेको छ । यी आयातितमध्ये मेसिनरी सामानबाट सरकारलाई बढी राजस्व उठ्ने गरेको छ । पछिल्लो समय त्यस्ता सामान कम आउने भएकाले अझ हामीले राजस्व असुली बढाउन सकेका छैनौँ । रसुवा भन्सार कार्यालयमा हाल दैनिक १४ चिनियाँ कन्टेनरमा सामान भित्रिने गरेको छ ।
० रसुवा भन्सार कार्यालयमा आउनु भएको छ महिना बितिसक्यो, यो अवधिमा भएका सुधारका काम के–के हुन् ?
भन्सार कार्यालयका मुख्य तीन वटा जिम्मेवारी छन् । यो कार्यालयको पहिलो काम हो– व्यापार सहजीकरण गर्नु । व्यापार सहजीकरणका विभिन्नमध्ये बहुसंख्यक काम भन्सारले अबलम्बन गर्नुपर्ने खालका छन् । भन्सार जति प्रभावकारी भयो, व्यापार सहजीकरण त्यति राम्रो हुन्छ । दोस्रो काम हो– समाजको संरक्षण गर्नु । सीमामा बसेर भन्सारले समाजको सुरक्षा गरेको हुन्छ । भन्सारले समाजलाई हानी पु¥याउने, प्रतिबन्धित, मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने अवैध मालवस्तु रोकिदिन्छ । र, तेस्रो काम भनेको राजस्व संकलन हो । पहिले भन्सारको मुख्य काम नै राजस्व संकलन हो भन्ने बुझाइ थियो तर वास्तवमा भन्सारको मुख्य काम भनेको सहज व्यापारिक अवस्थाको सिर्जना गर्नु नै हो । अर्को कुरा कहिलेकाहीँ वस्तु वर्गीकरणका समस्या पनि आउँछन् । यस्तै, सामान परीक्षण गर्ने स्थलदेखि घट्टेखोलातर्फको राजमार्गमा सीसी क्यामेरा जडान, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायको नियमित गस्तीबाट चोरी निकासी नियन्त्रण भएको, अन्यत्र पदमार्गबाट हुन सक्ने चुहावट बन्द भएको, चीनको केरुङबाट सामान लिएर आएका मालबाहक सवारीसाधन छिटो जाँचपास गर्ने परिपाटी पनि बसालिएकोे छ । केरुङबाट आयात भएका सामानमध्ये बिग्रन सक्ने फलफूललाई पहिलो प्राथमिकता र अन्य सामानको हकमा लामबद्ध तवरले जाँचपास गरी मालबाहक सवारी साधनलाई आफ्नो गन्तव्यतर्फ जान छोडपूर्जी दिने गरिएको छ ।
० तपाईलाई एकातर्फ राजस्व संकलनको लक्ष्य पुरा गर्ने दबाब रहेको छ भने अर्कातिर व्यापार सहजीकरण गरिदिनुपर्ने जिम्मेवारी पनि रहेको छ । राजस्व उठाउनैपर्ने दबाबका बीच व्यापारमा सहजीकरण गर्न कत्ति सकस परेको छ ?
भन्सार कार्यालयको मुख्य लक्ष्य भनेकै आन्तरिक राजस्व बढाउने नै हो । विकसित मुलुकमा हेर्दा सबैभन्दा बढी राजस्व आयकरबाट उठ्छ । प्रत्यक्ष करको आकार कति छ भनेर देशको अर्थतन्त्रको चित्रसमेत अनुमान गर्न सकिन्छ । हामीकहाँ पनि कमाउने र प्रत्यक्ष कर तिर्नेको संख्या बढाउँदै जाने हो । आन्तरिक बजारको गतिविधि बढाउँदै लैजाने हो । यहाँकै मालवस्तुको खपत नै बढाउने हो । यहाँका कारोबारको रकेर्ड पनि बढाउने हो । अनौपचारिक अर्थतन्त्रलाई न्यूनीकरण गर्दै अब करको दर बढाउने होइन दायराचाहिँ बढाउने हो ।
० भन्सारको जाँचपास प्रक्रियालाई लिएर अहिले पनि विभिन्न प्रश्न, प्रतिप्रश्न उठ्ने गरेका छन् । कर्मचारीले नै बद्मासी गरेका घटना पनि बाहिरिएका छन् । अब यसतर्फचाहिँ सुधार गर्न के कस्ता योजना चाहिन्छ ?
भन्सारबाट करोडौं रुपैयाँको कारोबार हुन्छ । ती सबै सामानको जाँचपास कर्मचारीले हातैले गराउन सक्दैनन् । त्यसलाई हामीले प्रविधिको माध्यम फत्ते गरिरहेका छौँ । जाँचपास जोखिममा आधारित प्रक्रिया हो । हामीले जोखिमको वर्गीकरण गरेर मालवस्तु जाँचपास गर्ने प्रणाली अपनाएका छौँ । त्यहीँ प्रणालीले यो वस्तु जोखिममा छ कि छैन भन्ने छुट्याउँछ । पैठारीकर्ताले मालवस्तु घोषणा गर्ने वित्तिकै त्यो प्रणालीले यो जोखिमपूर्ण हो वा यो जोखिमरहित हो भनिदिन्छ । प्रणालीले नै यो जोखिमपूर्ण हो भन्यो भने कर्मचारीले त्यसको विस्तृत जाँच गर्छन् । र, कर्मचारीले तोक लगाउने होइन । प्रणालीले तोक लगाउँछ । हामीसँग तीनवटा च्यानल छन्– रेड, एल्लो र ग्रिन । रेड भन्ने वित्तिकै स्टप अर्थात यो खतरा हो भन्ने भयो । एल्लो भनेपछि हेरेर पठाउ भन्ने भयो । ग्रिन भनेपछि छोडिदेऊ । ग्रिन च्यानलमा भएका सामान हामी केही पनि हेर्दैनौँ । पैठारीकर्ताले कागजात प्रविष्ट गरेपछि त्यो प्रणालीले नै कुन रङ हो छुट्याइदिन्छ । कुन सामान ग्रिनमा पर्छ वा एल्लोमा पर्छ भन्ने कुरा कर्मचारी वा कार्यालयलाई थाहा हुँदैन । अर्थात्, हामी केन्द्रीय जोखिम व्यवस्थापन प्रणाली अपनाएर नै यो काम गरिरहेका छौँ।
० कुनै समय यस्तो थियो कि कर्मचारीका लागि भन्सार नै संसार र सर्वथोक ठानिन्थ्यो तर, अहिले त सरुवाका बेला भन्सार जानै मान्दैनन् कर्मचारी भन्ने सुनिन्छ । किन यस्तो परिपार्टी बन्यो ?
यसको प्रमुख कारण हो, जोखिम । पहिले पहिले मानिसहरुमा विश्वास धेरै थियो । अहिले अविश्वास बढ्यो । कार्यबोझ, कार्यप्रकृति र बसाइको हिसाबले भन्सारको काम जटिल छ । सीमामा बस्नुपर्छ । एक त त्रास हुन सक्छ । अर्काे धुलोमा बसेर काम गर्नुपर्छ । त्यसो त कामअनुसार प्रोत्साहन दिन सकिएको छैन । यस्तै एउटाले काम गर्दा केही गल्ती भए माथिदेखि तलसम्मका सबै कर्मचारी फस्ने पनि हुन्छ । यसैले गर्दा कर्मचारीको विश्वासको तह कम भएको छ ।