यातायात व्यवस्था विभागको महानिर्देशकमा भट्टराई, वर्षमा ५ महानिर्देशक फेरिए
यातायात व्यवस्था विभागको महानिर्देशकमा नारायणप्रसाद भट्टराई नियुक्त भएका छन् ।
Advertisement 1
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भट्टराईलाई विभागको महानिर्देशन नियुक्त गरेको हो । भट्टराईको फागुन ११ बसेको मन्त्रिपरिषद् बैठकले भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरेको थियो ।यस अघि महानिर्देशकको जिम्मेवारीमा आएका सहसचिव तुलसीनाथ गौतमको १५ दिनमा नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएपछि पद रिक्त रहेको थियो ।
विभागमा एक वर्षमा पाँच महानिर्देशक फेरिएका छन् । ०७९ असार १९ मा नमराज घिमिरे सरुवा भएपछि त्यसयता महानिर्देशक फेरिरहेका छन् । लामो समय टिकेर कुनै पनि महानिर्देशकले काम गर्न पाएका छैनन् । ०७९ असार २० मा महानिर्देशक जिम्मेवारी सम्हालेका सुरेश राउतको दुई महिनामै सरुवा भयो । उनीपछि ०७९ भदौ २० मा महानिर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका टोकराज पाण्डेको पाँच महिनामै सरुवा भयो । उनीपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट महानिर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका तुलसीनाथ गौतम एक महिना पूरा पनि विभागमा बस्न पाएनन् ।
Advertisement 2
०७९ माघ २५ मा महानिर्देशकका रूपमा पुगेका गौतमको फागुन १४ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको छ । गौतमको सरुवा भएको झन्डै दुई सातापछि शुक्रबार नारायणप्रसाद भट्टराईले मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।