ह्वात्तै बढे रसुवा भित्रने पर्यटक
रसुवा भित्रने पर्यटकको संख्या बृद्धि भएको छ । कोरोनाको कारण लामो समयसम्म सुस्ताएको पर्यटन व्यवसाय विस्तारै लयमा फर्कन थालेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका तथ्यांकले देखाएको छ । तथ्यांक हेर्दा पछिल्ला तीन बर्षको तुलनामा चालु आर्थिक बर्षमा पर्यटकको आगमन ह्वात्तै बढेको हो । पछिल्ला बर्षमा बर्षभर भित्रने पर्यटक यस आर्थिक बर्षको ६ महिनामै रसुवा भित्रिएको तथ्यांकले देखाएको छ ।
Advertisement 1
लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८/ ७९ मा पर्यटकको आगमनमा व्यापक सुधार भएको हो यो आर्थिक बर्षको हाल सम्म निकुञ्जमा १७ हजार ३ सय ९२ जना पर्यटकको आगमन भएको कार्यालयको अभिलेखमा उल्लेख छ ।
निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटक र अन्य क्षेत्रबाट चालू आर्थिक बर्षको पछिल्लो ६ महिनामा १ करोड ७५ लाख २३ हजार तीन सय ३७ रुपैयाँ राजस्व उठाएको कार्यालयले जनाएको छ । चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म संरक्षित क्षेत्रमा भ्रमण गर्ने आन्तरिक, सार्कका र अन्य विदेशी पर्यटनको सङ्ख्या गरी १७ हजार चार सय ३८ जना रहेका छन् । जसमध्य नेपाली १२ हजार ५ सय ३०, नेपाली भरिया १ सय ११ जना, सार्क मुलुकका २ सय ४५ जना र अन्य मुलुकका ४ हजार ५ सय ५२ जना रहेका छन् ।
Advertisement 2
वन पैदावर बिक्री, काठ दाउरा विक्री, गैरकाष्ठ वन पैदावर बिक्रीबापत पर्यापर्यटनबाट प्राप्त राजस्व, दण्ड सजायबाट र अन्य शीर्षकबाट कुल राजस्व एक करोड ७५ लाख ३३ हजार ३७ रुपैयाँ ८३ पैसा राजस्व सङ्कलन भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए ।
जबकी आर्थिक बर्ष ०७७/७८ मा ४ हजार ६ सय ४९ जना पर्यटकको आगमन भएको थियो भने ०७६/०७७ मा २० हजार १ सय ५९ जना पर्यटकको आगमन भएको थियो । ०७५/०७६ मा १७ हजार ६ सय ९१ जना पर्यटकको आगमन भएको थियो ।यो तथ्यांक हेर्दा पछिल्ला तीन बर्षको तुलनामा चालु आर्थिक बर्षमा पर्यटकको आगमन ह्वात्तै बढेको हो । पछिल्ला बर्षमा बर्षभर भित्रने पर्यटक यस आर्थिक बर्षको ६ महिनामै रसुवा भित्रिएको तथ्यांकले देखाएको छ ।
Advertisement 3
निकुञ्ज आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुन्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्न पुग्ने गरेका छन्।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले पछिल्लो समय पर्यटकको आगमन बढेको बताए। जिल्लाको पर्यटकीय क्षेत्रहरूमा बाह्रै महिना पर्यटक आउने गरेका छन्। तर तीन महिना पर्यटनको लागि उपयुक्त मौसम नहुने भएकाले कम हुने गरेको निकुञ्जले जनाएको छ ।
इजरायल, फ्रान्स, क्यानडा, जापान, इटली, अमेरिका, थाइल्यान्ड, बेलायत, रसिया, स्पेन, उरुग्वे, कोरिया, सिङ्गापुर लगायतका देशबाट पर्यटक आउने गरेका छन् । लाङटाङ राष्ट्रिय निकुञ्जमा आएका विदेशी पर्यटकमध्ये करिब ९० प्रतिशत पर्यटक लाङटाङ पुग्छन्। निकुञ्ज क्षेत्रमा आएपछि लाङटाङलगायतका एक दर्जन हिमश्रृङ्खला, गोसाइँकुण्डसहित विभिन्न कुण्ड, ऐतिहासिक स्थल रसुवागढी, विश्वको दुर्लभ रेडपाण्डा, हिमचितुवालगायतका जनावर पनि देख्न सकिन्छ ।
संरक्षित क्षेत्रको व्यवस्थापनबाट वासस्थान सुधार गरी महत्वपूर्ण एवं लोपोन्मुख वन्यजन्तुलाई बचाइराख्नु पर्ने, वन्यजन्तुमा आधारित पर्या–पर्यटनमार्फत राष्ट्रिय एवं स्थानीयस्तरमा आम्दानीका अवसर सिर्जना गर्ने, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने, संरक्षणलाई सबै तह र तप्काको साझा जिम्मेवारीका रूपमा अपनाउने वातावरण सिर्जना गर्ने निकुञ्जको योजना छ ।
प्रमुख संरक्षण अधिकृत भट्टराईले निकुञ्जमा भएका कमी कमजोरीहरूलाई सुधार गरेर अघि बढ्न रणनीतिक कार्ययोजना तयार गरिएको बताए । नीतिगत र कानुनी सुधार गर्ने, संरक्षित क्षेत्र प्रणालीमा सुदृढीकरण गर्ने, वासस्थान एवं प्रजाति व्यवस्थापन प्रवद्र्धन गर्ने, वन्यजन्तु अपराध नियन्त्रण तथा कानुन कार्यान्वयनमा सशक्तीकरण गर्ने, मानव–वन्यजन्तु सहअस्तित्व कायम गर्ने, भू–परिधिस्तर तथा कोरिडोर संरक्षण कार्यमा सुधार, पर्यापर्यटन तथा जीविकोपार्जन अभिवृद्धि गर्नेलगायतका योजना छन् ।
उनले थपे, अध्ययन अनुसन्धान, अनुगमन र प्रचारप्रसार कार्यको सुदृढीकरण गर्ने, संगठन संरचनामा सुधार गरी सेवा प्रवाह प्रभावकारी बनाउने, संरक्षण साझेदार संस्थासंगको सहकार्यलाई थप प्रभावकारी बनाउने, विकासका पूर्वाधार निर्माण र संरक्षणबीच तादाम्यता कायम गर्ने लगायतका कुराहरू समेटेर सुधार कार्ययोजनाको खाका तयार गरिएको छ ।