राज्यको विभेदको खिलाफमा उत्रेका स्थानीय तहका कर्मचारीहरुको लोकसेवालाई पत्र
प्रिय श्री लोक सेवा आयोग नेपाल,
कमलपोखरी, काठमाडौं ।
अँह, हामीलाई सन्चो छैन, आशा छ यहाँलाई पनि सन्चो छैन होला । करिब ३ वर्ष अगाडि यहाँले नै जन्माउनु भएका तर हुर्किन बाँकी स्थानीय तहमा कार्यरत सन्तानहरुले आज सम्मानित सर्वोच्च अदालतमा दायर गरेको अर्को रिट निवेदनको खबरले पक्कै पनि यहाँलाई दु:खी र बिरामी बनाएको होला । बिमार बिसेक हुन नपाएर अर्को बिमार आइलाग्दा अवश्य पनि विसाद र पीडा हुनु स्वभाविकै हो ।
Advertisement 1
सरि !हजुरको यो अवस्थाप्रति, शीघ्र स्वास्थ्य लाभको कामना ! तर हाम्रो व्यावसायिक जीवनको लाभको कामना कसले गर्छ ? थाहा छैन । यहाँले त पक्कै गर्नुहुन्छ होला, त्यसैले हामीसँग रिसाएता पनि हाँसी दिनुहोला, माया स्नेह र सदाशयता राखिदिनुहोला, किनकि हामी त तल्लो तहको (स्थानीय तहको ) दोस्रो दर्जाको कर्मचारी ।
आजभन्दा ३ वर्ष अघि यहाँकै अनुकम्पाले हामीलाई राष्ट्रसेवा गर्ने मौका मिल्यो,उच्च मनोबलका साथ जननिकट रहेर राज्यप्रदत्त लाभ,सेवा तथा प्रतिफलहरु अहोरात्र जनतालाई प्रवाह गर्न लागिरह्यौ मात्र आशामा यसै पेशामा रहेर संघीय निजामती सेवाको उच्चपदस्थ ओहदामा पुग्ने, एकीकृत संघीय निजामती सेवामा रही उत्साहित भई जनसेवा र राष्ट्रसेवा गर्ने,तर दुर्भाग्य न हाम्रो पेशाले सम्मान पायो न राज्यबाट हेरचाह नै ।अहिले हामी को हौं, कसका हौं, कहाँका हौं भेउ नै छैन । पेशागत दक्षता अभिवृद्धिको कुरा त एकादेशको कथा जस्तो पो लाग्छ,कल्पन्थ्यौं स्टाफ कलेजमा आधारभूत प्रशासनिक प्रशिक्षण (BAT) गर्न पाइए त अरुसँग प्रतिस्पर्धा गरि सबै भन्दा उत्कृष्ट बनाैंला, खा खुदो भनेझैं एक दिनको न भौतिक न भर्च्युल कुनै पनि तालिम नपाई कार्यस्थलमा घचेटियौं । काम गर्दै पढौंला लोक सेवामा नाम निकाली अफिसर बनौंला सोच्थ्यौं तर यहाँको उमेरको हदको लक्ष्मणरेखाले हामीलाई वञ्चितीकरणमा पार्दै थियो र पो हाम्रो मनमुटाव र झगडा अदालतमा पुग्यो ।
Advertisement 2
नत्र भने हजुरको मानहानी गर्ने हिम्मत हामी किन गर्थ्यौ र ? हाम्रो त्यत्रो दुस्साहस कँहाबाट आउथ्यो र ? हामी त राज्यको विभेदको खिलाफमा उत्रेका मात्रै हो,हामीलाई अरु केही चाहिएन हजुरबाट मात्र न्यूनतम योग्यताले भ्याएको पदमा स्वस्थ प्रतिस्पर्धा गर्न पाईयोस् ।अरु माग, समस्या र व्यवस्था त संघीय निजामती सेवा ऐन हाम्रो मातृ ऐन आउँदा सम्बोधन हुने अपेक्षा बोकेका छौं । के हामीले योग्यता अनुसार हजुरले लिने जाँचमा प्रतिस्पर्धा गर्न समेत नपाउने हौं र ? ३ वर्षमै यति अयोग्य त भएनौं होला जस्तो लाग्छ, झन् हाम्रो उपस्थितिले त हजुरका जाँचहरु अझै झनै प्रतिस्पर्धि हुने हैनन् र, राज्यले झनै योग्य र अनुभवी राष्ट्रसेवक पाउने होलानी हैन र ?
हजुरको आदर्श वाक्य नै छ त “योग्यता,निष्पक्षता र स्वच्छता” या यो वाक्य बिर्सि सक्नुभो ? नबिर्सिनु होला बिर्सनु भयो भने हामीले सम्झाउन बाध्य हुनेछौं हजुरलाई हजुरको विरुद्ध यस्तै रिट निवेदन हालेर । हाम्रा जस्तै सपना बोकेर लोक सेवा तयारी गरि रहनु भएका आकाङ्क्षी साथीहरु कृपया हाम्रो लडाईलाई अन्यथा नठानिदिनहुन अनुरोध छ । लोक सेवाका आसन्न जाँचहरु सार्ने पर धकेल्ने नियत हामीले कदापी किमार्थ राखेका छैनौं, वस् कुरा हो हामीमाथिको विभेद, अन्याय र हेपाहा प्रवृत्तिको जराधार सहितको अन्त्यको । यहाँहरुको श्रम, धन, तप र लक्ष्यको सम्मान गर्दै सफलताको शुभकामना सहित हामीहरुलाई नि यथाशीघ्र न्याय मिलोस् कामना !
Advertisement 3
अन्त्यमा प्रिय लोक सेवा, छोटो मिठो पत्र लेख्न खोजेका थियौं भावनात्मक भएर पत्र लामो हुन पुग्यो क्षमाप्रार्थी छौं । हजुरलाई त भ्याई नभाई होला यहाँको काममा । त्यसैमा हाम्रो आजको नयाँ रिटले तर्सायो होला, ठीकै छ हाम्रो कुराले पक्कै पनि हजुरको मन दुखेको छैन होला भूलवश मनमा ठेस लागेको भए पुन: क्षमाप्रार्थी भन्दै न्याय नमिले सम्म पत्राचार गर्ने वाचा सहित विदा हुन्छौं । बाई बाई । सि यु सुन ।
उहि हजुरको शुभचिन्तक प्रतिवादी
१. रिट नं. 079-WO- 0697
२. रिट नं. 079-WO-0791 का सम्पूर्ण निवेदकहरु ।
मिति : २०७९ माघ १५ गते आईतबार साँझ ७:५४ बजे
स्थान: कीर्तिपुर, काठमाडौं ।