समायोजन संशोधनको लागि धमाधम मापदण्ड बनाँउदै स्वास्थ्य मन्त्रालय,३/ ४ दिनभित्रै टुंग्याइने
सरकारले निजामतीतर्फको कर्मचारीहरुको समायोजन संशोधन प्रक्रिया शुरु गरेसँगै स्वास्थ्य सेवाका कर्मचारीहरु अलमलमा छन् । गत २ भदौको मन्त्रिपरिषद्को बैठकले कर्मचारी समायोजन संशोधनसम्बन्धी नीतिगत निर्णय गरेको थियो । त्यही निर्णयका आधारमा सामान्य प्रशासन मन्त्रालयले समायोजन संशोधन तथा मिलानसम्बन्धी कार्यविधि बनाएर स्वीकृत गर्यो । समायोजन संशोशन मापदण्ड स्वीकृत भएसगैं कर्मचारी समायोजन संशोधनका लागि अनलाइनबाटै निवेदन लिन थालेका छ ।
समायोजन संशोधन गर्न चाहने कर्मचारीहरुले मेल गर्नुपर्नेछ । अहिले यसरी अनलाइनबाट समायोजन संशोधनका लागि दैनिक सरदर ५० का दरले निवेदन आइरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यो बीचमा झण्डै एक हजार बढी निवेदन आइसकेको छ ।
यता सामन्यले कर्मचारी समायोजन संशोधन शुरु गरेसँगै स्वास्थ्य सेवाका कर्मचारीहरु अलमलमा छन् । उनीहरुले आफ्नो सेवातर्फको समायोजन संशोधन कहाँबाट कसरी हुने हो ? भन्ने बिषयमा अलमल परिरहेका छन् । स्वास्थ्य सेवाका धेरै कर्मचारीले यस सन्र्दभमा जिशासा राखेपछि हामीले स्वास्थ्य मन्त्रालयका कर्मचारी प्रशासनका उपसचिव प्रमोद सिंखडासँग यो जिज्ञासा राख्यौं ।
उनका अनुसार स्वास्थ्य सेवाको कर्मचारी समायोजन संशोधनसम्बन्धी मापदण्ड बन्दै छ । संघीय मामिला तथा सामान्य प्रशासनले तयार पारेको मापदण्डभित्रै रहेर मापदण्ड बन्ने र त्योसँगै स्वास्थ्य सेवाको कर्मचारी समायोजन संशोधनको काम अघि बढ्ने उपसचिव सिंखडाले सुनाए ।
अबको तीनदेखि चार दिनभित्रमा मापदण्ड बनिसक्ने उनको कथन छ । सोही मापदण्ड बनिसकेपछि स्वास्थ्यले पनि कर्मचारी समयोजन संशोधनको औपचारिक रुपमा घोषणा गर्नेछ ।
अहिले पनि स्वास्थ्य मन्त्रालय रामशाह पथमा भौतिक रुपमै उपस्थित भएर स्वास्थ्य सेवाका विभिन्न कर्मचारीहरुले समायोजन संशोधनका लागि निवेदन दर्ज गरिरहेका छन् । समायोजन संशोधनका लागि त्यहाँ ५० भन्दा बढी निवेदन परिसकेको छ ।