निर्वाचन आयोगको गाडीमा क कसको नजर ?
बहादुर भवनमा मुख्यालय रहेको निर्वाचन आयोगका गाडी तानातानमा पर्न थालेका छन् । निर्वाचन प्रयोजनका लागि भन्दै भारत सरकारले उपहारस्वरुप दिएको ८० थान स्कोरपियो पिक अप गाडीमा संघीय मन्त्रालय,विभागदेखि प्रदेश र स्थानीय तहसम्मले आँखा लगाएका थिए ।
Advertisement 1
आयोगका एक पदाधिकारीका अनुसार,निर्वाचन सकिएलगत्तै ती सवारी साधन माग्दै झण्डै ५ सय सरकारी निकायले निवेदनसमेत चढाएका छन् ।
तर ती कुनै पनि निकायले गाडी पाउने सम्भवना तत्कालका लागि नरहेको आयोगका सचिव गोकर्णमणि दुवाडीले इकर्मचारी डटकमलाई बताए । उनका अनुसार ती गाडीमध्ये ६८ वटा निर्वाचन कार्यालयलाई नै हस्तान्तरण भइसकेका छन् ।
Advertisement 2
चितवन,बाँके,कैलाली,रुपन्देही लगायतका जिल्ला निर्वाचन कार्यालयमा गाडी पठाइएको छैन । आयोगले ७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयहरुलाई ती गाडी पठाउने र बाँकी तीन वटा संघीय निर्वाचन आयोगले नै राख्ने तयारी छ ।
अर्थ मन्त्रालयले नयाँ सवारी साधन खरिदमा रोक लगाएपछि भारत सरकारले उपहारस्वरुप दिएको नेपाली मूल्यअनुसार एउटैको ४५ लाख बढी पर्ने ती गाडीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि विभिन्न मन्त्रालय,आयोग र निकायहरुको आँखा परेको भए पनि ती गाडी कुनै निकायले नपाउने भएका हुन् ।