सँकटमा माधवका चार ‘नाथ’
प्रत्यक्षतर्फ २० उम्मेदवारसहित प्रतिनिधिसभा निर्वाचनमा होमिएको नेकपा (एकीकृत समाजवादी) का चार ‘नाथ’ मध्ये दुई सर्वाधिक खतरामा र बाँकी दुई ‘के–हो, के–हो’को स्थितिमा देखिएका छन् ।
Advertisement 1
त्यसो त अध्यक्ष माधव नेपालसहित उक्त पार्टीका धेरैजसो नेताले २० मध्ये १५ स्थानको जित सुनिश्चित रहेको भन्दै आएका छन् । चिन्तामा परेका चार ‘नाथ’ मध्ये इलाम क्षेत्र नं। १ का उम्मेदवार तथा उक्त पार्टीका सम्मानित नेता झलनाथ खनाल भने अरुभन्दा केही सुरक्षित छन् । स्थानीय तह निर्वाचनको वडागत मतस्थितिमा एमाले २६ हजार २सय ३३,कांग्रेस २५ हजार ७ सय ७२, एकीकृत समाजवादी १० हजार ४ सय २९, माओवादी केन्द्र एक हजार २ सय ३५, राप्रपाले एक हजार १ सय ६९ र अन्य दल तथा स्वतन्त्र उम्मेदवार ३ हजार ८ सय ५ मतमा थिए । यही हिसाबले त झलनाथले हार्नुपर्ने अवस्था होइन । तर, कांग्रेसबाट इमान्दारिता देखाइएन भने उहाँ खतरामा पर्ने सम्भावना छ ।
सिराहाको क्षेत्र नंं ४ मा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा खडा भएका उक्त पार्टीका उपाध्यक्ष एवं मधेस प्रदेश इञ्चार्ज धर्मनाथप्रसाद साहलाई पनि खतरा देखिएको छ । त्यहाँ एमाले–जसपा तालमेलबाट उम्मेदवार रहेका खर्वपति उपेन्द्रका भाइ डा वीरेन्द्रप्रसाद महतोसँग धर्मनाथको चर्को प्रतिस्पर्धा छ । स्थानीय निर्वाचनमा एमाले–जसपाको २८ हजार दुई सय ८५ र सत्ता गठबन्धनको २८ हजार दुई सय ८९ मत देखिएको थियो । क्षेत्रका ४१ वडामध्ये एमाले १६, जसपा ९, कांग्रेस र माओवादी पाँच–पाँच, एकीकृत समाजवादी दुई, जनमत र स्वतन्त्र एक–एक वडामा अगाडि थिए । अंक गणितले धर्मनाथले हार्ने हिसाब दिँदैन । तर, कांग्रेसको ‘भोट ट्रान्सफर’ बिग्रिँदा उनी खतरामा पर्ने हुन् ।
Advertisement 2
बाँकी दुई नाथबारे पार्टी नेतृत्वले करिव–करिव माया मारिसकेको बताइन्छ । त्यसमध्ये उदयपुर– २ का जगन्नाथ खतिवडा र कास्कीका श्रीनाथ बराल हुन् । यी दुबै क्षेत्रमा कांग्रेसले अन्तिम अवस्थामा कुनै आश्चर्यजनक भूमिका खेलेन भने एकीकृत समाजवादीका उम्मेदवारहरु पराजय स्वीकार्ने स्थितिमा पुग्छन् । उदयपुरमा कांग्रेसका क्षेत्रीय सभापति रामकुमार राई ‘माछा’ चिह्नसहित स्वतन्त्र र कास्की २ मा कांग्रेसका प्रभावशाली नेता महादेव गुरुङ स्वतन्त्र उम्मेदवार छन् । उदयपुरमा एकातिर कांग्रेसको बागी,अर्कातिर अघिल्लो निर्वाचनमा वाम गठबन्धनबाट जितेका माओवादी सांसद सुरेश किराती ९हिमाल० को रहस्यमय मौनता देखिन्छ ।
कास्की २ मा एकातिर कांग्रेसको मत महादेव गुरुङतिर जाने, अर्कातिर एमाले त्यसै पनि बलियो भएको ठाउँ हो । पोखरा महानगरका कोर एरिया मानिने ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ उक्त क्षेत्रमा पर्छन् । यी ११ वडामध्ये गत स्थानीय निर्वाचनमा ६ वटामा कांग्रेसका वडाध्यक्षले विजय प्राप्त गरेका छन् भने पाँच वटामा एमाले विजयी भएको छ । एमाले वडाध्यक्षहरुको जम्मा मत २१ हजार एक सय ६४ थियो भने कांग्रेसको १९ हजार आठ सय । त्यहाँ नेकपा एकीकृत समाजवादीका उम्मेदवारले दुई हजार ५३ मत पाएका थिए भने राप्रपाले दुई हजार ७९ । माओवादीसँग एक हजार एक सय ९८ मत छ । स्वतन्त्रसहित अन्य दलले सात सय ५० मत पाएका थिए । यो हिसाब हेर्दा पनि कांग्रेस एकगठ नहुँदा गठबन्धन खतरामा पर्ने भएको हो ।
Advertisement 3
अर्कातिर,एकीकृत समाजवादीका जित सुनिश्चितझैँ भएका उम्मेदवारको संख्या १० छ । अरुले पनि जित्ने स्थिति छ,तर सुनिश्चित नदेखिएको उक्त पार्टीका एक नेताले बताए । रौतहटमा पार्टी अध्यक्ष माधवकुमार नेपाल र बारा– ४ मा कृष्णकुमार (किसान) श्रेष्ठका लागि जित सहज देखिन्छ । मकवानपुर– २ मा विरोध खतिवडा, धादिङ– १ मा राजेन्द्रप्रसाद पाण्डे, काठमाडौं– ८ मा जीवनराम श्रेष्ठ र ललितपुर– २ मा कृष्णलाल महर्जनको जित सहज रहेको बताइन्छ । यद्यपि, ललितपुर– २ मा एमालेले पनि महर्जन परिवारबाटै उम्मेदवार उठाउँदा कृष्णलाललाई केही अप्ठेरो पर्ने देखिन्छ ।
गुल्मी क्षेत्र नं. २ मा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीको स्थिति जितउन्मुख छ भनिन्छ । एमाले उम्मेदवार गोकर्ण बिष्टबिरुध्द एमालेकै शेषकान्त गौतमहरुको विद्रोह, कांग्रेसका बागी उम्मेदवारको निस्किृयताजस्ता कारण रामकुमारी बलियो बनेकी हुन् ।
पाल्पामा सोमप्रसाद पाण्डेको स्थिति मजबुत भए पनि मतदाताले युवा रोज्दा ठाकुर गैरे अगाडि आउन सक्छन् । दाङ– १ मा मेटमणि चौधरीको स्थिति कांग्रेस र चौधरी समुदायमा निर्भर छ । कांग्रेसको तर्फबाट इमान्दार मतदान भएमा चौधरी समुदाय तलमाथि भएर पनि मेटमणिलाई फरक पर्दैन । तर, दुबैतिरबाट ‘छ्यासमिसे’ व्यवहार हुँदा उनी खतरामा रहन्छन् ।
सल्यानमा प्रकाश ज्वाला सुरक्षित मानिएका छन् । दैलेख– १ मा अम्बरबहादुर थापालाई एमाले कमजोर हुनाले फाइदा छ । डोल्पामा अहिलेसम्म एकीकृत समाजवादीका धनबहादुर बुढा नै अगाडि देखिन्छन् । सुदूरपश्चिममा सबभन्दा सुरक्षित अछाम– १ मा श्रम मन्त्री शेरबहादुर कुँवर हुन् । डोटीमा प्रेमबहादुर आले पनि सुरक्षित उम्मेदवार मानिन्छन् । बझाङमा अन्तिममा युवा जनमत बिथोलिएन भने एकीकृत समाजवादीका भानुभक्त जोशी नै अगाडि देखिएका छन् ।
जनआस्था साप्ताहिकमा यो खबर छापिएको छ ।