शक्तिशाली तर ‘भुत्ते’ विभाग :- सात बर्षमै फेरिए ९ डिजी

सुपारी तस्करी प्रकरणमा जोडिएका एक सहसचिवलाई हरिहरभवनबाट तानेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थन्काइएको छ । साढे चार महिना अघि अर्थात गत साउन १ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सोही मातहतको राजश्व अनुसन्धान विभागको नेतृत्वको जिम्मेवारी पाएका त्यहाँका हाकिम झलकराम अधिकारीलाई साढे चार महिनामै सिंहदरबारमा तानेर त्यहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट मदन दाहाललाई खटाइएको छ ।

Advertisement 1

अधिकारी राजश्व विभागको हाकिम खानकै लागि ५ महिना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जगेडामा बसेका थिए । यसअघि सहकारी विभागको रजिष्टार रहँदा बदनामी कमाएका उनको हाल भएको सरुवालाई सरकारी अधिकारीहरुले सुपारी तस्करीको घटनासँग जोडेर हेरेका छन् । केही महिना अघि राजस्व अनुसन्धान विभागले भारततर्फ निर्यात भइसकेको ८ ट्रक सुपारी शुरूमा रोकेर पछाडि यत्तिकै छाडेपछि अधिकारीको भूमिकालाई लिएर आलोचना भएको थियो ।

केपी शर्मा ओलीको पालामा अर्थबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत तानिएको शक्तिशाली राजश्व अनुसन्धान विभाग अस्थिरमात्र होइन भुत्ते बन्न पुगेको छ ।

Advertisement 2

आठ महिना अघि त्यहाँ पुगेका प्रकाश पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तानेर त्यहाँ झलकराज अधिकारीलाई खटाइएको थियो उनी पनि साढे चार महिना भन्दा बढी टिक्न सकेनन् ।

पछिल्लो सात बर्षमा नौ जना हाकिम परिवर्तन हुनु यस्को एउटा उदाहरण हो । प्रकाश पौडेल अघि सो विभागको कमाण्डर थिए रामप्रसाद आचार्य उनले पनि सो विभाग सात महिनामात्र सम्हाल्न पाए । त्यसअघि २०७७ फागुन २८ सम्म विभागको कमाण्ड दीर्घराज मैनालीले सम्हालेका थिए । विभागको नेतृत्व सबैभन्दा लामो समय गर्ने भाग्यमानी हाकिम मैनाली मात्र हुन । उनले २९ महिना राजस्व हाँक्ने अवसर पाएका थिए ।

Advertisement 3

बालकृष्ण घिमिरेले १३ महिना राजश्वको कमाण्ड सम्हाले । त्यसपछिका सहसचिव रामशरण चिमोरिया जम्मा ५ महिनामात्र त्यहाँका हाकिम बने । उनी पछि सहसचिव निर्मलहरि अधिकारीले १३ महिना राजश्वको बागडोर सम्हाले । अधिकारी पछि राजश्वका हाकिम बनाइएका थिए रामकृष्ण सुवेदीलाई । सुवेदी २०७३ फागुन १२ देखि २०७४ साउन २५ सम्म जम्मा ५ महिना त्यहाँका हाकिम बनेका थिए । उनी पछि सहसचिव भुपाल बरालले सो विभागको कमाण्ड २०७४ भदौ १ देखि २०७५ वैशाख २८ सम्म ८ महिना कमाण्ड गर्ने अवसर पाएका थिए ।

विभागको पहिलो हाकिम हुन लोकमान सिंह कार्की । त्यसपछि क्रमश त्यहाँका हाकिम बने, तीर्थराज शर्मा ज्ञवाली, नुतनराज श्रेष्ठ, टिकादत्त निरौला, तीर्थराज शर्मा ज्ञवाली हुँदै दिप वस्न्यातले ०५८ साल भदौं २८गते देखि २०६१ साल साउन २६ सम्म चलाए । त्यसपछि माधव प्रसाद ढकाल, केशव प्रसाद भट्टराई, आत्माराम पाण्डे, टंकमणी शर्मा, महेश प्रसाद दहाल,श्री शान्त बहादुर श्रेष्ठ, जन्म जय रेग्मी हुन्ँदै खुम राज पुञ्जाली त्यहाँका हाकिम बनेका थिए ।

 

प्रकाशित :२०७९ कार्तिक १६, बुधबार ०९:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry