आगामी चुनावमा देखा पर्न सक्ने अनुहारहरू

यही २०७९ मंसीर ४ मा संघीय प्रतिनिधिसभाको चुनाव हुदैछ जसमा १६५ जना प्रत्यक्ष र ११० जना समानुपातिक गरी २७५ जना सांसदहरू निर्वाचित हुदैछन्।
Advertisement 1
यो निर्वाचनमा सहाभागी हुन गै रहेका पुराना दलहरू स्वतन्त्र रूपले सहभागी नभएर गठवन्धन बनाएर गएका छन् र केही नयां दल र केही स्वतन्त्र उम्मेद्वारहरू भने विना गठवन्धन प्रतिस्पर्धामा उत्रिएका छन्।
पुराना दलहरू विगत तीन दशकमा पटक पटक सत्तामा गए पनि जनताले चाहे जस्तो डेलिभरी गर्न नसकेको आरोप उनीहरू माथि छ जुन सही हो। यहा दलहरू भन्दा पनि यी दलका नेत्तृत्त्व तहमा रहेका नेताको अक्षमताका कारण यो आरोप लाग्ने गरेको पाईन्छ।
Advertisement 2
त्यसै गरी यहा कृयाशील राजनीतिक दलहरू समेत दिशा हीन र गन्तब्य हीन जस्ता देखिएका छन्। त्यस माथि गठवन्धन गरेर चुनावमा गएका कारण आफ्नो पहिचान पूर्णतः गुमाएको अवस्थामा दलहरू देखिएका छन्।
प्रजातान्त्रिक समाजवादको गन्तब्य राखेको दल साम्यवादी दल संग मिलेर चुनावमा गएको छ भने आफूलाई खांटी गणतन्त्र र संघीयताको पक्षधर ठान्ने दल राजतन्त्र पुनर्स्थापनाको गन्तब्य लिएको संघीयताको विरोधी दल संग गठवन्धन गरेको अवस्था छ।
Advertisement 3
यी दलहरूको नेत्तृत्त्व झण्डै ८ दशक पुगेका बाजे तहका ब्यक्तिले लिएका छन् जुन कुरा जनताले रूचाएका छैनन्। त्यसै निर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेद्वारको छनौट स्थानीय स्तरमा लोकप्रियता कमाएका ईमान्दार र कर्तब्यनिष्ट कार्यकर्ताहरू छांयामा पर्ने गरी शीर्ष नेताको पकेटबाट निकालेर वितरण गरिएको छ। यसरी छनौट गरिएका उम्मेद्वारहरू मतदाताको छनौटमा त पर्दैनन् नै, त्यसमाथि स्थानीय कार्यकर्ताको पनि रूची भित्र परेका छैनन्।
११० जना भित्र पर्ने समानुपातिकको सूचिमा समेत संविधानले चाहे अनुसारका ब्यक्तिको सट्टा नेता कै चाहनाका ब्यक्ति परेको पाईएकोले यसले पनि मतदातालाई प्रोत्साहन गरेको पाईदैन।
यसरी दल र यसका उम्मेद्वारहरूको गतिविधि र कृयाकलापबाट मतदाता खुसी छैनन् र मतदाताले नयांपन चाहेका छन्। मतदाताले नयांपन चाहेको विषयको छनक स्थानीय तहको चुनावमा केही स्वतन्त्र ब्यक्तिको छनौट गरेर दिई सकेका पनि छन्। यही नतिजालाई आधार मानेर यस पटक हुन गै रहेको संघ तथा प्रदेशको चुनावमा पनि स्वतन्त्र ब्यक्तिहरूको उम्मेद्वारी उल्लेख्य देखिएको छ। यसरी स्वतन्त्र रूपले उम्मेद्वारी दिनेहरूमा राजनीतिक अनुभव अवश्य पनि कमी होला तर भिजन र मिसनका हिसावले यिनीहरू दलीय उम्मेद्वारहरू भन्दा उत्कृष्ट देखिएका छन्।
विगतमा शासन सत्तामा पुगेर पनि देश र जनताको अवस्थामा खासै परिवर्तन ल्याउन नसकेको अपजस यिनै पुराना नेताले लिनु पर्छ र यसबाट जनतामा देखिएको नैराश्यताको जिम्मेवारीबाट समेत यिनीहरू उम्किने ठाऊ देखिदैन। यही असन्तुष्ठीका कारण मतदाताले विकल्प खोजेका छन् तर यी साविकका नेताले मतदातालाई साविककै हिसावले सोचेर आफ्नो कार्य शैलीमा सुधार गरेको पाईदैन। अहिलेका मतदातामा देखिएको चेतनाको स्तरको भेऊ साविकका नेताले पटक्कै पाएका छैनन्। अहिलेका मतदाता देश विदेश संग प्रत्यक्ष जोडिएर राजनीतिको जोडघटाउ गर्न सक्षम छन्।
अहिलेका मतदाताले मतको महत्व बुझेका छन् र योग्य र अयोग्य उम्मेद्वार खुट्याउन सक्ने क्षमता राख्छन्। हालको सूचना प्रविधिको भरपूर मद्दत लिन हरेक मतदाता सक्षम छन्। त्यसैले यस पटक हुन गै रहेको मतपरिणाम यी नेताले सोचे भन्दा बिलकूल फरक आउन सक्छ।
यसरी हेर्दा गन्तब्य गुमाएका दलहरूलाई किन छान्ने ? नेताका पकेटका उम्मेद्वारलाई किन छान्ने ? करीब ३ दशक राज्य सत्तामा रहदा पनि देश र जनताको अवस्था परिवर्तन गर्न नसक्नेलाई किन मतदान गर्ने ? राजनीतिबाट अवकाश लिएर बस्नु पर्नेहरूलाई पुनः के का लागि मतदान गर्ने ?नयां जोश, जागर र भिजन भएकाहरूलाई नछानेर किन गफाडी र अशक्तलाई छान्ने ? यी प्रश्नहरूको समीक्षा गरेर मात्र हरेक मतदाताले मतदान गर्ने हुदा यस पटकको चुनावमा देखिने अनुहारहरू अवश्य पनि यूवा, पढे लेखेका र भिजन भएकाहरू हुने छन्।