आध्यात्मिक स्वास्थ्य

हामी पूर्ण रुपले स्वस्थ रहनको लागि शरीर निरोगी भएर मात्र पुग्दैन । शरीरको साथै हाम्रो मानसिक स्वास्थ्य, सामाजिक स्वास्थ्य र आध्यात्मिक स्वास्थ्य पनि राम्रो हुनु पर्दछ । शारीरिक स्वास्थ्य भनेको शरीरका हरेक अंग तथा अवयवहरुको सक्रिय अवस्था र रोग, परजीवीहरुबाट मुक्त अवस्था नै हो । शारीरिक स्वास्थ्य राम्रो बनाउन सन्तुलित भोजन, चाहिए जति खोप र शारीरिक कसरतको आवश्यकता पर्दछ । चाहिए जति कार्बोहाड्रेट, प्रोटिन, फ्याट, भिटामिन र मिनरलयुक्त पोषिलो खाना, प्रशस्त मात्रामा सफा स्वच्छ पानी र प्रदूषणरहित हावाले हाम्रो शारीरिक स्वास्थ्य राम्रो हुन्छ । साथै शारीरिक सुगठनको लागि ठीक मात्रामा व्यायामको पनि आवश्यकता पर्दछ ।

Advertisement 1

मानसिक स्वास्थ्य भनेको मनको स्थिरता, सोचाइमा सकारात्मकता, मन र शारीरिक अंगहरुबीचको तादात्म्यता र मनोविकारबाट मुक्त अवस्था हो । मानसिक स्वस्थताको लागि चिन्ता, भय, र त्रासको अवस्थाबाट पनि मुक्त रहनु पर्दछ । हाम्रो मनले एक मिनेटमा कयौं विचारहरु सोच्न सक्दछ । ती विचारहरु सकारात्मक पनि हुन सक्छन् र नकारात्मक पनि । ती विचारहरुमाथि बुद्धिले नियन्त्रण गर्न सके त राम्रो हो तर एकैसाथ धेरै विचारहरु निस्के भने त्योपनि नकारात्मक हो, धेरै भए भने मानिसले सन्तुलन गुमाउन थाल्दछ र आफूले आफूलाई नै नियन्त्रण गर्न सक्दैन । यस्ता मान्छेहरु कि डिप्रेशनमा जान्छन् कि पागल हुने अवस्था आउँछ । त्यसैले विचारलाई नियन्त्रण गर्न कोशिस गर्नु पर्दछ । त्यसका लागि पनि धेरै विधि विधानहरु छन् बेलैमा त्यो अपनाउनु पर्दछ ।

मानिस सामाजिक प्राणी भएकाले हरेक व्यक्तिले समाजसँग सुमधुर सम्बन्ध कायम राख्नु जरुरी छ । सामाजिक मर्यादा, मूल्यमान्यता, नीतिनियम र सामाजिक संस्कृतिको संरक्षणमा जिम्मेवार भएर कार्य गर्नु पर्दछ । हरेक क्षण गम्भीरताका साथ समाजिक कल्याणमा लाग्नु पर्दछ । परिवार, समाज, देश र विश्वकै हितमा चिन्तन गर्नु नै सामाजिक रुपले स्वस्थ्य रहनु हो । समाजको हितविपरित चल्नेहरुलाई, समाजमा विकृति विसंगति फैलाउनेहरुलाई समाजले रुचाउँदैन । उनीहरुलाई त समाजको कसिंगर ठानिन्छ । भूलवश कमजोरी गर्नेहरु सच्चिएर आउन सक्दछन् । तर नियतवश गल्ती गर्नेहरु, गल्तीलाई दोहो¥याउनेहरु समाजिकरुपले घातक हुन्छन् । त्यसैले सामाजिक स्वस्थता कायम राख्न हरेक व्यक्तिले समाजप्रति जिम्मेवार बन्दै समाजलाई अग्रगतितर्फ डो¥याउने कार्यमा सघाउनु पर्दछ ।

Advertisement 2

आध्यात्मिक स्वास्थ्य पनि त्यति नै आवश्यक हुन्छ, जति हाम्रो सामाजिक स्वास्थ्यको आवश्यकता हुन्छ । आध्यात्मिक रुपले स्वस्थ त्यो हो, जस भित्र आध्यत्मिकता जागृत रहन्छ ।
धर्म र आध्यात्मिकता थोरै कुरामा समान भएपनि फरक कुराहरु हुन् । धर्मको दायरा साँघुरो छ भने अध्यात्म विशाल छ । धर्म एक सम्प्रदायमा सीमित हुन पुग्छ भने आध्यात्म सम्पूर्ण मानव, जीवित प्राणी र सबै प्राकृतिक तत्वहरुमा केन्द्रित हुन्छ । धर्मले पनि सबैको हित र उन्नतिको कुरा गर्दछ तर अन्तमा सीमित घेरामा रुमलिन्छ । केही व्यक्ति, समूह र सम्प्रदायको हितमा सीमित हुन पुग्छ । धर्महरुका संस्थापकहरु पनि अलग–अलग भएकाले सबैको मार्ग पनि फरक–फरक हुन्छ । हुन त सबैले सुखमय संसारको स्थापना गर्ने भन्छन्, मानव कल्याणका कुरा गर्छन् तर धर्मकै नाममा सम्प्रदाय–सम्प्रदाय आपसमा लड्ने गर्दछन्, जसले गर्दा नचाहेर पनि धेरै पटक ठूलो नरसंहार भएका घटनाहरु धेरै छन् ।

आध्यात्मिकताले त सबैलाई एकै देख्ने गर्छ । समानता देख्ने गर्छ । सबैको अस्तित्वलाई स्वीकार गर्दछ । यसमा विभेद र भिन्नता बिलकुल हुँदैन । सबै एकै सर्वशक्तिवान परमात्माका सन्तान हुन् भन्ने हिसाबले देख्ने गरिन्छ । विविधतामा एकता होस् भन्ने चाहन्छ । आफूलाई आत्मिक शक्तिको रुपमा देख्छ र सर्वशक्तिवान परमात्माको खोजी गरी सर्वसम्बन्ध उसैसँग कायम राख्न चाहन्छ । सबैलाई एक परमात्माका सन्तानको रुपमा देख्ने गर्दछ । सबैलाई बन्धुत्वको भावले हेर्ने गर्छ । हरेक व्यक्ति, प्रत्येक प्राणी र प्रकृतिलाई समान रुपले हेर्छ । कसैको नोक्सान हैन सबैको परोपकारमा नै ध्यान दिन्छ । सबैको सुखको कामना गर्दछ । आफू बनेर अरुलाई बन्न सघाउँछ र यो दुःखको संसारलाई बदलेर सुखमय संसारमा रुपान्तरण गर्न खोज्दछ ।

Advertisement 3

त्यसैले आध्यात्मिक स्वास्थ्य अति आवश्यक कुरा हो । अध्यात्म एक ज्ञान हो । अध्यात्मिक ज्ञान भनेकै आत्माको खुराक हो । म को हुँ ? म कहाँबाट आएँ ? मेरो जानु कहाँ हो ? मेरो कर्तव्य के हो ? यो सृष्टि कसरी चलेको छ ? यसको अन्त्य कसरी हुन्छ ? सृष्टिचक्रको समग्र आयु कति हुन्छ ? सृष्टिचक्रमा कति युगहरु हुन्छन् ? कसरी अगाडि बढ्छन् ? सृष्टिचक्र कसरी कति समयमा दोहोरिन्छ ? यहाँ हाम्रो भूमिका के रहन्छ ? यो चक्रमा हामी कसरी आइराख्छौं ? यी सबै कुराको ज्ञान हुनु र ज्ञान आनुसार व्यवहार गर्दै जाने कार्य नै आध्यात्मिकता हो । आध्यात्मिक ज्ञान मानिसको यस्तो खुराक हो, यस्ले हाम्रो सामाजिक स्वास्थ्य, मानसिक र शारीरिक स्वास्थ्यलाई नै प्रभाव पारिदिन्छ ।
त्यसैगरी हामीले खाने खानाले पनि हाम्रो शारीरिक स्वास्थ्यका साथै हाम्रो मानसिक स्वास्थ्य, सामाजिक स्वास्थ्य र आध्यात्मिक स्वास्थ्यलाई पनि प्रभाव पारिदिन्छ । त्यसैले हामीले लिने खाना र ज्ञानलाई विचार गरेर मात्र ग्रहण गर्नु पर्छ । जीविकोपार्जनको लागि दिइने ज्ञान मानिसले दिने ज्ञान हो, धर्मको ज्ञान धर्म संस्थापकहरुले दिएको ज्ञान हो तर आध्यात्मिक ज्ञान भगवान आफैं अवतरित भएर दिएको ज्ञान हो । यो नै यथार्थ र सत्य ज्ञान हो ।

प्रकाशित :२०७९ भाद्र १६, बिहीबार ११:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry