हाम्रो संस्कार र आमाबाबु
हाम्रा जीवित बाबुलाई मीठो मीठो ख्वाएर र दिवंगत बाबाहरूलाई तर्पण वा श्रद्धान्जली दिएर हामीले भरखरै बाबुको मुख हेर्ने दिन मनायौ। यसै गरी करीव ४ महिना अगाडि हामीले हामीलाई जन्म दिने आमाको मुख हेर्ने दिवस अर्थात माता तीर्थ औंसी मनायौं।
Advertisement 1
हाम्रा नीतिमा पनि भनिएको छ कि जननि जन्मभूमिश्चः स्वर्गादऽपि गरियसी। अर्थात जन्म दिने आमा र जन्म भूमि स्वर्ग भन्दा पनि ठूला हुन्। यसै गरी अबको २ हप्ता मै हाम्रो पितृपक्ष वा सोह्र श्राद्ध आरम्भ हुदैछ र जसमा हाम्रो आमा बुबा तर्फ स्वर्गवासी ३ पुस्ता सम्म, फुपु, फुपाज्यू, दिदी भेना, शासु शशुरा, मामा माईज्यू समेतलाई पित्तृको रूपमा श्रद्धा गर्ने प्रचलन छ। पित्तृ खुसी भएनन् भने देवताले दिएको पनि पाउन सकिदैन भन्ने शास्त्रीय कथन रहेको पाईन्छ। यसरी हाम्रा शास्त्र र पुराणहरूले हाम्रा अग्रज वा पित्तृलाई सम्मान गर्नु पर्ने कुरा जनाएका छन्। यो नै हाम्रो संस्कार हो। वास्तवमा संस्कार नै कुनै पनि व्यक्ति वा समुदायको पहिचान पनि हो। विना संस्कारको पहिचान पूर्ण हुदैन। सबैले आ-आफ्नो संस्कार बमोजिम ब्यक्तिको नामाकरण गर्ने गर्छन्, यसैबाट ब्यक्तिको पहिचान आरम्भ हुन्छ। यसैले भन्न सकिन्छ कि संस्कार नै पहिचानको आरम्भ हो। जब हामीले हाम्रो संस्कार गुमाउछौ, यो संगै हाम्रो चिनारी पनि गुम्न जान्छ। हामीलाई हाम्रो संस्कार संग परिचित गराउने श्रेय हामीलाई जन्म दिने आमाबाबुमा जान्छ।
Advertisement 2
त्यसैले आमाबाबुलाई संस्कारको पर्यायको रूपमा पनि लिन सकिन्छ। नीतिमा भनिएको पनि छ कि” माता शत्रु पिता वैरी ये न वालो नपाठितः”। अर्थात आफ्ना वच्चालाई नसिकाउने वा नपढाउने आमाबाबु शत्रु सरह हुन् भनिएको छ। यसैले ब्यक्तिको पहिचानको पर्यायको रूपमा रहेको संस्कारका बारेमा हरेक आमाबाबुले आफ्ना बच्चालाई सिकाउनु पर्छ। आमाबाबुको यही भूमिकालाई सम्मान गर्दै हामी सबैले हाम्रा माता पिता र पूर्वज वा अग्रजलाई अग्र स्थानमा राखेका छौ र संस्कारको पर्यायको रूपमा मान्दै आएका हौ। हाम्रा आमाबाबुले हाम्रो भविष्यलाई सुखमय र भरपर्दो बनाउन अथक प्रयाश गरेका हुन्छन्। सन्तानको उज्वल भविष्य संग आफ्नो भविष्यलाई जोडेका हुन्छन्। आफ्नो सुख सयल र सहजतालाई बिर्सेर सन्तानको भविष्यको चिन्ता गर्छन्।आमाबाबुले आफ्ना रहरहरूलाई मिटाएर आफ्ना सन्तानका रहरहरू पूरा गर्न अग्रसर हुन्छन्। गुणस्तरीय शिक्षा दिएर भविष्यको दुनिया संग प्रतिस्पर्धा गर्न सक्षम बनाउने चाहना हरेक आमाबाबुको हुन्छ तर त्यसमा सन्तानको अभिरूची, क्षमता र आमाबाबुको क्षमताले पनि भूमिका खेलेको हुन्छ। नेपालको सन्दर्भमा भन्दा खेरी बुढेसकालको जीवन त्यति सुरक्षित छैन।
Advertisement 3
किनभने पाका नागरिकको नियमित आम्दानी पनि हुदैन र भविष्यका लागि गरेको सन्चिति पनि हुदैन। त्यसै गरी उनीहरूको स्वास्थ्य पनि दिनानुदिन कमजोर हुदै गएको हुन्छ।बृद्ध बृद्धाहरू संग साधन श्रोतको अभाव हुने हुदा उनीहरू दैनिक जीवन यापन र स्वास्थ्य सम्बन्धी समस्याहरू खड्किने अवस्था रहन्छ। यस्तो बेला आमाबाबुहरू आफ्ना सन्तानहरू तर्फ आश्रीत हुनु पर्ने वाध्यता रहन्छ तर सबै सन्तान श्रवण कुमार जस्ता हुदैनन्। केही सन्तानहरूले कर्तब्य बिर्सन पुग्छन्। यस्ताका आमाबाबुको भविष्य अन्धकारमय हुन्छ। यस्तो परिस्थिति देखा पर्छ भनेर हाम्रा दर्शनहरूले नैतिक शिक्षा दिने गरेको पाईन्छ। यसैले हाम्रो शिक्षा प्रणालीले भौतिकता मात्र नसमेटी आध्यात्मिक र नैतिक पाटो समेत समेटेको हुनु पर्छ। यसको लागि राज्य जिम्मेवार हुनु पर्छ। आफ्ना आमाबाबुको यस्तै भूमिकालाई देखेर होला हिन्दू सम्प्रदायका अतिरिक्त अन्य सम्प्रदायमा समेत आमाबाबुको महत्वलाई जीवन्त राखेको पाईन्छ। यी सम्प्रदायमा समेत Father’s Day तथा Mother’s Day को रूपमा आमाबाबुलाई सम्मान गर्ने गरेको पाईन्छ। यसरी हरेक सन्तानले आफ्ना आमाबाबुलाई सम्मान गर्ने गरे तापनि स्वास्थ्य सेवाको पक्षमा राज्यले जिम्मा लिनु पर्छ।
राज्यले पाका नागरिकको अनुभवलाई सम्पतिको रूपमा प्रयोग गर्दै उनीहरूको पछिल्लो जीवन बढी सहज र सुगम होस् भन्ने तवरबाट आफ्नौ यौवन र ऊर्जा राष्ट्रको नाममा खर्चिने पाका नागरिकको सेवामा राज्यले अत्यधिक ध्यान दिनु पर्ने हुन्छ।