“प्रधानन्यायधीश राणा बिचौलियाहरुको नाइके” :- श्रेष्ठ

प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाविरुद्ध कानुन व्यवसायीहरुले शसक्त आन्दोलन गर्ने भएका छन् । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बारले आन्दोलनको थप कार्यक्रम सार्वजनिक गरेको छ । बारको सोमबार बसेको पदाधिकारी बैठकले देशव्यापी विरोध प्रर्दशन गर्नुका साथै आजदेखि एक हप्तासम्म राजधानी उपत्यका भित्रका सबै अदालतमा बिहान १० देखि मध्यान्ह १२ बजेसम्म इजलास बहिस्कार गर्ने निर्णय गरेको छ । यस्तै आगामी कार्तिक २८, २९ र ३० गते तीन दिन कालोपट्टि बाँधेर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
यस्का अलवा प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले मार्गप्रशस्त नगरे उहाँविरुद्ध महाअभियोग लगाउनका लागि प्रधानमन्त्रीका साथैं संसदमा रहेका सबै दललाई ज्ञापनपत्र दिने र ध्यानाकर्षण समेत गराउने तयारी गर्दैछ । बार प्रांगणमा भएको विरोध कार्यक्रममा बोल्दै नेपाल बार एशोसियनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा विचौलियाहरुको नाइके भएको आरोप लगाएका छन् ।
उनले प्रधानन्यायाधीश राणा न्यायालय बचाउन नभइ आफ्नो पद बचाउन लागिपरेको र आफू खुसी पेसी तोक्ने काम गरेको बताउँदै प्रधानन्यायधीश राणाले न्यायाधीश र बारको विश्वास जित्न नसकेको टिप्पणी गरे । उनले भने,बिचौलियाको जड, नाइके चोलेन्द्र शमशेर हो । नहटाएसम्म बिचौलिया हट्दैन । उनले सेवाग्राहीलाई पनि केही दिन साथ दिन अनुरोध गरे । सो कार्यक्रममा सुरेन्द्र भण्डारी,दमनबहादुर चन्द,चन्द्रकान्त ज्ञवाली,कुलनिधि न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।