चुनावी गठवन्धन र यसका परिणाम

प्रेम शर्मा
Advertisement 1
तत्कालीन नेकपाका अध्यक्ष केपी ओलीले सरकारको विकल्प दिने अवस्था हुदा हुदै तानाशाही शैलीमा जन प्रतिनिधि संस्था पटक पटक विघटन गरे पछि उनको गुट वाहेकका संसदीय दलहरू र संसद सदस्यहरूले सडक आन्दोलन गर्दै न्यायीक निरूपणका लागि अदालत गए पछि पुनर्स्थापना भएको प्रतिनिधि सभाले बनाएको संयुक्त सरकार हाल मुलुकमा कार्यरत छ। प्रतिपक्षको रूपमा रहेको एमालेले विभिन्न खोचे थापेर पुनर्स्थापित प्रतिनिधि सभा र यसबाट बनेको सरकारलाई काम गर्न वाधा विरोध गरिरहेको छ।
यही वीचमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा यो संयुक्त सरकारले सीट बांडफांड गरेर चुनाव लड्यो र चुनावमा गठवन्धनले बढी सीट ल्यायो पनि। यो चुनावमा भएको गठवन्धनको केही समीक्षा नै नगरी केवल चुनावी अंकगणितलाई हेरेर र यही नतिजाबाट हौसिएर मंसीर ४ मा हुन गै रहेको संघ तथा प्रदेशको चुनावमा समेत गठवन्धन गर्न सत्तासीन दलहरू सहमत भएका छन् र प्रतिपक्षमा रहेको दल एमालेले पनि गठवन्धनको प्रयास गरी रहेको छ।यसरी विभिन्न आस्था र विचार भएका राजनीतिक दलहरू गठवन्धन गरेर जादा यसबाट राजनीतिमा देखिने अशरहरू औल्याउने प्रयास प्रस्तुत लेखमा गरिएको छ।
गणितीय हिसावले हेर्दा यो परिस्थितिमा गठवन्धनका दलहरूको स्थान प्रतिपक्षी दलको भन्दा बढी हुन्छ जुन एक मात्र सकारात्मक पाटो हो । त्यसै गरी कमजोर राजनीतिक दलहरूको झिनो रूपमा भए पनि संसदमा उपस्थिति रहन्छ,जुन अर्को सकारात्मक पक्ष मान्न सकिन्छ।यो वाहेक यसरी हुने गठवन्धनले निम्न दलहरूलाई निम्न बमोजिम असर पार्ने देखिन्छः-
नेपाली कांग्रेसः- यो पार्टीले २०१५ सालमा भएको संसदीय निर्वाचन र २०४७ सालमा भएको निर्वाचनमा क्रमशः १०९ क्षेत्रमा ७४ स्थान अर्थात ६७.८८ % र २०५ क्षेत्रमा ११० स्थान अर्थात ५३.६५% प्राप्त गरेको थियो। पछि नेपाली कांग्रेस भित्र बिग्रह भएर यो पार्टी आफ्नो क्षमता अभिवृद्धी तर्फ लागी रहेकै क्रममा बिभाजित कांग्रेस पूनः एक त भयो तर यसले भावनालाई एकीकरण गर्न सकेको अनुभूति हुन सकेन। यसले नेका भित्र मात्र हैन समस्त देशको राजनीतिलाई उथलपुथल बनायो र यो कमजोरीको फाईदा उठाउदै माओवादी आन्दोलनको नामबाट देश द्वन्दमा प्रवेश गर्यो। यो द्वन्दलाई मूल राजनीतिमा डोर्याउने काम गरेको नेका हाल आफ्नो शाख जोगाउन संघर्षरत छ। यसरी अगाडि बढ्दै गरेको नेका हाल गठवन्धनको सिक्रीले बेरिएको त छदैछ र यसको नेत्तृत्त्वमा पुरानै रोग बल्झिएको छ त्यो हो भावनात्मक एकीकरणको अभाव। पार्टी एक भएर वाम पन्थीहरूलाई प्रजातान्त्रिक प्रवाहमा लिएर हिड्नु पर्ने नेकाको मूल नेत्तृत्त्व भाग्यको जोखानामा परेर आफ्ना शुभेच्छुकलाई पेलेर अगाडि बढ्न खोज्दैछ। कस्तुरी मृगले आफू भित्रको वीनालाई चिन्न नसकेर त्यसको सुगन्ध खोज्न जसरी भौतारिने गर्छ त्यसरी नै नेकाले आफू भित्रको Strength पहिचान नगरी गठवन्धनको नाममा अन्य वाम पक्ष संग लहसिन पुगेको पाईन्छ।
विद्यमान गठवन्धनले कमजोरलाई बलियो बनाउने र बलियोलाई कमजोर बनाई सन्तुलन मिलाउने काम गर्छ। त्यसैले यसबाट निश्चय पनि कमजोरलाई अस्तित्वमा राख्न र बलियो पार्न मद्दत गर्छ। यो हिसाबले नेकपा समाजवादी र मधेश केन्द्रित दलहरू यस बाट लाभान्वित हुने देखिन्छ। उदाहरणका लागि स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरको नतिजालाई लिन सकिन्छ।
यो गठबन्धनको कुरा बुझ्दा जुन क्षेत्रमा पार्टीको उम्मेद्वार हुदैनन् त्यहा त्यो पार्टीको चुनाव चिन्ह नराख्ने कुरा सुनिदैछ। यसरी उम्मेद्वार नभएको ठाऊमा पार्टीको चुनाव चिन्ह राख्दा वदर मतको संख्या बढ्यो भन्ने निहुमा यसो गरिन लागेको भन्ने बुझिदैछ। यदि यसो गरियो भने गठवन्धनका कारण जुन क्षेत्रमा नेकाको उम्मेद्वार राखिदैन त्यहां नेकाका मतदाता मतदान गर्न नजाने सम्भावना हुन्छ । यस्ता क्षेत्रमा नेकाका मतदाताहरूको समर्थनमा स्वतन्त्र उम्मेद्वार उठ्ने सम्भावना पनि रहन्छ। फेरि यस्ता क्षेत्रका कांग्रेसका सुभेच्छुकहरू निष्कृय भएर भावी चुनावहरूमा प्रजातन्त्रका पक्षधरहरू क्रमश: हराउदै जान्छन्। खासगरी माओवादी केन्द्र देखि सबै कम्युनिष्टहरूको अभिलाषा पनि प्रजातन्त्रको प्रभाव कम गराउदै जानु हो जुन यो गठवन्धनले पूरा गरिदिन्छन्। यस अर्थमा गठवन्धन गरेर चुनावमा जानु भनेको अर्को अर्थमा प्रजातन्त्र मास्ने र सो ठाऊमा कम्युनिजम् बढाउदै लग्नु हो।यस कारण गठवन्धनले नेकालाई नतिजामुखी हैन क्षयमुखी बनाउने देखिन्छ।
Advertisement 2
नेकपा माओवादी केन्द्रः- यस दलमा नेकपाको विभाजन पछि पार्टीमा क्षयीकरण आउनाले साविक भन्दा माओवादी केन्द्र कमजोर छ। यो दल पहिला जस्तो सक्षम छैन। यो दल साविकमा बलियो देखिनुको कारण यसले जनमानसमा फैलाएको भय र त्रासका कारणले हो। जनताको मन जितेको भए यति चाडै यसमा स्खलन आउने थिएन। विगतमा भारतलाई साम्राज्यवादी र अमेरिकालाई पूजीवादीको आरोप लगाउदै नेकालाई वर्ग शत्रुको रूपमा मान्दै आएको नेकपा माओवादी अहिले भारत र अमेरिका संग लम्पसार पर्दै नेका संग घाटी जोडेका कारण यसको दोधारे चरीत्रले यसलाई आफ्नो शाख जोगाउन हम्मे हम्मे परेको छ। त्यसैले यसलाई गठवन्धनको नितान्त आवश्यक छ। यो पार्टीले अन्य वामपन्थी घटक संग एकताको अथक प्रयास जारी रहेको छ। यस प्रयासमा कोही वाधक छ भने केवल केपी ओली मात्र हुन्। ओलीको वहिर्गमन वा निष्कृयता संगै प्रचण्डले नेकालाई उपियाले छाडे जस्तै छोडेर जान्छन् जुन पहिला पनि गरी आएकै हुन्। यसैले प्रचण्डले देऊवाका कमजोरीहरूलाई उपयोग गर्दै आफ्नो अनुकूल नपर्दा सम्म यो गठवन्धनलाई निरन्तरता दिन चाहन्छन्। गठवन्धनका कारण माकेलाई केही गुमाउन पर्दैन तर जति मोलमोलाई(Bargaining )गर्न सक्यो उती फाईदा बढ्दै जान्छ।
नेकपा समाजवादी:- माकुने द्वारा नेत्तृत्त्व गरिएको नेकपा समाजवादी एक्लै निर्वाचनमा जानु पर्यो भने यसले आफ्नो अस्तित्व रक्षा गर्न सक्दैन। यो पार्टी गठन भएको करीव १ वर्ष भयो र यो अवधीको समीक्षा गर्दा यसका नेत्तृत्त्व पंक्तिको असक्षमताका कारण यो क्रमश: कमजोर हुदै गएको पाईन्छ। यसका अधिकांश सदस्यहरू पुरानै पार्टी एमालेमा फर्कने र बाकि माओवादी केन्द्र संग मिसिने सम्भावना देखिन्छ र यो प्रकृया टुंगो नलाग्दा सम्म यिनीहरू गठवन्धनमा देखिन्छन्। यिनीहरूले १ स्थान मात्रै पाए पनि गठवन्धन छाडेर जादैनन्।
Advertisement 3
मधेशवादी दलहरू:– हाल यिनीहरू मुख्यत: २ कित्तामा विभक्त छन् र कुनै पनि वेला एक हुन सक्छन्। किनभने यिनीहरूको एजेण्डा समान छ त्यो हो मधेशमा खुकुलो नागरिकता प्रणाली। समय समयमा यो नागरिकताको विषयलाई सत्ता संग जोडेर राजनीति गर्छन् र यिनीहरू गठवन्धनमा रहेर मधेशबाट अरू पार्टीलाई बिस्थापित गर्न चाहन्छन्।
नेकपा एमाले:- माओवादी केन्द्र संग चुनावी तालमेल गर्दै पछि नेकपाको नाममा एकीकरण भएको यो दलले पाएको मत नेपालको राजनीतिक ईतिहांसमा २०१५ सालको निर्वाचन परिणाम संग झण्डै समान थियो तर यस दलका नेता द्वय केपी ओली र प्रचण्डमा आएको दम्भले यिनीहरू पूरा अवधी टिक्न नसकेर अदालतको आदेशले विभाजन हुन पुगे।
एमालेका नेता केपी ओलीले जनतालाई जे मन लाग्यो त्यही गफ दिने, कहिले राजावादी हुने, कहिले पशुपतिमा सुन चढाएर र रामको नाम लिएर जन आस्था माथि खेलवाड गर्ने, कागजी योजना बनाएर कागज मै शिलान्याश र उद्घाटन पनि गर्न भ्याउने, जहिले जस्को विरोध गरेर चर्चा बटुलिन्छ त्यही गर्ने,काममा झिंगो नमार्ने, विपक्षी र विरोधीलाई सत्तो श्राप गरेर कहिल्यै नथाक्ने, I am the monarch of all I survey भन्ने William Copper संग तादाम्य राख्न सक्ने, यस्ता हावादारी नेताको नामबाट चिनिएका हुदा यी र यिनको पार्टी एमालेलाई समेत जनताले विश्वास गर्न छोडेको हुदा अन्य पार्टीहरूको गठवन्धनबाट यी तिलमिल्याएका छन्। यस्तो अवस्थामा यिनले यो गठवन्धनलाई कमजोर पारेर आफू पनि जो कोही संग तालमेल गरेर आफ्नो गुमेको शाख फिर्ता ल्याउन चाहन्छन्। तर गठवन्धनका लागि भरपर्दो सारथी पाउन सकेका छैनन्। राजतन्त्रको काउछो बोकेको राप्रपा संग तालमेल गर्ने कोशिसमा केपी ओली रहेका छन्।
नेपालमा भएको बहुदलीय राजनीतिक ब्यबस्थालाई सीमित पार्न यो गठबन्धनले महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।यसै गरी यो गठवन्धनले सकिन लागेको कम्युनिष्ट विचार धारालाई जोगाउदै यसलाई फैलन मद्दत गर्ने देखिन्छ। विश्वमा आएको परिवर्तनले कम्युनिजम् मा समेत परिवर्तन ल्याउन खोजेको कारण नेपालमा बहुदलीय जनवादको नाममा कम्युनिजम् अगाडि बढ्दै गर्दा केही उग्रवादी र जडसुत्रवादी कम्युनिष्टहरूको कृयाशीलताले नेपाल दश वर्षे द्वन्दमा फस्यो र त्यसको निकासाका लागि १२ बुदै सम्झौता बन्यो र त्यसकै जगमा माओवादी केन्द्र खडा हुदै आएकोमा त्यसमा देखिएको विग्रहले अस्तित्वको लडाई लडेको माकेलाई यो गठ वन्धनले राहत दिएको पाईन्छ।
गठवन्धन जस्ता कार्य अन्य देशहरूमा पनि नहुने हैनन् तर यस्ता गठवन्धन विपरीत ध्रुवका पार्टी संग हैन , गन्तब्य मिल्ने संग हुन सक्छ र त्यस माथि पनि चुनावमा हैन कि चुनाव पछि सरकार बनाउने काममा गठवन्धन हुन सक्छ तर अपसोच हाम्रो देशमा उत्तर र दक्षिण बीच तालमेल हुदैछ जसको परिणाम चुनावमा Out Dated Leaders लाई सत्तामा पुर्याउने बाहेक देश र जनताको लागि केही हुनेवाला छैन।
-(लेखक शर्मा पूर्व प्रशासक तथा अधिवक्ता हुन ।)