कठिन यात्राको सुखद परिणाम कौटिल्यको आलोकमा नेपालको भन्सार प्रशासन
शोधकार्य महिलाका लागि प्रसवपीडाजस्तो, हिमाल आरोहीका लागि हिमाल आरोहणको कष्टकर यात्राजस्तो, किसानका लागि असार १५ को रोपाइँजस्तो वा अन्य यस्तै यस्तै अनौठो घटनाक्रम रहेछ । यसका प्रक्रियाहरू विधिसम्मत र समयसम्मत हुनुपर्ने, विशिष्ट मान्यताहरू पूरा गर्नुपर्ने जस्ता पक्षहरू अति कठिन विषय रहेछन् । तर यो कठिन प्रक्रियाको परिणाम भने सुखद हुँदो रहेछ । मैले विद्यावारिधि उपाधिप्राप्तिको प्रयोजनका लागि अर्थशास्त्र विषयमा ‘कौटिल्यकालीन भन्सार प्रशासनका सन्दर्भमा नेपालमा भन्सार प्रशासनको सुधारको प्रभावकारिता’ शीर्षकमा गरेको शोधकार्य पनि यस्तै अनेक आरोह अवरोहहरूको कठिन तर सुखद परिणामहरूको सम्मिश्रण हो । जुन अहिले कौटिल्यको आलोकमा नेपालको भन्सार नामक पुस्तकमा रुपान्तरित भएको छ ।
Advertisement 1
नेपालको निजामती प्रशासनको लामो यात्राक्रममा मेरो कार्यक्षेत्र बढी समय व्यापार, वाणिज्य, आयातनिर्यात व्यवस्थापन, सीमा राजस्व व्यवस्थापन, व्यापार सहजीकरण, अर्थ तथा राजस्व प्रशासनजस्ता क्षेत्रहरूमा बित्यो । यसले ती विषयवस्तुहरूसँग परिचित हुने अवसर त दियो नै, यसका अतिरिक्त यी विषयहरूको सैद्धान्तिक अवधारणा, विषयगत अन्तरसम्बन्ध, अन्तर्राष्ट्रिय रूपमा प्रयोगको अवस्था, नेपालमा प्रयोगको अवस्था, अवसर र चुनौतीजस्ता विषयहरूसँग समेत परिचित हुने अवसर प्राप्त भयो । आफ्नो कार्यक्षेत्रमा परिचित र रुचिको विषयमै रहेर विद्यावारिधि उपाधि हासिल गर्न प्रयत्न गरौँ भन्ने चाहना मनको कुनै अन्तर कुन्तरमा आयो पनि । मनमा चाहना हँुदाहुँदै पनि यो कठिन काममा हात हाल्ने साहस जुटाउन भने सकिएको थिएन, किनकि काम आफैमा कठिन थियो । सोचेँ, सजिलो हुन्थ्यो भने त धेरै मानिसले गर्न सक्थे । कठिन छ र त चुनौतीपूर्ण छ । कठिन छ र त रमाइलो छ । यस सोचाइले बिस्तारै काममा एक खालको रुचि र आनन्द अनुभव गराउदै गयो र आज यस रुपमा आइपुगियो ।
मैले सोचेका धेरै कामहरू कुनै न कुनै रूपमा सम्पन्न गर्ने गरेको छु । तर यस पटक यो सोचाइले मूर्तता पाउन नसक्ने जस्तो लाग्यो । मनमा विचार आयो, यसलाई पूर्णता दिन धेरै परिस्थितिजन्य बाध्यताहरू मसँग थिए । पहिलो त मैले सोचेको काम आफैमा कठिन थियो । विषय के रोज्ने त्यो काम सबभन्दा गाह्रो थियो, किनकि शोधकार्य कुनै निबन्ध वा लेख लेखेजस्तो थिएन । अध्ययनविधिको छनौट, अध्ययन सामग्रीहरूको जोहो, त्यसको विश्लेषणका आधारमा नयाँ अवधारणा पत्ता लगाउने विषय आदि आदि…… ।
Advertisement 2
सोच्दा आगामी यात्राक्रम सहज थिएन । यसका साथै शोध निर्देशक तथा विशेषज्ञहरूको छनौट, उहाँहरूलाई आफ्नो कामबाट सन्तुष्ट गराउने कार्य, अनुसन्धान परिषद्का पदाधिकारीहरूलाई विभिन्न चरणमा सन्तुष्ट गराउने कार्य– शोधयात्रा सुरु गर्नुपूर्व मेरा लागि अजङ्ग पहाडहरू नै थिए । घर, पेशा, पारिवारिक र सामाजिक दायित्वका समय व्यवस्थापनका लागि मैले लिने निर्णयले थप अवरोध सिर्जना पक्कै गर्ने नै थियो । यस परिवेशमा बरु काममा हात नहाल्नु नै ठिक, हात हालिसकेपछि बीचमा छोड्नु त्यति राम्रो हुँदैन । छोड्नु पर्दा आफैप्रति र टिमको अगाडि लाज पनि हुन्छ भन्ने डर सँगै थियो । यी यावत् अन्तरद्वन्द्वले यात्रा तय नगर्न मलाई प्रेरित गर्दथे, तर सोचलाई मर्न दिनु हँुदैन भन्ने भावनाले साहस जुटाइदिने काम पनि गर्दथ्यो । अन्ततः सोचलाई मर्न दिनु हुँदैन भन्ने विचारको जित भयो । मैले अगाडि बढ्ने निधो गरेँ ।
अगाडि बढ्ने निधो त गरियो, मसँग त्यो यात्राका लागि कुनै कार्ययोजना थिएन । शोधकार्यका लागि आवश्यक पर्ने सबै चरणका कार्ययोजना एकै पटक बनाउन मेरो सामथ्र्य पनि थिएन । त्यो त्यति सम्भव पनि थिएन । जसरी भर्याङ्ग चढ्दा प्रत्येक सिँढी चढ्दै जानुपर्दछ र एक सिँढी चढिसकेपछि अर्को सिँढीमा टेक्नुपर्दछ, यही सूत्र अपनाउँदै अगाडि बढ्ने निधो गरेँ । यसै सन्दर्भमा अनुसन्धान केन्द्रमा फोन सम्पर्क गरेँ । त्यहाँ प्रशासन शाखामा नगेन्द्रराज रेग्मीज्यूसँग भेट भयो । रेग्मी भए पनि हाम्रो यसपूर्व कुनै भेटघाट तथा चिनजान केही थिएन । अनजान र अपरिचित भए पनि उहाँले पहिलो भेटमै यति उत्प्रेरणा दिनुभयो, जसले मलाई अगाडि बढ्न ठूलो साहस प्राप्त भयो । अनुसन्धान केन्द्रको प्रशासकका रूपमा अति नै सहयोगी अभिभावक मैले पाएँ । विगतमा अपरिचित रहेका हामी रेग्मी–रेग्मी भएकाले दाजुभाइका रूपमा नजिकिने मौका पनि पायौँ । यो कार्यले हामी पूर्वेली र पश्चिमेली रेग्मीबीच एकाकार हुने र आत्मीय स्नेह बाँड्ने अवसर पनि जुटाइदियो । अनुसन्धानको कार्यमा मैले उहाँलाई सदा प्रशासकको भूमिकामा मात्र हेरेँ । उहाँले पनि मलाई शोधार्थीको रूपमै व्यवहार गर्नुभयो, जुन शोधकार्यका लागि आवश्यक अनुशासन पनि हो । यही भएर नै होला, म उहाँको नजरमा अनुशासित शोधार्थी थिएँ ।
Advertisement 3
फेरि लागौं, कामकै प्रसङ्गमा । यति हुँदाहुँदै पनि सुरुमा के विषय छनौट गर्ने अति नै गाह्रो थियो । मैले व्यापार, वाणिज्य, आयात निर्यात व्यवस्थापन, सीमा राजस्व व्यवस्थापन, व्यापार सहजीकरणभित्रका विषयलाई प्राचीन परिवेशसँग जोड्न चाहेको थिएँ । यसका साथै शीर्षकमा कारण र प्रभावबीचको अन्तरसम्बन्ध पनि रहनु पर्दथ्यो । विश्वविद्यालय र आदरणीय विज्ञ महानुभावहरूसँगको पटक पटकको सल्लाह एवम् सुझावबमोजिम नेपालको भन्सार प्रशासनलाई प्राचीन परिवेश, त्यो पनि कौटिल्यकालीन भन्सार प्रशासनसँग सामीप्य खोज्नु ठिक हुने निचोडमा पुगियो ।
शीर्षक छनौटले कामको सुरुवात गर्न सहज त बनायो, तर काममा कठिन खुड्किलाहरू धेरै थिए, तापनि ठूलै विजयको महसुस भयो । अव कठीन खुड्किलाहरू अगाडी आउन थाले । शीर्षक छनौट गरेर मात्र के गर्नु ? दुुईवटा प्रकाशित लेख र एकवटा अप्रकाशित लेख जुटाउनुपर्ने भयो । मैले यसअघि मेरो शीर्षकसँग सम्बन्धित विषयहरूमा धेरै लेख प्रकाशित गरिसकेको थिएँ । मलाई यसको समस्या नपर्ने कुरामा म विश्वस्त थिएँ । पछि बुुझ्दा थाहा भयो, यस्ता लेखहरू त अनुसन्धान विधि प्रयोग गरेर लेखेको हुनुपर्दो रहेछ । मेरो विश्वासले पुनः काम गरेन । अब थालियो, अनुसन्धान विधि प्रयोग गरेर लेख लेख्न र प्रकाशित गर्न । यसबाट विद्यावारिधिको सम्पूर्ण विधि पूरा गर्न समय निकै नै लाग्दो रहेछ भन्ने शिक्षा मिल्यो । यात्रा सुरु भएको थियो, रोकिने कुरा भएन । आत्मविश्वास र दृढतालाई साथी बनाउँदै अघि बढेँ ।
यसपछि दर्ताका आवश्यक प्रक्रिया, शोधप्रस्ताव लेखन, प्रारम्भिक अन्तर्वार्ता, अस्थायी दर्ता, स्थायी दर्ताका प्रक्रियाहरू सम्पन्न भए । यी सबै चरणहरूमा यसअघि जस्तै नयाँ शिक्षा प्राप्त हुँदै गए । यो शिक्षाले थप उत्प्रेरणा, नयाँ अनुुभव र उत्साह दिँदै गयो । काम धेरै सम्पन्न भएजस्तो लाग्यो, तर यो त सुरुवातको प्रारम्भिक चरणमात्र पो रहेछ । गन्तव्य सम्झेर साहसका साथ अगाडि बढ्नुको विकल्प थिएन ।
अबको दायित्व थियो– शोधनिर्देशक र विशेषज्ञहरूको खोजी र त्यसमा अनुसन्धान परिषद्को स्वीकृति । हेर्दा सहजजस्तो देखिए पनि काम सहज थिएन । विषयसँग सम्बन्धित विद्यावारिधि गरिसक्नुभएका विज्ञहरू जोसँग पहुँच, विचार विनिमय र अन्तरक्रियामा सहजता होस्, यो मेरो चाहना थियो । अनुसन्धान केन्द्रको अपेक्षा राजस्व प्रशासनमा विद्यावारिधि गर्नुभएका वा राजस्व प्रशासनमा प्रत्यक्ष रूपमा संलग्न विज्ञहरू हुनुपर्ने रहेको थियो । धेरै नामहरूबारे ंअनुसन्धान केन्द्रसँग छलफल भयो । कतै विज्ञहरूले विद्यावारिधि गर्नुभएको क्षेत्र र मेरो विषयबीच सामञ्जस्य नरहने, कतै समय व्यवस्थापन र सहजताका दृष्टिले मलाई गाह्रो पर्ने । अन्ततः भन्सार विभागका पूर्वमहानिर्देशक डा. मुक्तिनारायण पौडेलले मेरो अनुरोधबमोजिम शोधनिर्देशक बन्न तयार हुनुभयो र अनुसन्धान परिषद्बाट स्वीकृति पनि प्राप्त भयो । दुई जना शोधविशेषज्ञको खोजी त बाँकी नै रह्यो । अनुसन्धान केन्द्रले अपेक्षा गरेबमोजिम राजस्व प्रशासनमा विद्यावारिधि गर्नुभएका विज्ञहरूको खोजी गर्ने काम भयो, एकाध विज्ञज्यूहरूसँग अनुरोध त गरियो, तर उहाँहरूले समय दिन नसक्ने कारणले केही समय सो काम अगाडि बढ्न सकेन । अनुसन्धान केन्द्रको निर्देशनबमोजिम शोध निर्देशकज्यूको निर्देशनमा रही शोधकार्य अगाडि बढाइयो ।
यसै बीचमा शोधनिर्देशकज्यू र अनुसन्धान केन्द्रसँग छलफल गरी पाटन क्याम्पसका तत्कालीन सहप्राध्यापक (हाल प्राध्यापक तथा विभागीय प्रमुख अर्थशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय) डा. शिवराज अधिकारी उपयुक्त विज्ञ भएकोले उहाँलाई अनुरोध गर्ने सहमति भएबमोजिम शोधकार्यलाई सफल र राम्रो बनाउन शोधकर्ताले पालन गर्नुपर्ने संहितासमेत दिई मेरो अनुरोधलाई सहर्ष स्वीकार गर्नुभयो । उहाँले दिनुभएको साहसले यात्रालाई थप सहज बनाइदियो । साथसाथै अर्को विशेषज्ञमा पाटन क्याम्पसका तत्कालीन सहप्राध्यापक (हाल प्राध्यापक तथा विभागीय प्रमुख, अर्थशास्त्र विभाग, पाटन क्याम्पस, त्रिभुवन विश्वविद्यालय) डा. विष्णुप्रसाद शर्मालाई राख्न उपयुक्त हुने सुझाव प्राप्त भयो । यसमा अनुसन्धान परिषद्बाट स्वीकृति प्राप्त भयो । यो मेरा लागि अर्को उमङ्गको दिन रहेको थियो । यो उमङ्गसँगै अब कामको सुरुवात र यात्राका थप कठिन दिनहरू पनि सुरु हुन थाले । किनकि अनुसन्धानको वास्तविक यात्रा अब सुरु भएको थियो । कामको गतिले उत्साहित बनाउँथ्यो भने बेलाबखत अनुसन्धानलाई थप परिष्कृत बनाउने क्रममा आउने एकाध अवरोधहरूसँगै नैराश्य पनि आउँथ्यो । यी तनाव र नैराश्य कहिले घरपरिवार कहिले मन मिल्दो साथीलाई सुनायो सवैवाट सद्भाव प्राप्त हुनु स्वभाविकै थियो तर समाधान त आफैले खोज्नुको विकल्प थिएन । सुनेको थिएँ केहीले मिडप्याक पनि गर्नुहँुदो रहेछ । कतै आफू पनि सोही कित्तामा पो पुगिने हो कि भन्ने डर पनि लाग्ने गर्दथ्यो । यसैले मिडप्याक गर्न पनि मन लागेन । अन्ततः हिजो अनावश्यक वा बोझ ठानेको काम पछि फत्ते हुँदा धेरै खुसी लाग्दथ्यो । जे भए पनि थाक्नु हुँदो रहेनछ एकदिन गन्तव्यमा पुगिने नै रहेछ ।
पूर्वीय सन्दर्भको कौटिलीय अर्थशास्त्रलाई आधुनिक भन्सार प्रशासनसँग जोडेर गरिएको यो शोधकार्यमा अध्ययन सामग्रीको उपलब्धता त्यति सहज थिएन । सामग्रीको उपलब्धता विना एकातर्फ पूर्व कार्यहरुको पुनरावलोकन संभव थिएन अर्को तर्फ पुरै अनुसन्धान प्रक्रिया अधुरो रहन्थ्यो । कौटिल्यसँग जोडेर लेखिएका एकाध सामग्रीहरु उपलब्ध हुन्थे तर मैले खोजे अनुरुपको सामग्री पाउन अति नै गाह्रो थियो । प्राचीन समयका सामग्रीहरु पाउन गाह्रो त भयो नै नेपालको भन्सार प्रशासनसँग सम्बन्धित विषयमा पनि त्यति बढी अनुसन्धान भएको, सामग्रीहरु प्रकाशन भएको देखिएन । पाठ्यसामग्री बिना अनुसन्धान अगाडि बढ्न सक्दैनथ्यो यसैले प्रकाशित सामग्री र दस्ताबेजहरुको खोजीमा रामै्र समय ब्यतीत भयो । नयाँ जुनसुकै पुस्तक देखे पनि मलाई मिल्ने कुरा केही छ कि भन्ने जिज्ञासा उत्पन्न हुने गर्दथ्यो । मोटो किताबका केही पाना वा लाइन आफूलाई मिल्न जाँदा पनि खुशी भइन्थ्यो । खोज्दै जाँदा यस्ता सामग्रीहरु पनि क्रमशः उपलब्ध हँुदै गए । धैर्यता कायम राख्दै प्रयास गरिरहनु पर्ने शिक्षा प्राप्त भयो । प्रश्नावलीको तयारी, प्रश्नावलीको प्रयोग परीक्षण, उत्तरदाताहरुको समय व्यवस्थापन र उत्तर दिने तत्परता आदि कार्य पनि असहजता वीच सहजता कायम गर्दै जानु पर्ने विषय रह्यो । उत्तरदाताहरु वाट प्राप्त उत्तरहरुको ट्यावुलेसन र विश्लेषणमा ध्यान दिनु पर्ने जस्ता पक्षहरुले पनि धेरै समय लिनु स्वभाविकै थियो ।
यो क्षणमा आइपुग्दा अहिलेसम्म गरेका कार्यहरूमा तीनै जना विज्ञहरूमा एकरूपता कायम गर्ने, भएका कमी कमजोरीहरूलाई सुधार गर्ने, शोधलाई राम्रो बनाउन प्रयत्नशील रहने, तीनै जना विज्ञ र शोधार्थीहरूका बीचमा नियमित भेट र सामूहिक छलफल गर्ने र साझा अवधारणा बनाउने सहमति बन्यो । मेरा लागि यो एउटा महत्त्वपूर्ण सुझाव रह्यो । यो सहमति नै मेरो शोधकार्यलाई समयबद्धरूपमा सम्पन्न गर्नमा सहायकसिद्ध बन्यो । अरू सहकर्मीहरूलाई बुझ्दा के थाहा भयो भने शोधार्थीले तीन जना विज्ञहरूलाई एक्लाएक्लै भेट्दा बढी समय व्यतीत हुने र साझा धारणा बनाउन गाह्रो हुने गरेको रहेछ ।
शोध निर्देशक र शोध विशेषज्ञहरूसँगको नियमित भौतिक र भर्चुअल अन्तरक्रियाको कारणले मैले सुरु गरेको शोधकार्यले अब थप परिष्कार पाउन थाल्यो । उहाँहरूको निर्देशनले विषय विश्लेषण गर्न सूचकहरूको चयन, अध्ययनविधिको चयन, विश्लेषण र निष्कर्ष पहिचानमा मलाई धेरै नै सहयोग पुग्न गयो । विभिन्न चरणका भाइभामा आफ्नो प्रस्तुति र उपस्थितिलाई उहाँहरूको निरन्तर सुझाव र निर्देशनले प्रभावकारी बनाउन सजिलो बनायो र अन्ततः विद्यावारिधि उपाधिको लागि योग्य बनायो । मेरो शोधपत्र तयार गर्ने क्रममा उहाँहरूको अभिभावकीय भूमिकाले मलाई प्रस्तुत विषयवस्तु, यसका अन्तरसम्बन्धहरू र विभिन्न कोणबाट उठाइने प्रश्नको उत्तर दिन आत्मविश्वासले युक्त बनाइदियो । आफ्नो काम प्रति आफैले आफूलाई प्रश्न गर्ने तथा प्रश्न अनुत्तरित रहे सुधारका लागि आफैलाई पुनः सामयिक अनुकुलन हुन सक्ने बनाइदियो । प्रविधि परीक्षण वाट आएका सुुझावको ग्रहण र बाह्य मूल्यांकनकर्ताहरुको टिप्पणीको सम्बोधनले स्वतः अनुसन्धानको प्रक्रियामा पुन हालसम्म गरेका कार्यको सिंहावलोकन गर्दै शोध प्रबन्धमा समायोजन गर्ने कार्यले थप आत्मविश्वास बढाउने काम गर्यो ।
अनुसन्धानको क्रममा आउो कठिन परिवेश कहिले असहजजस्तो, कहिले अनावश्यक जस्तो, कहिले समयको व्यवस्थापनमा गाह्रोजस्तो महसुस भएको यथार्थलाई यहाँ लुकाइराख्नु उचित लागेन । तथापि अहिले आएर के लागेको छ भने जसरी बिरामी हँुदा खाइने औषधी तीतो नै हुन्छ, त्यसले अन्ततः स्वास्थ्य सुधार गर्दछ । मैले अनुभूत गरेका ती क्षणहरू तीतो औषधी मात्र रहेनछन्, ती त सञ्जीवनी रहेनछन् , ती ममा आत्मविश्वास भरिदिने प्राणवायु रहेछन् । आगोको ताप सहेको हीरा नै असली बन्न सक्दछ, मूर्तिकारको सयौं चोट सहेको मूर्ति नै आकर्षक बन्न सक्दछ, पीडा सहन नसक्नेहरु शायद सफलताको सवै सिँढीको यात्रा सम्पन्न गर्न सक्दैनन्, पीडा बिना कठिन यात्रा संभव छैन जस्ता उदाहरणहरुको स्मरणले एकातर्फ आत्मविश्वास बढ्दै गयो अर्को तर्फ यिनै कठिन परिवेशमा सहज यात्राक्रममा आउन सक्ने विविध अवरोध तथा साँघुराहरूबीच सहजता प्राप्त गर्ने उहाँहरूबाट प्राप्त विधि र सुझावले मेरो शोधको यात्रामा थकान महसुस गर्न दिएन । हरक्षण ऊर्जा, उत्साह र सकारात्मक बन्न अभिप्रेरित गरिरह्यो ।
विद्यावारिधि उपाधि प्राप्त गरिसकेपछि केही आत्मीय मित्रहरुबाट मेरो शोध प्रबन्धलाई पुस्तकको पनि रुप दिन उपयुक्त हुने सुझाव प्राप्त भएको, अनुसन्धान केन्द्रमा यस विषय संग सम्बद्ध शोधकर्ताहरुले यस शोधपत्रको खोजी गरिरहेको सन्दर्भमा यसको पहुँचलाई विस्तार गर्ने उद्देश्यका साथ यसलाई यस आकारमा यहाँहरूसमक्ष प्रस्तुत गर्ने जमर्को गरेको छु । निरन्तरको सकारात्मक र इमान्दारीपूर्ण प्रयासबाट सार्थक परिणाम निस्कन्छ भन्ने अनुभवलाई सवैसँग बाँंड्ने सन्दर्भमा पनि कौटिल्यको आलोकमा नेपालको भन्सार पुस्तक प्रकाशन हुन पुगेको हो । यस पुस्तकको अध्ययनले यसै प्रकृतिका वा अन्य कुनै विषयहरूमा शोधकार्यमा संलग्न हुनु भएका महानुभावहरूलाई कुनै न कुनै रूपमा सहयोग गर्नेछ भन्ने विश्वास लिएको छु ।
भन्सार प्रशासनमा नयाँ खोज र नवीन बहस
प्रा.डा. सुधनकुमार पौडेल
दामोदर रेग्मीज्यूसँग मेरो गहिरो चिनाजानी भएको झन्डै डेढ वर्ष भयो । नेसंवि अनुसन्धान केन्द्रमा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेपछि स्वाभाविक रूपमै शोधार्थीहरूसँग भेटघाट, अन्तःक्रिया र घुलमिल भैहाल्छ । दामोदर रेग्मीले नेसंवि अनुसन्धान केन्द्रबाट विद्यावारिधि गर्दै हुनुहुन्थ्यो र उहाँको शोधशीर्षक थियो– कौटिल्यकालीन भन्सार प्रशासनका सन्दर्भमा नेपालमा भन्सार प्रशासन सुधारको प्रभावकारिता । मूलतः अर्थशास्त्री उहाँ निजामती प्रशासनको माथिल्लो तहमा रहनुभएको कुरा घुलमिल हुँदै जाँदा थाहा भयो । सरल र विनयी स्वभाव, व्यावहारिक अनि मिलनसार प्रवृत्ति साथै केही गरौँ भन्ने जाँगर र उत्सुकता दामोदर रेग्मीको व्यक्तित्वका अनुकरणीय विशेषता हुन् ।
उहाँको प्राथमिक शिक्षा पाल्पा तानसेनबाट प्रारम्भ भएको हो । उहाँले गणित र विज्ञान विषयसहित माध्यमिक तहको शिक्षा सेन माध्यमिक विद्यालय तानसेन पाल्पाबाट पूरा गर्नुभयो भने प्रवीणता प्रमाणपत्र तह चाहिँ त्रिविअन्तर्गतको पश्चिम नेपालकै प्रसिद्ध क्याम्पस मानिने त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट उत्तीर्ण गर्नुभयो । उहाँको स्नातकस्तरीय अध्ययन त्रिभुवन विश्वविद्यालयअन्तर्गतको रत्नराज्यलक्ष्मी क्याम्पस काठमाडौँबाट पूरा भयो । यसपछि उहाँले सार्वजनिक प्रशासन विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गर्नुका साथै छिन्ह्वा विश्वविद्यालय बेइजिङ अन्तर्गतको सार्वजनिक नीति तथा व्यवस्थापन संकायबाट सार्वजनिक प्रशासनमै अन्तर्राष्ट्रिय स्तरको स्नातकोत्तर उपाधि पनि प्राप्त गर्नुभयो । उहाँले विश्व व्यापार सङ्गठन जेनेभा स्विटजरल्यान्डले सञ्चालन गरेको बहुपक्षीय व्यापार प्रणालीसम्बन्धी विद्युतीय पद्धतिमा आधारित डिप्लोमा स्तरको पाठ्यक्रम र विश्व व्यापार सङ्गठनकै व्यापार नीतिमा डिप्लोमा पाठ्यक्रम पनि पूरा गर्नुभएको छ ।
भारतको अन्नमलाई विश्वविद्यालयबाट मूल्य शिक्षा र आध्यात्मिकता विषयमा एमएस्सी उत्तीर्ण गरेकोले पनि होला, उहाँमा आध्यात्मिक मूल्यको समेत उल्लेख्य प्रभाव देख्छु म । हाल सरकारी सेवाको उच्च पद नेपाल सरकारको सचिव पदमा कार्यरत हुनुहुन्छ ।
प्रस्तुत शोधप्रबन्ध सातवटा अध्यायमा विभक्त छ । यसको पहिलो अध्यायमा भन्सार प्रशासन र कौटिलीय अर्थशास्त्रको परिचय दिइएको छ । दोस्रो अध्यायमा पूर्वकार्यको समीक्षा अर्थात् यस शोधसँग सम्बन्धित पूर्वाध्ययनहरूको विमर्श प्रस्तुत गरिएको छ । तेस्रो अध्यायमा शोधविधि रहेको छ भने अध्याय चारमा कौटिल्यकालीन र नेपालको वर्तमान भन्सार प्रशासनका अवधारणाहरू बीचको सामञ्जस्यको चर्चा छ । यसैगरी अध्याय पाँचमा कौटिल्यकालीन भन्सार अवधारणाहरूको नेपालको भन्सार सुधारका विधि र प्रक्रियाहरूसँग रहेको सामञ्जस्यको चर्चा छ । अध्याय छमा नेपालको भन्सार सुधारको प्रभावकारिताको वर्तमान अवस्थाको समीक्षा गरिएको छ भने अध्याय सातमा सारांश, निष्कर्ष र सुझावहरू प्रस्तुत गरिएका छन् । यसरी यो शोधप्रबन्धले कौटिल्यकालीन भन्सार प्रशासन र वर्तमान भन्सार प्रशासनबीचका समानता र भिन्नताको चर्चा गर्छ । यो शोधप्रबन्धले कौटिल्य र उनको भन्सार प्रशासनको अवधारणाको पूर्णतः शल्यक्रिया गरेको म ठान्दछु । मलाई खुसी लागिरहेको छ, अब यो शोधप्रबन्ध अनुसन्धान केन्द्रको दराज वा पुस्तकालयको सोकेसमा मात्र सजिने वस्तु रहेन । यो अब आम पाठकको हातमा पुग्नेछ र यसले एउटा नयाँ बौद्धिक बहसको प्रारम्भ गर्नेछ । भन्नु नपर्ला, पूर्वीय सन्दर्भको कौटिलीय अर्थशास्त्रलाई आधुनिक भन्सार प्रशासनसँग जोडेर गरिएको यो शोधकार्य आफैमा नवीन खोजी हो । यसरी दामोदर रेग्मीले एउटा नवीन विषयलाई बहसमा ल्याइदिनुभएको छ । नेसंवि अनुसन्धान केन्द्र उहाँको यो सत्प्रयासप्रति गौरवान्वित छ । उहाँको यो कार्य नेसंवि अनुसन्धान केन्द्रबाट भएका केही उल्लेख्य शोधभित्रै गणना हुन्छ ।।
दृढता, आत्मविश्वास र सिक्ने भोकको सकारात्मक प्रतिफल
प्रा.डा. शिवराज अधिकारी
दामोदर रेग्मी र मेरो चिनजान लामो समयदेखिको हो । उहाँले भन्सार प्रशासनसँग सम्बन्धित विषयमा विद्यावारिधि गर्ने क्रममा हाम्रो पातलिएको भेटघाट नियमिततामा रूपान्तरण भयो । ‘कौटिल्यकालीन भन्सार प्रशासनका सन्दर्भमा नेपालमा भन्सार प्रशासन सुधारको प्रभावकारिता’ शीर्षकको विद्यावारिधि उपाधिको शोधकार्यका लागि म उहाँको शोध विशेषज्ञसमेत बन्न पुुगेँ । म उहाँको शोधविशेषज्ञ बन्न त पुुगेँ, तर उहाँ निजामती सेवामा कार्यरत व्यक्ति शोधकार्यका लागि पर्याप्त समय दिन नसक्नुहोला या अनुसन्धान विधिको परिपालनामा समस्या आउला कि भन्ने मेरो चिन्ताको विषय थियो । शोधार्थीलाई गन्तव्यसम्म पु¥याउने दायित्व शोधविशेषज्ञको पनि रहन्छ, यसर्थ मैले यो चिन्ता लिनु सायद जायज पनि थियो । उहाँले पनि आफ्ना समस्या र आफूले गरेका कार्यहरूका साथै परेका समस्याहरू यथार्थ रूपमा बताउनु भयो । यस्तै भलाकुसारीका बीच हामीले शोधकार्यको अवधिभर साथीत्वलाई यथावत् राख्ने र शोधार्थी एवम् शोधविशेषज्ञबीचको सम्बन्धलाई कसिलो बनाउन शोधनियम र विधिको पालना गर्नेबारेमा सहमति जनायौँ । काम अगाडि बढ्दै गयो । शोधनिर्देशक, विशेषज्ञहरू र शोधार्थीको सामूहिक भेट र सो भेटमा साझा अवधारणा तयार गर्ने रणनीतिअनुरूप अगाडि बढ्दै गइयो । उहाँले पनि समूहमा भएका छलफलले तय गरेका विषयमा आफूले गर्ने कार्यहरू गर्दै जानुहुन्थ्यो । शोधार्थीको आम चरित्रअनुसार छिटो काम सम्पन्न गर्ने चाहना उहाँमा कहिलेकाहीँ आउने गर्दथ्यो । ढिलो भयो वा कामको भार बढ्यो भन्ने भाव यदाकदा देखिन्थ्यो तर छलफलपछि सहमतिमा आइहाल्ने र तदनुरूप कार्यमा रूपान्तरण गर्ने उहाँको विशेषता थियो जो आफैमा अनुकरणीय पनि छ । हामीबीच समूूह र आवश्यकताअनुसार एक्लाएक्लै हुने भेटको निरन्तरतापछि उहाँमा वृद्धि भएको आत्मविश्वास, बुझाइ र तत्परताबाट मैले पनि सुखद अनुभूति प्राप्त गर्दथेँ । केही समयपछि तलमाथि हुने वक्ररेखाहरू सरल हँुदै उँभो लाग्न थाले । फोनबाटै पनि कार्यहरू अगाडि बढ्न थाले । दृढता, आत्मविश्वास र सिक्ने भोकले गर्दा आफ्ना कार्यक्षेत्रगत प्रतिकूलता र सीमितता हुँदाहुँदै पनि उहाँले आफ्नो शोधकार्यमा क्षमताको प्रयोगमा न्याय गर्नुभएको छ । कौटिल्यकाल र विद्यमान अवस्था बीचको प्रतितथ्यात्मक अवस्था कसरी सिर्जना गर्ने भन्नेबारेमा निकै ठूलो योगदान दिनु भएको छ । यसै कारण उहाँको शोधप्रबन्ध विद्यावारिधि उपाधिका लागि ग्राह्य त बन्यो नै, यसका साथै यस अध्ययन क्षेत्रमा एउटा दर्बिलो इट्टा थप्नु भएकोमा धन्यवादको पात्र हुनुहुन्छ । आगामी शोधार्थीहरूका लागि पनि उहाँको यो शोधकार्य मार्गदर्शक बन्न पुगेको छ । उहाँले आफ्नो शोधप्रबन्धलाई पुस्तकको रूप दिने जुन काम गर्नुभएको छ, त्यो आफैमा सराहनीय र स्वागतयोग्य कार्य हो । यसले शोधविधि, ज्ञान र अध्ययनको निष्कर्षलाई विस्तार गर्दछ ।
(पुस्तकको सम्पादित अंश )