यी हुन हजारमा तलब थापेर करोडौं बनाउने ५३ सरकारी कर्मचारी
भनिएको छ स्थिर सरकार तर ध्याउन्न छ आर्थिक उर्पाजनमा । हिसाब किताब र बाँडफाँड नमिल्दा हरेक बर्षजस्तो सयौं कर्मचारी अख्तियारको फन्दामा पर्न थालेका छन् ।
अघिल्लो बर्षमात्र ५३ जना कर्मचारी अख्तियारको फन्दामा परे । उनीहरुमाथि अकुत आर्जनको चार्ज लगाउँदै अख्तियारले बिशेष अदालतमा मुद्धा हालेको छ । यी ५३ कर्मचारीले मात्र आर्जन गरेको भनिएको एक अर्ब ९ करोड ६१ लाख ९४ हजार बराबरको रकमको स्रोत देखाउन सकेनन् अर्थात त्यो भ्रष्टाचारबाट आर्जन गरे । अख्तियारले यस पटक तीन जना मन्त्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बर्षभरमा ४४१ मुद्दा दायर भएकोमा १ हजार २१२ जना प्रतिवादी बनाएर २ अर्ब ५३ करोड ६५ लाख ९८ हजार २६८ रुपैयाँ बिगो मागदाबी गरेको अख्तियारले जनाएको छ । यस्तै,९ विशिष्ट श्रेणीका कर्मचारी, ३५५ अधिकृत कर्मचारी, ४४० सहायकरसहयोगी कर्मचारी, ७० निर्वाचितरमनोनित पदाधिकारी र ३३५ मतियार र बिचौलियालाई फन्दामा परेका छन् । स्टिग अप्रेसनको नाममा १ सय ८१ वटा घुससहित रङ्गेहात कारवाहीमा २७७ जनालाई पक्राउ गरिएकोमा विशिष्ट श्रेणीदेखि सहायक स्तरसम्मका २०८ जना कर्मचारी, १४ जना निर्वाचित र मनोनित पदाधिकारी तथा ५५ जना बिचौलिया र मतियार रहेका छन् ।
कर्मचारीमध्ये गतबर्ष सबै भन्दा धेरै गैरकानूनी सम्पत्ति आर्जन गर्नेमा अधिकृत ऋषिराम अर्याल रहेका छन् । उनी टोखा नगरपालिकाको कार्यकारी अधिकृत हुँदा अख्तियारले छानविन गरी अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।उनले अनुसन्धान अवधिसम्म १७ करोड ८३ लाख ४१ हजार रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरिसकेका थिए । गैरकानूनी सम्पत्ति आर्जन गर्ने ५३ जनामध्ये बाँकी कर्मचारीका श्रीमती, सालासाली, जेठान लगायतका आफन्त हुन् ।उनीहरुको सम्पत्ति छानविन हुँदा आफन्तको नाममा सम्पत्ति लुकाएको भेटिएको थियो । उनीहरु सहित गैरकानूनी सम्पत्ति आर्जन गर्नेको संख्या ५३ पुगेको हो ।
यसरी अकुत आर्जन गर्नेहरुमा कारागार कार्यलयका जेलर चिरञ्जिवी थापासँग १ करोड १३ लाख ६० हजार रुपैयाँ रहेको भेटिएको छ भने नासु मदन प्रसाद गुप्तासँग १४ करोड ८१ लाख ८९ हजार रुपैयाँ भेटिएको अख्तियारको प्रतिवेदनमा उल्लेख छ । यस्तै तातोपानीका भन्सार प्रमुख कृष्णबहादुर बस्नेतसँग एक करोड ५ लाख ६९ हजार अकुत आर्जन भेटिएको छ । उपसचिव बस्नेतले जेठान नवीन कुमार गौलीको नाममा समेत ९ करोड २१ लाख ५२ हजार रुपैयाँ राखेको भेटिएपछि उनीमाथि समेत अनुसन्धानको सुँई सोझिएको थियो । यस्तै अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुङ्गानासँग चार करोड ६८ लाख ४८ हजार रुपैयाँ अकुत आर्जन भेटिएको प्रतिवेदनमा उल्लेख छ । चाबिहल मालपोतको जागिरे राजेन्द्र बस्नेत ८ करोड ९८ लाख ५८ हजार रुपैँया अकुत आर्जन पछि हिरासत पुगे ।
Advertisement 1
यस्तै सिडिइ जितेन्द्रकुमार चौधरीले ३ करोड ९९ लाख ४४ हजार रुपैयाँको स्रोत देखाउन सकेनन् । विमानस्थल भन्सारका राजकुमार ढकाल २ करोड २ हजार रुपैयाँको स्रोत देखाउन नसक्दा फन्दामा परे । अघिल्लो बर्ष अकुत आर्जनमा डामिएकामध्ये ऋषिराम अर्याल प्रमुख हुन् उनीसँग १७ करोड सम्पत्ति अवैद्य भेटियो । यस्तै ललितपुर मालपोतका बद्रीराज ढकालसँग १० करोड २७ लाख ५८ हजार रुपैयाँ,काँग्रेस निकट दुर्गा फुँयालका सारथी राजेन्द्र काफ्लेसँग ५ करोड ४३ लाख २७ हजार अकुत सम्पत्ति भेटिएको अख्तियारको प्रतिवेदनमा उल्लेख छ । मालपोतको लेखापाल युगल किशोर ठाकुर ३ करोड ४ लाख ९४ हजार रुपैयाँको स्रोत देखाउन नसक्दा प्रहरीको चिसो सिढिमा पुगेका छन् । यस्तै संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका हाकिम राजकुमार शाक्य १० करोड ७७ लाख ५० हजार सम्पत्तिको स्रोत देखाउन नसक्दा फन्दामा छन् । विद्युत प्राधिकरणका टहलबहादुर कार्की १ करोड ९ लाख ८७ हजार ६ सय ५८ रुपैयाँ सम्पत्तिको श्रोत देखाउन सकिरहेका छैनन् । सडकका इञ्जिनियर भरतराज आचार्य ३ करोड २१ लख ६२ हजारको स्रोत देखाउन नसक्दा विशेष अदालतमा मुद्धा खेप्दैछन् । उस्तै अर्को इञ्जिनियर चन्द्र नारायण यादवको हाल छ उनले पनि एक करोड ८५ लाख ११ हजार भ्रष्टाचार गरी आर्जन गरेका छन् अर्को सि डि ई पूर्ण प्र उपाध्याय ३ करोड १० लाख २७ हजार रुपैयाँ अकुत आर्जन गरेको अख्तियारको चार्ज छ । यस्तै २ करोड २५ लाख सम्पत्तिको स्रोत खुलाउन नसक्दा जितेन्द्रराज शाक्य फन्दामा परेका छन् ।
तर नेपालको अदालतको संरचना यस्तो छ कि करोडौं आर्जनको अभियोग लागेका कर्मचारीहरु पनि केही लाख तिरेर निस्कन पाउने,सफाई पाए लगतै सचिव बढूवा हुने । जस्तो यस अघि यस्तै चार्ज लागेका कर्मचारी हुन् चन्द्रमान श्रेष्ठ । उनी जीवनभर मालदार ठाउँमा बसे । करोडौ कमाए । अख्तियारले सम्पत्ति खोज्दा अर्कोको श्रीमतीको नाममा समेत सम्पत्ति राखेको पाइयो तर तिनै कर्मचारीले विशेषबाट सफाई पाए । सफाई पाएको एक साता नबित्दै सचिव बढूवा भए । अहिले प्रमुख सचिव बनेर प्रदेशतिर खटिएका छन् । जेठमा अनिवार्य अवकाश पाउँदैछन ।