बुद्ध धर्म र प्राणी अधिकार

विज्ञान र प्रविधिको विकासले मानिसलाई भौतिक रुपले शक्तिशाली बनाएको छ । यसको सहयोगबाट प्रकृतिलाई नियन्त्रण, दोहन र विनाश गरिरहेको छ । प्रविधिको विकासले मानिस स्वार्थ केन्द्रित बन्दै गएको छ । प्राणीमाथिको दयाभाव, करुणा र ममता कम हुँदै गएको छ । आफूले भौतिक सुख प्राप्ति गर्न प्राणीहरुलाई दुःख दिने काम भइरहेको छ । आज करोडौं जनावरहरु बधशालामा काटिने गर्दछन् । देवीदेवताको मन्दिरमा बलि चढाइन्छन् । प्रयोगशालामा गरिने परीक्षणहरुको चपेटामा परेर अनाहक दुःख कष्ट पाइरहेका छन् । केमिकलहरु, औषधिहरु, विकिरणहरु, मेसिनहरु र विषादीहरुको प्रभावको परीक्षण गर्न हरेक पल जनावरहरुको प्रयोग गरिएको हुन्छ ।
विज्ञानले त खोज अनुसन्धान र अध्ययनलाई अगाडि बढाउने भएकोले जीवजन्तुको पीडा र दुःखको वास्ता गर्र्दैन । तर बौद्ध शिक्षाले संसारमा जतिपनि जीवहरु छन्, ती सबैको जगेर्ना गर्ने, उनीहरुमाथि दयाभावले व्यवहार गर्ने भन्छ । सबै प्राणीहरु र वनस्पतिहरु आ–आफ्नो खालको महत्व लिएर आएका छन् । यिनीहरुको आपसमा अन्योन्याश्रित सम्बन्ध हुन्छ । यो सृष्टिमा पैदा भएका सबै जीवजन्तु, वनस्पति र जीवाणु सबै उपयोगी छन् । त्यसैले सबैको संरक्षण गरौं । सबैलाई दयाभावले हेरौं । कुनै जीवलाई पनि दुःख नदिऊँ । कसैको हिंसाा नगरौं भन्दछ ।
Advertisement 1
बौद्ध ग्रन्थहरुमा कुनै पनि जीवलाई दुःख दिने, मार्ने कार्य गर्नुुहुन्न भनी उल्लेख गरिएको छ । अर्को महत्वपूर्ण कुरा के हो भने बुद्ध धर्मालम्वीहरु जनावरहरु केवल बलवान मात्र हुँदैनन् केही हदसम्म बुद्धिवान पनि हुन्छन् भनी विश्वास गर्दछन् । कुनैकुनै जनावरमा त केही कुरामा मानिसहरुको भन्दा धेरै क्षमता रहेको हुन्छ । कुकुरको सुँघ्ने क्षमता, चीलको उड्ने क्षमता, कमिला र भ्यागुताहरुको मौसम पूर्वानुमान गर्ने क्षमता धेरै हुन्छ । हात्तीको सम्झने शक्ति धेरै हुन्छ । बुद्ध धर्मको जातक कथाहरुमा उल्लेख भएअनुसार बुद्धले कहिले हात्तीको, कहिले बाघ, कहिले मृग आदिको अवतार लिएको विश्वास गरिन्छ । र अरु मानिसहरुले पनि त्यसैगरी जन्म लिन्छन् भन्ने मान्यता छ । त्यसैले जनावर भनेका हाम्रा पुर्खाहरु या सम्बन्धित हुन् भन्ने ठानेर स्नेह गर्नुपर्छ भन्ने मान्यता छ ।
झण्डै २६०० वर्ष पहिले स्थापना भएको धर्म भए तापनि प्राणीहरुको संरक्षणमा यसले पु¥याएको योगदान हेर्दा अरु धर्मको दाँजोमा बुद्ध धर्म अग्रस्थानमा छ । यो धर्मको हरेक पक्षलाई केलाएर हेर्दा सबै प्राणीको अधिकारमैत्री छन् । यो धर्मको विकास हुँदा आधुनिक विज्ञान र सामाजिक शास्त्रको विकास भएको थिएन । तर पनि यो धर्मले दिने शिक्षा आधुनिक मानवशास्त्रले दिने शिक्षाभन्दा कत्तिपनि कम देखिन्न । धेरै पहिले रचिएको ग्रन्थ भए तापनि यसको सान्दर्भिकता अहिले पनि उत्तिकै छ । बुद्ध धर्मका अनुयायीहरुलाई के कुराको अभ्यास गराइन्छ भने सबै प्राणीहरुको महत्व छ । सबैलाई संरक्षण गर्नु पर्छ । एउटा जीवले अर्को जीवलाई सहयोग पु¥याइरहेको हुन्छ । कुनैको अस्तित्व समाप्त भयो भने अर्कोलाई असर पुग्दछ । जीवहरु चाहे ती साना हुन् या ठूला सबैको उत्तिकै महत्व छ । सबै जीवको संरक्षण गर्नु हाम्रो कर्तव्य हो भनी सिकाइन्छ ।
बुद्ध धर्मको अभ्यासले मानिसलाई वास्तविकता र तत्थ्यतर्फ डो¥याउँछ । असल नीति, ज्ञान र ध्यानको गहिरो अभ्यासले मानिसमा चेतना, ज्ञान, दया र करुणाको विकास गरी मानिसको व्यवहारमा परिवर्तन गराइदिन्छ । जब हरेक मानिसको व्यवहार सुन्दर बन्छ, त्यसको प्रभावले वरपरको वातावरण पनि सुन्दर र हरेक जीवहरुलाई भयमुक्त बनाइदिन्छ । बौद्ध गुम्बाहरुमा लेखिएका चित्रहरुलाई हेर्दा पनि के पाइन्छ भने बुद्धको वरपर जनावरहरु आएर निर्भयसँग आराम गरिरहेको देखाइएको छ । यी चित्रहरुले जीवजन्तु हाम्रा मित्र हुन्, यी सबैको संरक्षण गर्ने दायित्व चेतनशील मानवजातिको नै हो भन्ने सन्देश दिएको देखिन्छ ।
Advertisement 2
जिउँदो छँदा नै बुद्धले आफ्ना शिष्यहरुलाई वरपरको वातावरण शुद्ध राख्न, नदीनालाहरुलाई प्रदूषणमुक्त बनाउन र प्राणीहरुको रक्षा गर्न शिक्षा दिएका कुराहरु विभिन्न ग्रन्थहरुमा लेखिएका छन् । उनले आफ्नो जीवनकालमा धेरै घायल जीवहरुको उद्धार गरेका कहानीहरु पनि सुन्न पाइन्छ । बुद्धकै ज्ञान र सन्देशको प्रभावले गर्दा अहिले पनि बुद्ध गुम्बाहरुको वरपर जंगलहरुको संरक्षण गरेर जीवजन्तुको लागि भयमुक्त वातावरण बनाइएको पाइन्छ । त्यहाँ जीव हिंसामा प्रतिबन्ध लगाइएको पाइन्छ ।
बुद्धले आफ्नो जीवनकालमा नै आफ्ना शिष्यहरु तथा भिक्षुभिक्षुणीहरुका लागि नीतिनियम र अनुशासनका कुराहरु सिकाएका थिए, जुन नीतिनियमले प्राणीहरुको संरक्षणमा सहयोग गरेको देखिन्छ । बौद्धग्रन्थ सुत्ता पिटकमा सहस्र जीवहरुलाई आश्रय दिने रुखहरुको हाँगा काटे मात्र पनि अपराध हो भनेर लेखिएको छ । त्यसैले हुनुपर्छ, बौद्ध गुम्बा वरपर जहाँपनि वृक्षारोपण गरी वनवनेलीको संरक्षण गरिएको पाइन्छ । पहिलेपहिले बुद्धका अनुयायीहरुले अज्ञानी मानिसहरुले पक्रेका जनावरहरुलाई मुक्त गराउँथे । मुक्त गरिएका जनावरहरुलाई आश्रय स्थल बनाई संरक्षण गर्दथे । आफूहरु त शाकाहारी हुन्थे नै अरुलाई पनि शाकाहारी बन्न र प्राणी हत्या नगर्न सन्देश दिने गर्दथे ।
Advertisement 3
मांस भक्षणले धेरै प्राणीहरुको हत्या हिंसा बढाउने गर्छ । माहायान ग्रन्थ अनुसार बुद्धले आफ्ना अनुयायीहरुलाई मासु नखान कडाइका साथ निर्देश गरेको उल्लेख छ । लंकावतार सुत्र अनुसार बुद्धले ‘मैले मासु खान कसैलाई अनुमति दिएको छैन, दिन्नँ र दिने पनि छैन’ भनी प्रस्ट उल्लेख गरेको छ । यसमा उनले कारण पनि बताएका छन् कि जसले मांस सेवन गर्दैन उसले जीवको जीवन पनि नष्ट गर्दैन । लोकप्रिय बौद्ध धम्मपथका अनुसार कुनै पनि जीव खतरादेखि डराउँछ । मर्न सबैलाई डर लाग्छ जीवन सबैलाई प्रिय लाग्छ भन्ने सोच्यौं भने तिमीले प्राणीहरुको हत्या गर्ने छैनौ भनिएको छ । बुद्धको शिक्षामा प्रस्ट छ कि हामीले जस्तै सबै प्राणीले आवश्यक प्राकृतिक तत्वहरु ग्रहण गर्ने हुन् । उनीहरुलाई हामीभन्दा अलग वर्गका मान्नु राम्रो हैन । सबै प्राणीमाथि दया र करुणा गर्नुपर्दछ भन्ने छ ।
कतिपय बुद्ध धर्मावलम्वीहरुले अहिले पनि बुद्धका उपदेश र शिक्षाको प्रभावले, जीवजन्तुको संरक्षणमा ठूलो योगदान पु¥याइरहेको देखिन्छ । थाइल्याण्ड, भुटान आदि देशहरुमा बौद्ध भिक्षुहरुले वन र जैविक विविधता संरक्षणमा ठूलो योगदान दिएको देखिन्छ । खास गरी वनविनाशलाई रोक्न अहिले पनि ठूला रुखहरुलाई ध्वजा बाँधेर संरक्षण गरेको देख्न सकिन्छ । हाम्रो मुस्ताङको केही स्थानमा लासलाई जलाउन वा पुर्नको सट्टा टाकुरामा लगेर टुक्रा पारेर गिद्धलाई खुवाउने चलन छ । यो नै गिद्ध संरक्षणको ज्वलन्त उदाहरण हो ।
हिंस्रक जनावर हिमचितुवाको संरक्षणमा पनि अहिले गुम्बाहरुमा रहेका भिक्षुहरुको सहयोग लिन थालिएको छ । चीन र मंगोलियामा यो अभियान प्रभावकारी बनेको बताइन्छ । उनीहरुको सहयोगमा हिमचितुवा संरक्षण कार्यक्रम सफल हुँदै गएको विभिन्न रिपोर्टहरुले देखाएको छ । बौद्ध धर्मको पालना गर्ने देश भुटान अहिले जैविक विविधता संरक्षणको क्षेत्रमा सबै भन्दा अगाडि बढेको छ । भारतको अरुणाचल प्रदेशमा ३१ प्रतिशत बुद्ध मार्गीहरुले पनि ठूलो वन क्षेत्रको संरक्षण गरेका छन् । गुम्बामा बस्ने भिक्षुहरुले विभिन्न प्रकारले जैविक विविधता संरक्षणमा सहयोग गरेको पाइन्छ । बौद्धमार्गीहरुले विभिन्न पवित्र स्थलहरुको निर्माण गरी त्यहाँ रहेका जीवजन्तु, वनस्पति र वनजंगलको संरक्षण गरिरहेका छन् ।
यो धर्मले संरक्षणमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने गरेको छ । किनकि यसले दिने शिक्षामा जहिले पनि जीवजन्तुमाथि दया र करुणा गर भनेर सिकाएको हुन्छ । मानिस र जनावरमाथि समान रुपले आदर गर, व्यवहार गर्दा जीवजन्तुहरुलाई नोक्सान नपुगोस् भनेर सावधान गराउँदछ । जीवन निर्वाहको लागिपनि जनावरलाई दुःख दिने, जनावर मार्ने पेशा नअपनाउन निर्देशन दिन्छ । बुद्ध धर्ममा के पनि विश्वास गरिन्छ भने यो जुनीमा गरेको कर्मको फल अर्को जुनीमा पनि भोग्नु पर्दछ । अहिले जनावरहरुलाई दुःख दिए अर्को जन्ममा दुःख पाइन्छ । अर्को विश्वास के छ भने अहिले मानवजीवन लिए तापनि अर्को जन्ममा अरु नै जनावर भएर जन्मन सकिन्छ भनेर सिकाइन्छ । जनावर पनि कुनै जन्मका हाम्रा बाआमा, दाजुभाइ हुन्, त्यसैले उनीहरुमाथि दयाभाव राख्नु पर्दछ भनिन्छ ।
बुद्ध धर्मलाई शान्तिमय धर्म मानिन्छ । यसले प्रकृतिसँग समन्वय गर्न सिकाउँछ । धेरैले त यो धर्म प्राणी जगतको हित गर्ने धर्म भनेर मानेका छन्् । बुद्ध धर्मका मार्गदर्शनलाई ख्याल गर्दा जीवहरुको समस्याहरुको समाधान गर्न मूलतः तीन कुरामा आधारित देखिन्छ । त्यो हो व्यवहार, मन र बुझाई । व्यवहारको कुरा गर्दा यसका आन्तरिक र बाह्य सीमाहरु हुुन्छन् । बाह्य सीमा भनेको समाजले बनाएका नीति र नियमहरु (विनय) हुन्, जसको पालना गरेर मानिसले व्यवहार गर्दछ । यसले हाम्रो र यावत जीव र वनस्पतिहरुको संरक्षणमा सघाएको हुन्छ । अर्को सीमा हो आन्तरिक चेतना, जुन धार्मिक आस्था र नैतिक शिक्षाबाट मात्र पैदा हुन सक्दछ । यो बुद्ध दर्शनबाट प्राप्त हुन्छ । यसले पनि मानिसलाई जैविक विविधता संरक्षणतर्फ डो¥याउँछ ।
मन र यसले गर्ने विचार नै प्राणी जगतको हितकोे अर्को आधार हो । शुभ संकल्प वा असल मन जहिले पनि प्राणी प्रति सकारात्मक हुन्छ । तर हाम्रो स्वार्थी इच्छाले हामीलाई पृथ्वीको प्राकृतिक स्रोतको रुपमा रहेको जीवहरुको दोहन गर्न प्रेरित गर्दछ । बुद्ध दर्शनले मानिसको मनलाई तालिम दिन्छ । यसलाई समाधी भनिन्छ । यसले हाम्रो मनलाई परिवर्तन गरेर प्रकृतिप्रतिको ममतामा वृद्धि गराई त्यसको संरक्षणतर्फ अग्रसर गराउँछ । अर्को आधार हो बुझाइ । जैविक विविधतासँग सम्बन्धित समस्याहरुको समाधानको लागि कारण र असरहरुको बारे जान्नु आवश्यक हुन्छ । त्यसको लागि मानिसहरुले प्राकृतिक पारिस्थितिक प्रणालीको बारेमा पनि जान्नु पर्दछ । अनिमात्र मानिसहरुले जैविक विविधता संरक्षणको महत्वलाई महसुस गर्न सक्दछन् ।
बुद्ध दर्शनमा जीवहरुको संरक्षणका कुरा धेरै छन् । बुद्धको शिक्षाले प्रकृतिसँग सामीप्यता कायम राखेर बाँच, प्राणीहरु सबैसंँग सामन्जस्य कायम गर । प्राकृतिक नियमहरु जन्म, मरण, बिमारी र मृत्युको चक्र बारेमा जान । यो कुराको मनन् गर्दछौ भने हरेक समस्याको समाधान यसैमा छ भनेको छ । बुद्ध दर्शनको प्रकृति र जीवहरुसँग लामो र गहिरो सम्बन्ध देखिन्छ । बुद्ध आफैं पनि सालको रुखमुनि जन्मे, वृक्षको फेदमा तपस्या गरे, त्यहीँ बुद्धत्व प्राप्त गरे, जंगलभित्रै शिष्यहरुलाई ज्ञान सुनाए । अन्तमा सालको रुखमुनि नै देह त्याग गरे । प्राणीहरु हामी मान्छेको उपयोगका लागि मात्र हुन् भन्ने कुरामा बुद्ध दर्शन सहमत छैन । बरु सबै प्राणीको संरक्षण गर्ने, हिंसा नगर्ने दुःख र पीडा नदिने भन्ने कुरामा नै केन्द्रित रहेको देखिन्छ । बुद्धधर्मका अनुयायीहरुबाट जीवहरुको संरक्षणमा धेरै काम भइरहेको छ ।