चितवनको कुन–कुन पालिकामा को–को चुनिए ?

अजय गोर्खाली
चितवन/भरतपुर महानगरपालिकाको मतगणना भइरहेपनि चितवनका अरु पालिकाको अन्तिम मतपरिणाम आइसकेको छ । माडी नगरपालिकाको मेयरमा यसअघि उपमेयर रहेकी एमालेकी ताराकुमारी काजी महतो निर्वाचित भएकी छन् । उनले माओवादी केन्द्रका मेयर उम्मेदवार ऋषिराम काफ्लेलाई दुई हजार भन्दा बढी मतले पराजित गरेकी हुन् ।
माडी नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसका खेमप्रसाद महतो विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी थिए राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनप्रसाद पौडेल । माडीको वडा नं. १ को वडाअध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अमितकुमार लामा निर्वाचित भएका छन् । वडा नं. २ मा माओवादी केन्द्रका डण्डपाणि पौडेलले वडाअध्यक्ष जितेका छन् । ३ नं. वडामा एकीकृत समाजवादीका पुरन महतो वडाअध्यक्षमा निर्वाचित भए । ४ नं. को वडाअध्यक्षमा माओवादी केन्द्रका माधवप्रसाद चापागाईं विजयी भएका छन् । वडा नं. ५ मा पनि माओवादी केन्द्रकै गणेशप्रसाद विश्वकर्मा वडाध्यक्षमा निर्वाचित भएका छन् ।
माडीको ६ नं. वडामा एमालेका दिपेन्द्रराज पौडेलले वडाअध्यक्ष जिते । ७ नं. को वडाअध्यक्षमा एकीकृत समाजवादीका चन्द्रकुमारी बानिया निर्वाचित भइन् । ८ नं. वडाको वडाअध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्रबहादुर भण्डारीले जिते भने ९ नं. वडामा माओवादी केन्द्रका घनश्याम दवाडी वडाअध्यक्षमा निर्वाचित भएका छन् ।
इच्छाकामनामा यसअघि अध्यक्ष रहेकी कांग्रेस उम्मेदवार गीताकुमारी गुरुङलाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा एमालेका दानबहादुर गुरुङ निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार रहेकी माया सिलवाल विजयी भएकी छिन् ।
इच्छाकामना गाउँपालिकाको वडा नं. १ को वडाअध्यक्ष माओवादी केन्द्रका सन्तबहादुर मगरले जितेका छन् । २ नं. वडामा एमालेका पंचबहादुर प्रजा, ३ नं. वडामा एमालेकै नरबहादुर नेपाल, ४ नं. वडामा पनि एमाले उम्मेदवार रुद्रप्रसाद उप्रेती, ५ नं. मा पनि एमालेकै तेजबहादुर शेरचन र ६ नं वडामा पनि एमालेकै लक्ष्मण प्रजाले वडाअध्यक्षमा विजय हासिल गरेका छन् । इच्छाकामना–७ को वडाअध्यक्षमा भने कांग्रेसका बमबहादुर थापामगर निर्वाचित भएका छन् ।
कालिका नगरपालिकामा नेपाली कांग्रेसका शिवराम केसीलाई पछार्दै एमाले उम्मेदवार विनोद रेग्मी मेयरमा निर्वाचित भए भने उपमेयरमा पनि एमालेकै विमला तामाङ निर्वाचित भएकी छन् । कालिकाको १ नं. वडाबाट कांग्रेसका सन्तवीर स्याङतान, २ नं. वडाबाट एमालेका लक्ष्मण पौडेल, ३ नं. वडाबाट माओवादी केन्द्रका वीरेन्द्र तामाङ वडाअध्यक्षमा चुनिएका छन् ।
४ नं. वडामा एमालेका मकरमान श्रेष्ठ, ५ नं. मा कांग्रेसका दिपकबहादुर भट्टराई, ६ नं. मा कांग्रेसका टिकाराम रेग्मी, ७ नं. मा कांग्रेसकै कमलराज मुक्तान, ८ नं. मा माओवादी केन्द्रका चित्रबहादुर मगर, ९ नं. मा एमालेका निलकण्ठ मगर, १० मा कांग्रेसका नरजंग प्रजा र ११ मा एमालेका कृष्णबहादुर प्रजाले वडाअध्यक्ष जितेका छन् ।
खैरहनी नगरपालिकामा यसअघि मेयर रहेका एमालेका लालमणि चौधरीलाई हराउँदै यसपटक नेपाली कांग्रेसका शशीकुमार खनिया मेयरमा निर्वाचित भएका छन् भने खैरहनीको उपप्रमुख एमालेकी कविता उप्रेतीले जितेकी छन् । खैरहनी नगरपालिकाको वडाअध्यक्षमा १ नं. मा नेपाली कांग्रेसका नवराज भुसाल, २ नं. मा कांग्रेसकै रोहिणीप्रसाद उप्रेती र ३ नं. मा पनि कांग्रेसकै पूर्णबहादुर गुरुङ विजयी भएका छन् । खैरहनी–४ मा एमालेका वेदबहादुर अधिकारी, ५ मा एमालेकै छत्रनाथ सुवेदी, ६ मा पनि एमालेकै कमलप्रसाद न्यौपाने, ७ मा एमालेबाटै मनेजर महतोले वडाअध्यक्षमा जीत हात पारेका छन् भने वडा नं. ८ मा कांग्रेसका शंकर कंडेल वडाअध्यक्ष चुनिएका छन् । ९ नं. वडामा एमालेका बन्धुराम महतो, १० नं. वडामा कांग्रेसका चन्द्रविक्रम चौधरी, ११ नं. वडामा एमालेका दिपेन्द्रकुमार दरै, १२ नं. वडामा कांग्रेसका केदारनाथ पन्त र १३ नं. वडामा एमालेका कुलप्रसाद भुसाल वडाअध्यक्षमा निर्वाचित भएका छन् ।
रत्ननगर नगरपालिकामा एमालेकी विमलादेवी दवाडीलाई पराजित गर्दै नेपाली कांग्रेसका प्रलाद सापकोटाले मेयर पद जितेका छन् । रत्ननगरको उपमेयरमा एमालेका यादवप्रसाद पाठक निर्वाचित भएका छन् ।
रत्ननगरमा वडा नं. १ को वडाअध्यक्ष नेपाली कांग्रेसका कुलप्रसाद सापकोटा, २ नं. वडाअध्यक्ष नेपाली कांग्रेसकै राजेन्द्रप्रसाद घिमिरे, ३ नं. वडाअध्यक्ष पनि कांग्रेसकै सोहेन्द्रराज खरेल, ४ नं वडाअध्यक्ष पनि कांग्रेसकै रामकुमार चौधरी, ५ नं. वडाअध्यक्ष पनि कांग्रेसकै उम्मेदवार बालकृष्ण चापागाईंले जितेका छन् । वडाअध्यक्षमा ६ नं. कांग्रेसकै किरण महतो, ७ नं. एमालेकी सजना महतो, ८ नं. कांग्रेसका कृष्ण चौधरी, ९ नं. स्वतन्त्र उम्मेदवार अनन्त अधिकारी, १० नं. कांग्रेसका कलाधर पौडेल, ११ नं. एमालेका श्यामकुमार श्रेष्ठ, १२ नं. माओवादी केन्द्रका सुन्दरमणि सुवेदी, १३ नं. एमालेका पोटबहादुर घिमिरे, १४ नं. कांग्रेसका होमनाथ रानाभाट, १५ नं. एमालेका आशिक तामाङ र १६ नं. वडा एमालेकै हेमराज थापाले जितेका छन् ।
राप्ती नगरपालिकामा एमाले उम्मेदवार गोविन्दप्रसाद कंडेललाई पराजित गर्दै नेकपा (एकीकृत समाजवादी) का शमशेर लामा मेयरमा निर्वाचित भएका छन् भने उपप्रमुखमा कांग्रेसका देवेन्द्र लामा विजयी भएका छन् । राप्तीको वडाअध्यक्षमा निर्वाचित हुनेहरु १ नं. वडामा एमालेका सिद्धिलाल स्याङतान, २ नं. मा एमालेकै श्यामसुन्दर उप्रेती, ३ नं. मा एमालेकै शिवकान्त ओली, ४ नं. मा एमालेबाटै केदारप्रसाद आचार्य, ५ नं. मा पनि एमालेकै सीताराम तामाङ, ६ नं. मा पनि एमालेकै जल्लु महतो थारु रहेका छन् । वडा नं. ७ को वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार सुमिता डल्लाकोटी विजयी भएकी छिन् ।
वडा नं. ८ मा एमालेका पूर्णप्रसाद आचार्य, वडा नं. ९ मा एमालेका खङ्कबहादुर तामाङ, १० नं. मा कांग्रेसका तेजबहादुर तामाङ, ११ नं. मा एकीकृत समाजवादीका बुद्धिबहादुर तामाङ, १२ नं. मा कांग्रेसका अर्जुन प्रजा र १३ नं. मा कांग्रेसका अशोककुमार प्रजा वडाअध्यक्षमा निर्वाचित भएका छन् ।
भरतपुर महानगरपालिकामा यसअघि मेयर रहेकी माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल नै अहिलेसम्म मेयरमा अगाडि छिन् । एमाले उम्मेदवार विजय सुवेदी र कांग्रेसबाट बागी उम्मेदवारी दिएर स्वतन्त्र लडिरहेका जगन्नाथ पौडेललाई फराकिलो मतले पछाडि पार्दै रेनु दाहाल अग्रस्थानमा रहेकी हुन् । उपमेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार हिमला गुरुङलाई धेरै पछाडि छोडेर कांग्रेसका चित्रसेन अधिकारी अगाडि बढ्दैछन् ।