प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न विदुर प्रस्थान

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि आज बिहान नुवाकोटको विदुर प्रस्थान गरेका छन्। प्रधानमन्त्रीसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्साल पनि निरीक्षण टोलीमा सहभागी छन्।

Advertisement 1

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाह र मन्त्री लम्साल बिहान ९ः३० बजे सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रमध्ये विदुरतर्फ प्रस्थान गरे।

गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले नदी आसपासका क्षेत्रमा ठूलो क्षति पु¥याएपछि प्रधानमन्त्री शाह उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सक्रिय रहँदै आएका छन्।

Advertisement 2

बाढीको खबरलगत्तै प्रधानमन्त्रीले उच्चस्तरीय बैठक बोलाएर उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिए। त्यसयता प्रभावित क्षेत्रमा खोजी तथा उद्धार, राहत वितरण र आवश्यक समन्वयका लागि उनले सम्बन्धित निकायसँग निरन्तर सहजीकरण गर्दै आए।

विदुर र आसपासका प्रभावित बस्तीमा पुग्ने

Advertisement 3

बाढीबाट विभिन्न जिल्लामा ठूलो क्षति पुगे पनि समय अभावका कारण प्रधानमन्त्रीको टोलीले आज मुख्य रूपमा विदुर र आसपासका प्रभावित बस्तीको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ।

निरीक्षणका क्रममा प्रधानमन्त्री र पूर्वाधार विकासमन्त्रीले बाढीबाट क्षतिग्रस्त सडक, पुल तथा अन्य भौतिक संरचनाको अवस्थाबारे प्रत्यक्ष जानकारी लिनेछन्।

त्यसक्रममा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग बाढीबाट भएको क्षति, प्रभावित नागरिकको अवस्था, राहत तथा पुनःस्थापनाका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

अवरुद्ध पूर्वाधार तत्काल सञ्चालनमा जोड

बाढीका कारण अवरुद्ध भएका सडक तथा अन्य पूर्वाधारलाई यथाशीघ्र सञ्चालनमा ल्याउने विषयलाई प्रधानमन्त्रीको टोलीले प्राथमिकतामा राख्ने बताइएको छ।

स्थलगत अवस्थाबारे जानकारी लिएपछि प्रभावित क्षेत्रमा राहत तीव्र पार्ने तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई गति दिन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने तयारी छ।

सरकारले तत्काल राहतसँगै प्रभावित क्षेत्रको दीर्घकालीन पुनःस्थापना र क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणलाई समेत प्राथमिकतामा राखेको जनाएको छ।

प्रकाशित :२०८३ भाद्र ११, बिहीबार ११:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry