स्थानीय तहको मत र संसदीय चुनावमा यसको बिम्ब
हाल सम्मको मत परिणाम हेर्दा स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले करीव ४१% स्थान ल्याएर पहिलो पार्टी बन्ने देखिएको छ र एमालेले २७% र माओवादी केन्द्रले १६% स्थान ल्याएर क्रमशः दोश्रो र तेश्रो पार्टीको रूपमा देखिएका छन्। यस पटकको नतिजा २०७४ को स्थानीय तहको चुनावी नतिजा संग फरक परेको देखिन्छ। २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले ३९%,नेकाले ३५% र माओवादी केन्द्रले १४% स्थानमा मेयर/अध्यक्ष पद जितेका थिए ।
Advertisement 1
किन मतदाताहरू यसरी परिवर्तित भए यति छोटो अवधीमा? यसको विष्लेषण हुनु जरूरी छ। यसमा पनि मतदाताहरूले राजनीतिक दलले पेश गरेका केही उम्मेद्वारलाई अस्वीकार गरी स्वतन्त्र र वागी उम्मेद्वार लाई मतदान गरेको अवस्था पनि देखिएको छ। ०७४ मा भएको चुनावमा एक नम्बरमा रहेको पार्टी एमालेलाई दोश्रो स्थानमा पार्नुको पछाडि एमाले र यसका अध्यक्ष केपी ओलीको भूमिकाले काम गर्यो भन्न सकिन्छ। यो पार्टी र यसका अध्यक्षले संविधान मै नभएको प्रावधानलाई दुरूपयोग गरी दुई दुई पटक संसद विघटन गरेका कारण आफ्नो लोकप्रीयता गुमाएको हुदा मतदाताको रोजाईमा एमाले नपरेको पक्कै हो र एमालेको स्थिति खुस्किनुमा यो पार्टीका अध्यक्ष के पी ओलीको गैर जिम्बेबार अभिब्यक्ति पनि अर्को कारण हो। र अन्त्यमा नेकपामा आएको विग्रह पनि अर्को कारण हो।
त्यसै गरी नेका पहिलो पार्टी हुनुको कारण नेकपामा आएको विग्रह र चुनावमा गरिएको गठबन्धन पनि हो। संसदमा झण्डै दुई तिहाई बहुमत भएको नेकपाले शासन संचालन गर्न नसक्दाको कमजोरीको फाईदा प्रतिपक्षमा रहेको नेकाले लिनु स्वभाविकै थियो। जहासम्म गठवन्धनको जस नेकाले पायो कि पाएन भन्ने कुरामा नेकालाई सफलता पाउन गठवन्धन कुरी रहन जरूरी थिएन, नेकपाका कमी कमजोरी र संसद विघटनका घटनाहरू नै नेपाली कांग्रेसले बहुमत ल्याउन पर्याप्त थिए तर गठबन्धनको फाईदा तेश्रो स्थानमा रहन सफल माओवादी केन्द्रलाई भने अवश्य भएको छ र जबर्जस्त स्थापना भएको र संगठन नै बनी नसकेको नेकपा समाजवादीलाई पनि भएको छ। २०७४ को स्थानीय तहको चुनावमा नेकपा समाजवादी जन्मेकै थिएन र माओवादी केन्द्रले त्यतिखेर यस पटक भन्दा केही बढी मत पाएको भए पनि अहिले माओवादी केन्द्र विखण्डनको स्थितिमा हुदा यस गठवन्धनको लाभ माओवादी केन्द्रलाई समेत भएको छ।
Advertisement 2
अब हेरौ करीब ६ महिना पछि हुने प्रतिनिधि सभाको चुनावमा स्थानीय तहमा प्राप्त यो उपलब्धी कायम हुन सक्ला वा नसक्ला? यो परिणाम आउनुको पछाडिका देखिने कारण माथि नै उल्लेख गरी सकिएको छ। उक्त कारणका अतिरिक्त मतदाताको विवेकलाई पनि महत्वपूर्ण कारक मान्न सकिन्छ। स्थानीय तहको चुनावमा पार्टीले उम्मेद्वारी चयनमा गरेको हस्तक्षेपलाई मतदाताले त्यति रूचाएको देखिएन। यसैले संघीय चुनावमा पार्टीले उम्मेद्वारको छनौट गर्दा नेताले रूचाएको हैन जनताले रूचाएकोलाई छनौट गर्नु पर्ने देखियो। जब ईमान्दार र कर्तब्यनिष्ट उम्मेद्वार पार्टीको छनौटमा पर्दैनन्,यस्तो अवस्थामा अहिले पार्टीले पाएको गरिमा र स्थान कायम राख्न सकिदैन। त्यस्तै सिद्धान्त र आदर्श नमिल्ने पार्टीहरु बीचको यस पटकको चुनावी गठबन्धन पनि मतदाताको रूचिको विषय भित्र पर्दैन। यसैको परिणाम हो स्थानीय तहको निर्वाचनमा वागी र स्वतन्त्र उमेद्ववारीको घोषणा र प्रतिस्पर्धा। स्थानीय तहको चुनावमा हाल प्राप्त गरेको परिणाम बर्षाद्को भेल जस्तो हुनु भएन र यो मूलको पानी जस्तो निरन्तर आउने हुनु पर्यो। यसको लागि मतको श्रोतको संरक्षण गर्न सम्बन्धित पार्टी सक्षम हुनु पर्यो। यसरी अहिले प्राप्त मतलाई दीगो राख्न सके मात्र संसदीय चुनावमा बहुमत प्राप्त गर्न सकिन्छ। यस पटक यस्तो गणितमा मत प्राप्त हुन्छ भन्नेमा यो मत पाउने पार्टी र यसका नेताहरू पनि विश्वस्त थिएनन्।
एमालेले आफूलाई एक नम्बरको स्थितिमा पुग्छु भन्ने लागेको थियो र नेपाली कांग्रेसलाई पनि ठूलो पार्टी हुन्छु भन्ने लागे पनि झण्डै ५०% सफलता प्राप्त हुन्छ भन्ने लागेको थिएन। यस्तै स्थितिमा संविधान सभाको पहिलो निर्वाचनमा माओवादी पनि पुगेको थियो। पछि आफ्नो शाख कायम गर्न नसक्दा माओवादी अहिले नेकाको शरणमा पुग्नु परेको छ। स्थानीय तहमा प्रथम स्थान प्राप्त गरेको दल नेपाली कांग्रेस ससदीय चुनावमा पनि प्रथम स्थान मै रहने देखिन्छ र यसले संसदको करीब ३३% स्थान लिने छ तर यो बीचमा हाल पार्टी भित्र देखिएको आन्तरिक असमझदारीलाई पार्टी नेत्तृत्त्वले सम्बोधन गरी सकेको हुनु पर्ने देखिन्छ। अब हुन गै रहेको संसदीय चुनाव सम्मको अवधिमा मतदाताले एमालेलाई हेर्ने दृष्टिकोणमा खासै फरक नहुने हुदा यो पार्टी संसदमा करीव २१% स्थानमा सीमित रहन सक्छ। नेकपा समाजवादीले यो अवधीमा आफ्नो संगठनलाई कोही सुधार्न सक्ने हुदा अहिलेको भन्दा केही राम्रो भएर यसले करीव ८%स्थान लिन सक्छ। त्यस्तै राप्रपाको पनि यो भन्दा केही सम्मानजनक अवस्था रहन्छ र यसले नेकपा समाजवादी भन्दा राम्रो स्थान पाउन सक्छ र यसले करीव १०% स्थान लिन सक्छ।
Advertisement 3
माओवादी केन्द्र संसदीय चुनावमा पनि तेश्रो दलको रूपमा देखिएर करीव १५% स्थान सुरक्षित गर्ने देखिन्छ। त्यसै गरी जसपा र लोसपा ले राष्ट्रिय पार्टी बन्न मिल्ने गरी क्रमशः करीब ४% स्थान पाउने र बाकि दल र स्वतन्त्र उम्मेद्वारको उपस्थिति करीव ५% हुने देखिन्छ। यसरी आगामी संसदीय निर्वाचनमा ठूलो पार्टी नेपाली कांग्रेस हुने भएता पनि सरकार बनाउन स्पष्ट बहुमत कुनै पार्टीको नआउने हुदा पूनः गठबन्धनको सरकार बन्नु पर्ने स्थिति देखिन्छ। यो अवधिमा समेत सरकार अस्थिर हुने र मोल मोलाईको वातावरण बन्ने निश्चित छ।