चितवनको कुन–कुन पालिकामा को–को उम्मेदवार ?

चितवन/एउटा महानगरपालिका, पाँचवटा नगरपालिका र एउटा गाउँपालिका गरी सातवटा पालिका र त्यसभित्रका ९८ वटा वडाहरुमा हुने स्थानीय तह निर्वाचन २०७९ का लागि चितवनमा कुन–कुन पालिकाको प्रमुख र उपप्रमुखमा क–कसको उम्मेदवारी परेको छ त ? देशभरिकै चासोको ठाउँ बनिरहेको भरतपुर महानगरपालिकाको मेयरमा मात्रै २७ जनाको उम्मेदवारी परेको छ ।

Advertisement 1

भरतपुरको मेयरका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट रेनु दाहाल र नेकपा (एमाले) बाट विजय सुवेदीको उम्मेदवारी परेको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका गणेश गिरी, सामाजिक एकता पार्टीका खेम प्रसाईं, राष्ट्रिय जनमुक्ति पार्टीका ज्ञानबहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेसनका टेकबहादुर पुन मगर, उन्नत लोकतन्त्र पार्टीका दिपेन्द्र बास्तोला, राष्ट्रिय नागरिक पार्टीका पूर्णबहादुर गुरुङ, विवेकशील साझा पार्टीका प्रवीन काफ्ले, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका लक्ष्मण अधिकारी, मौलिक जरोकिलो पार्टीका विनोदकुमार गिरी, जनमत पार्टीका सञ्जयकुमार ठाकुर, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका सुरेन्द्र परियार, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी)का सूर्यप्रसाद रेग्मी र नेपाल मजदूर किसान पार्टी हरिप्रसाद दुवालको पनि भरतपुरको मेयरमा उम्मेदवारी परेको छ । पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार रेनु विरुद्ध कांग्रेसबाट बागी उम्मेदवारी दिएर पार्टीबाट निष्कासित जगन्नाथ पौडेलसहित १२ जनाको स्वतन्त्र उम्मेदवारी पनि भरतपुरको मेयरका लागि परेको छ । स्वतन्त्र उम्मेदवारी दिने अन्यमा उद्धव अर्याल, कुलराज कंडेल, मिलन अधिकारी, मोहित पाण्डे, यामकान्त शर्मा कंडेल, योगलाल श्रेष्ठ, रमेश भण्डारी, रामकृष्ण ओझा, सुमन अधिकारी, हरिशरण श्रेष्ठ र हरिश्चन्द्र घिमिरे रहेका छन् ।

भरतपुरमा उपमेयरका लागि नेपाली कांग्रेसबाट चित्रसेन अधिकारी, विवेकशील साझा पार्टीबाट पुष्पा सापकोटा, मंगोल नेशनल अर्गनाइजेसनबाट शुष्मा तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हिमला गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी)बाट इन्दिरा शर्मा गौली, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कल्पना थापा, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबाट कौशिला खत्री, राष्ट्रिय जनमुक्ति पार्टीबाट मीना मगर सहित अन्य दुईजनाबाट स्वतन्त्र उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारी दिनेमा चन्द्रबहादुर तामाङ र पवित्रा जोशी रहेका छन् । २९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा यीसहित वडाअध्यक्ष–वडासदस्य समेत जम्मा ५३५ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरपालिकामा एकलाख ८५ हजार सातसय ५२ जना मतदाता रहेका छन् ।

Advertisement 2

१६ वटा वडा रहेको रत्ननगर नगरपालिकामा मेयर पदका लागि ९ जना, उपमेयरका लागि ८ जना सहित वडाका उम्मेदवारसमेत ४०६ जनाको उम्मेदवारी परेको छ । रत्ननगरको मेयरमा नेपाली कांग्रेसका प्रल्हाद सापकोटा, नेकपा (एमाले) की विमलादेवी दुवाडी, राष्ट्रिय जनमोर्चाका इन्द्रप्रसाद पाध्या पौडेल, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी)का तबहादुर विश्वकर्मा, मंगोल नेशनल अर्गनाइजेसनका धनबहादुर थिङ, नेपाल मजदूर किसान पार्टीका पुनाराम शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका बलराम आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिशरण भट्टराई र एकजनाको स्वतन्त्र उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारको नाम संजीवकुमार मिश्र हो ।
उपप्रमुखका लागि रत्ननगरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट बद्रीनाथ घिमिरे, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट यादवप्रसाद पाठक, जनता समाजवादी पार्टी नेपालबाट गोमादेवी देवकोटा, मंगोल नेशनल अर्गनाइजेसनबाट ईश्वरी गुरुङ, राष्ट्रिय जनमोर्चाबाट चन्द्रकला क्षेत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विमला चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट रसिला खड्की र एकजना महिलाको स्वतन्त्र उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारी दिने महिला विरञ्जना सापकोटा घिमिरे हुन् । रत्ननगर नगरपालिकामा ५२ हजार छसय ४२ जना मतदाता रहेका छन् ।

खैरहनी नगरपालिकाको मेयरमा ७ जना र उपमेयरमा ४ जनाको उम्मेदवारी परेको छ । मेयरमा नेपाली कांग्रेसबाट शशीकुमार खनिया, नेकपा (एमाले)बाट लालमणि चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सागर पाण्डे, राष्ट्रिय जनमोर्चाबाट धनबहादुर थापा, जनमत पार्टी (जपा)बाट वीरेन्द्रप्रसाद यादवले उम्मेदवारी दिएका छन् । खैरहनीको मेयरमा रामशरण बर्तौला र विकास डल्लाकोटीको स्वतन्त्र उम्मेदवारी पनि परेको छ । उपमेयरका लागि नेकपा (माओवादी केन्द्र)बाट लक्ष्मी ढकाल, नेकपा (एमाले)बाट कविता उप्रेती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट यमुना खड्का (डल्लाकोटी) र एकजनाको स्वतन्त्र उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारी दिने रामेश्वरप्रसाद चौधरी हुन् । १३ वटा वडा रहेको खैरहनीमा जम्मा २८४ जनाको उम्मेदवारी परेको छ । यहाँ मतदाता संख्या ४३ हजार पाँचसय ३१ रहेको छ ।

Advertisement 3

११ वटा वडा रहेको कालिका नगरपालिकामा मेयरमा ७ र उपमेयरमा ५ जना सहित वडास्तरमा समेत गरी २१३ जनाको उम्मेदवारी परेको छ । कालिकामा नेपाली कांग्रेसबाट शिवराम केसी, नेपाल मजदूर किसान पार्टीबाट ज्ञानेन्द्र प्रजा, नेकपा (एमाले)बाट विनोद रेग्मी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट शान्ति गोले, मंगोल नेशनल अर्गनाइजेसनबाट सुब्बा लामा तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सोमबहादुर खड्का र स्वतन्त्र उम्मेदवारी दिएर कृष्णहरि बुढाथोकी मेयरको प्रतिस्पर्धामा उत्रिएका छन् । उपमेयरका लागि कालिकामा नेकपा (माओवादी केन्द्र) की सविता लामा, मंगोल नेशनल अर्गनाइजेसनकी अमिता थिङ, राष्ट्रिय प्रजातन्त्र पार्टीकी बुद्धिलक्ष्मी स्याङतान, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रामलाल महतो र नेकपा (एमाले)की विमला तामाङको उम्मेदवारी परेको छ । कालिका नपामा जम्मा ३१ हजार एकसय ५७ जना मतदाता रहेका छन् ।

माडी नगरपालिकामा प्रमुखका लागि ५ जना, उपप्रमुखका लागि ६ जना सहित वडास्तरमा समेत गरी १५७ जनाको उम्मेदवारी परेको छ । माडीको प्रमुखमा नेकपा (माओवादी केन्द्र)का ऋषिराम काफ्ले, नेकपा (एमाले)की ताराकुमारी काजी महतो, राष्ट्रिय नागरिक पार्टीका पूर्णप्रसाद सुवेदी, नेपाली कांग्रेस (बीपी) की सविता शर्मा (वसेल) को उम्मेदवारी छ । माडीमा मेयरका लागि रोशनकुमार श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उपप्रमुखमा नेपाली कांग्रेसका खेमप्रसाद महतो, राष्ट्रिय प्रजातन्त्र पाटीका मदनप्रसाद पौडेल, राष्ट्रिय नागरिक पार्टीकी सिताकुमारी बोट र अन्य ३ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारी दिनेहरु कृष्णप्रसाद पौडेल, टिका न्यौपाने र टिका सुवेदी रहेका छन् । ९ वटा वडा रहेको माडीमा जम्मा २८ हजार तीनसय २० जना मतदाता रहेका छन् ।

राप्ती नगरपालिकाको प्रमुखमा ८ जना र उपप्रमुखमा ५ जनाको उम्मेदवारी परेको छ । १३ वटा वडा रहेको राप्तीमा वडास्तरमा समेत गरी जम्मा २६१ जना उम्मेदवार चुनावी मैदानमा छन् । राप्तीको मेयरका लागि नेकपा (एकीकृत समाजवादी)बाट शमशेर लामा, नेपाल मजदूर किसान पार्टीबाट कृष्णबहादुर तामाङ, मौलिक जरोकिलो पार्टीबाट कुशल पाठक, नेकपा (एमाले)बाट गोविन्दप्रसाद कंडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मनोज अधिकारी, राष्ट्रिय नागरिक पार्टीबाट विक्रम महतो चौधरी र दुईवटा स्वतन्त्र उम्मेदवारी परेको छ । राप्तीको मेयरमा स्वतन्त्र उम्मेदवारी दिनेहरु गुनाराज गुरुङ र निरज खनाल रहेका छन् । उपमेयरका लागि राप्तीमा नेपाली कांग्रेसबाट देवेन्द्र लामा, नेपाल मजदूर किसान पार्टीबाट लिलाकुमारी प्रजा, राष्ट्रिय नागरिक पार्टीबाट जीतबहादुर विश्वकर्मा, नेकपा (एमाले)बाट मेनुका पाठक र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मिराकुमारी बर्तौलाले उम्मेदवारी दिएका छन् । राप्तीमा जम्मा मतदाता ४० हजार छसय ४९ जना रहेका छन् ।
इच्छाकामना गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकी गीताकुमारी गुरुङ, नेकपा (एमाले)का दानबहादुर गुरुङ, नेपाल मजदूर किसान पार्टीका पदम थापा मगरसहित चारजनाको उम्मेदवारी परेको छ । अध्यक्षमा एउटा स्वतन्त्र उम्मेदवारी विक्रम श्रेष्ठबाट परेको हो । इच्छाकामनामा उपाध्यक्ष पदका लागि नेकपा (माओवादी केन्द्र)का प्रताप गुरुङ र एमालेकी माया सिलवाल गरी दुईजनामात्रै भिड्दैछन् । ७ वटा वडा रहेको इच्छाकामनामा जम्मा मतदाता १५ हजार छसय ३४ जना रहेका छन् ।
१६१ मतदान स्थल र ४५१ मतदान केन्द्र रहेको चितवनमा यसपालि जम्मा मतदाता तीनलाख ९७ हजार छसय ८५ जना हुन् । गत २०७४ को स्थानीय चुनावमा तीनलाख १३ हजार तीनजना मतदाता रहेपनि दुईलाख ४० हजार एकसय १४ मतमात्रै खसेको थियो । त्यसमा पनि आठ हजार एकसय ४१ मत बदर भएका थिए ।
किन हुन्छ मत बदर ? निर्वाचन आयोगका अनुसार सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको, औंठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिन्ह बाहेक अन्य चिन्ह वा छाप लगाई मत संकेत गरिएको, मत संकेत चिन्ह नबुझिने गरी लतपतिएको वा च्यातिएको, उम्मेदवारको निर्वाचन चिन्ह रहेको कोठामा मत संकेत नगरी अन्यत्र मत संकेत गरिएको, निर्वाचित गर्नुपर्ने संख्या भन्दा बढी उम्मेदवारको निर्वाचन चिन्ह भएको कोठामा छुट्टाछुट्टै मत संकेत गरिएको, एकभन्दा बढी उम्मेदवारको निर्वाचन चिन्ह भएको कोठामा मत संकेतको चिन्ह पर्नेगरी मत संकेत गरिएको, मतपेटिका भन्दा बाहिर राखिएको मतपत्र बदर हुनेछ ।

निर्वाचनका निम्ति समय छोटो भएकोले यसपालि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसकिएको जिल्ला निर्वाचन कार्यालय चितवनका सूचना अधिकारी समेत रहेका कम्प्युटर अपरेटर अमबहादुर पुर्जा बताउँछन् । राजनीतिक दलहरुबाट त सिकाउने काम भइरहेकै छ । अब आगामी २८ र २९ गते दुईदिन भएपनि मतदान स्थलमा स्वयंसेवकहरुबाट मतदातालाई भोट हाल्न सिकाउने कुरो भइरहेको तर पक्का भने नभएको जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले बताए ।
देश भनेको वडा–वडा, पालिका–पालिकाको सिंगो रुप हो । देशको मुहार फेर्न फिल्डस्तरको काम यिनै वडा र पालिकाहरुमा हुने हो । त्यसैले कसैको धाकधम्की, प्रभाव वा दबाबमा नपरी जनताले एकदम सोचविचार गरेर सक्षम र इमानदार नेतृत्व चयन गर्नुपर्ने सूचना अधिकारी पुर्जा बताउँछन् ।

– अजय गोर्खाली

प्रकाशित :२०७९ बैशाख २६, सोमबार १४:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry