स्थानीय निर्वाचन र वातावरणमैत्री विचार

यही वैशााख ३० मा हुन लागेको स्थानीय सरकारको निर्वाचन नजिकिएको छ । देशमा सबै दलका उम्मेदवारहरु र केही स्वतन्त्र व्यक्तिहरु पनि चुनावी मैदानमा उत्रेका छन् । सबैले आफ्ना घोषणापत्रहरु जनताका हात–हातमा पु¥याउने जमर्को गरिरहेका छन् । घोषणापत्रहरुमा सबैले वातावरण, जैविक विविधता संरक्षण, खेतीयोग्य जमीनको संरक्षण, पानीका स्रोतहरुको संरक्षण, पुराना ढुंगेधाराहरुको संरक्षण, परम्परागत प्रविधि संरक्षण, फोहोरमैला व्यवस्थापन र सफा स्वच्छ सहरका कुरा त उठाएका छन् । पहिलेको चुनावमा पनि यस्ता कुरा उठेका थिए तर काम भने कम भए । हरेक चुनावमा यी कुरा उठाइन्छ पछि सबै मनपरी चल्छ ।
Advertisement 1
यो स्थानीय चुनाव पछि यस्तो नहोस् भनेर मतदाताहरुले पनि उम्मेदवारहरुलाई बेलैमा सचेत गराउनु पर्छ र उम्मेदवार पूर्णरुपले हाम्रा शहर र टोलमा भएका वातावरणीय समस्याप्रति प्रतिबद्ध छन्, छैनन् भनेर पारख गर्नु पर्दछ । जथाभाबी डोजर चलाउने र हाम्रा डाँडा पाखा भत्काएर पहिरो र बाढी बढाउने, कुवा र धाराहरु सुकाउने, सिमसारहरु पुर्ने डोजर मालिकहरु, खेतीयोग्य जमीनलाई प्लटिङ गरी कंंक्रिट छरेर बगर जस्तो बनाउनेहरु, वन अतिक्रमण गर्ने र सार्वजनिक जग्गाहरु हडप्ने भूभाफियाहरु, वन पैदावार र वन्यजन्तुका अंगहरुको तस्करी गर्ने तस्करहरु, खोलानाला, वनजंगल, सार्वजनिक जग्गा मिच्ने अतिक्रमण कारीहरु, जग्गाका अवैध कारोबार गरी अकूत धन कमाई पार्टी र नेताहरुलाई दक्षिणा चढाएर टिकट लिने जग्गादलालहरु पनि उम्मेदवारको रुपमा खडा भएका होलान् । यस उपर मतदाताहरु अत्यन्तै चनाखो हुनु जरुरी छ । हरेक उम्मेदवारहरुको विगतको पृष्ठभूमि के छ ? उसले वातारणको क्षेत्रमा न्यायपूर्ण आवाज उठाएको छ कि अन्याय गरेको छ ? जैविक विविधता र वातावरण संरक्षणप्रति ऊ कत्तिको प्रतिबद्ध छ ? हाम्रो मौलिक परम्परागत प्रविधि र हाम्रो संस्कृतिप्रति उसको बुझाई कस्तो छ ? वातावणमैत्री विकासप्रति उसको योजना के छ ? आदि कुराहरु बुझ्नु जरुरी छ ।
अहिले हाम्रो वरपरको वातावरण बिग्रेको छ । नदीनाला, माटो, वायु प्रदूषित बन्दै गएको छ । हाम्रो वातावरणमैत्री मौलिक प्रविधि हराउँदै गएको छ । जैविक विविधता लोप हुँदै गएको छ, खेतीयोग्य जमीनको नास भइसकेको छ । पानीका स्रोतहरु कतै प्रदूषित बनेका छन् त कतै सुकेका छन्, पुराना ढुंगेधाराहरु, कुवा, तलाउ, इनारहरु सुक्दै गएका छन् । परम्परागत प्रविधि लोप हुँदैछ । फोहोरमैलाले सहर अस्तव्यस्त छन् । मौलिक परम्परागत प्रविधि र सीप हराउँदै गएको छ । पुरानाशैलीका घुमाउने घरहरु, खरखडाईले बनेका घरहरु, खर, स्याउला, सल्लाको फलेकले बनेका छानाहरु, ढुंगाले बनेका सिँढीहरु, ढुंगालाई कुँदेर बनाइएका धाराहरु, बाँस र फलेकले बारेर बनाइएका छाप्राहरु, बाँस र काठबाट बनाइएका फड्केहरु, ढुंगा वा टायलले छाएका घरहरु, चुनासुर्की प्रयोग गरी बनाइएका मन्दिरहरु, स्याउलाले बनेका गोठहरु, सजीवन, सिउँडी, खिर्रो आदि प्रयोग गरी बनाइएका बारहरु, स्याउला, कीला, मुढा र बाँसको प्रयोग गरी बनाइएका छाँद तथा बाँधहरु विस्तारै लोप हुन थालेका छन् । आफ्नै स्थानीय स्रोत र साधनको प्रयोग गरी, स्थानीय जनशक्ति र हाम्रो आफ्नै स्थानीय प्रविधिको प्रयोग गरी निर्माण गरिएका यी संरचनाहरु बिस्तारै विस्थापित हुन थालेका छन् ।
अहिले हाम्रो परम्परादेखि चल्दै आएको निर्माण प्रविधि लोप हुँदै छ ।
Advertisement 2
के गाउँ, के सहर, के तराई, के पहाड जताततै सिमेन्ट, छड, जस्तापाता, मार्बल, आधुनिक टायल आदिको प्रयोग गरी घर, गोठ, विद्यालय, पाठशाला, मठ–मन्दिर र टहराहरु बनिरहेका छन् । यातायातको साधन नपुगेका दुर्गम ठाउँहरुमा पनि मानिसलाई बोकाएर, खच्चडको प्रयोग गरी या हेलिकप्टरमै भएपनि सिमेन्ट, छड, जस्तापाता, मार्बल आदि निर्माण सामग्रीहरु ओसारेर घर, गोठ, विद्यालय, पाठशाला, मठ मन्दिर, अफिस आदि निर्माण गर्न थालिएको छ । आधुनिक विकासको नाममा आफ्नो वातावरणमैत्री परम्परागत प्रविधिहरुलाई छोडेर आयातीत प्रविधि अँगाल्न थालिएको छ । स्थानीय ढुंगा, माटो र काठबाट बनेका घुमाउने घरहरुको साथै दुईपाखे, बार्दली र पिँढी भएका रातो माटो, कमेरो, गेरु र खोटो लगाई सिंगारिएका हाम्रा पुराना शैलीका घरहरु जुन टाढैबाट हेर्दा डाँडाहरुमा टलक्क टल्केका अति सुन्दर देखिन्थे । तिनीहरुको अहिले पनि जगेर्ना गर्न सके पर्यटकीय आकर्षण केन्द्र बन्न सक्दथे ।
Advertisement 3
ढुंगा, माटो, कमेरो, खोटो, काठ, खर, खडाई, स्याउला, बाँस आदि निर्माण सामग्रीहरु हामी देशका हरेक कुनामा पाउँछौं । सिमेन्ट, छड, कर्कटपाताको अनुपातमा यिनीहरु सस्तोमा जतिबेला पनि उपलब्ध हुन सक्दछन् । यी वस्तुहरुको प्रयोग गर्ने हाम्रो आफ्नै परम्परागत प्रविधि पनि छ । यिनीहरुको प्रयोग गर्दा निमार्ण खर्च कम हुन्छ, स्थानीय मानिसहरुले रोजगारी पाउँछन् । यसरी बनाइएको संरचनाहरु भूकम्पप्रतिरोधी पनि बनाउन सकिन्छ । टाढाबाट ल्याइएका सामग्रीहरु ढुवानी गर्दा धेरै खर्च लाग्नुको साथै कार्बन उत्सर्जन पनि ज्यादा हुन्छ र वातावरण प्रदूषण तथा जलवायु परिवर्तनलाई पनि बढाउने गर्दछ ।
स्थानीय निर्वाचनले गर्दा सिंहदरबारको धेरै अधिकार स्थानीय तहमा गइसकेको छ । विकास निर्माणका कामहरु गर्नको लागि स्थानीय सरकारलाई अधिकार दिइएको छ र स्रोत साधनको व्यवस्था पनि गरिएको छ । अब आफ्नो क्षेत्रमा के कस्ता निर्माण कार्यहरु सञ्चालन गर्ने, कस्ता स्रोत–साधनहरुको प्रयोगको लागि प्रोत्साहन गर्ने, स्थानीय प्रविधि, परम्परागत शैलीको कसरी संरक्षण गर्ने, स्थानीय जनशक्तिलाई कसरी प्रोत्साहित गर्ने र उनीहरुको सीप तथा प्रविधिको संरक्षण कसरी गर्ने भन्नेबारे सोचेर निर्माण कार्यलाई अगाडि बढाउनु पर्दछ । चुनिएर जो आएपनि हाम्रा जन प्रतिनिधिहरुले यस बारेमा गम्भीर भएर सोच्ने बेला आएको छ ।
देशभर पर्यटन प्रवर्धनका कुरा निकै सुन्दै आइएको छ । विगतदेखि नै स्थानीय सरकारले पनि पर्यटनको विकासको लागि बजेट लगानी गर्न थालेका छन् । पर्यटकहरुलाई आकर्षण गर्ने वस्तुहरु धेरै हुन्छन् । तीमध्ये हाम्रो परम्परागत संरचनाहरु, परम्परागत प्रविधि र सीप पनि हो । हामीले आधुनिकताको नाममा निर्माण गरेका छड र सिमेन्टले बनेका आधुनिक शैलीका घर, मन्दिर, पुल, पुलेसा हेर्न त कोही आउँदैन । कंक्रिटका जंगल त संसारका सबै कुनामा बनिसकेका छन् । ती हेर्न बाहिरबाट कोही आउँदैन । हाम्रो परम्परागतशैलीका संरचनाहरु बचाउन सक्यौं, आफ्नो स्थानीय प्रविधिबाट विकासका संरचनाहरु बनाउन सक्यौं, हाम्रा पूर्खाहरुले हामीलाई दिएको ज्ञान, सीप र प्रविधिको आधारमा नयाँ संरचनाहरुको निर्माण ग¥यौं भने मात्र पर्यटकहरुलाई आकर्षण गर्न सकिन्छ ।
पहिले हाम्रा हरेक गाउँ र बस्तीहरु आफ्नै मौलिक खालका हुन्थे । अहिले त्यो मौलिकता हराउँदै गएको छ । जे जति बचेको छ त्यसको संरक्षण गर्नु अत्यन्त जरुरी भइसकेको छ । हाम्रा पुराना शैलीका पहाडमा बनेका घुमाउने घरहरु अब देख्न दुर्लभ भइसके । खरखडाईले बनेका घरहरु थारु बस्तीहरुमा अब हराउन थालिसके । खर, स्याउला, सल्लाको फलेकले बनेका छानाहरु केही वर्षपछि देख्न दुर्लभ हुने निश्चित भइसकेको छ । ढुंगाले बनेका सिँढीहरु, ढुंगालाई कुँदेर बनाइएका धाराहरु, बाँस र फलेकले बारेर बनाइएका छाप्राहरु, काठबाट बनाइएका फड्केहरु, ढुंगाले वा टायलले बनेका घरहरु, चुनासुर्की प्रयोग गरी बनाइएका मन्दिरहरु, स्याउलाले बनेका गोठहरु केही वर्षपछि हराउन सक्छन् ।
पहिले बायो इञ्जिनियरिड्ड प्रविधिपनि हाम्रो आफ्नै खालको थियो । सजीवन, सिउँडी, खिर्रो, सिमली, असुरो आदि प्रयोग गरी बनाइएका बारहरु, स्याउला, कीला, मुढा र बाँसको प्रयोग गरी बनाइएका छाँद तथा बाँधहरु जसलाई आजकल बायो इञ्जिनियरिङ प्रविधि भनिन्छ, हाम्रा पूर्खाले यसको भरपुर प्रयोग गरेका थिए, तर यी पनि बिस्तारै लोप हुन थालेका छन् । आफ्नै स्थानीय स्रोत र साधनको प्रयोग गरी निर्माण गर्न सकिने, स्थानीयलाई नै रोजगारी दिने प्रविधि थिए ती । वातावरणीय दृष्टिले पनि उत्तम ठहरिएका र पर्यटकहरुको लागि आकर्षक बन्ने आफ्नै स्थानीय प्रविधिको प्रयोग गरी निर्माण गरिएका यी संरचनाहरुलाई हाम्रा नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरुले विस्थापित हुन दिनु हुँदैन । बरु यस्ता संरचना बनाउनेहरुलाई कर छुट दिने हो या प्रोत्साहन स्वरुप निर्माणको लागि केही निश्चित रकम सहयोग दिने हो त्यो गर्नु राम्रो हुन्छ । सिमेन्ट, छड, कर्कटपाता आदि प्रयोग गरी बनाइएका घरहरुलाई केही कर बढाउने र परम्परागत शैलीका घुमाउने घरहरु, खरखडाईले बनेका घरहरु, खर, स्याउलाले छाएका घरहरुलाई प्रोत्साहन स्वरुप कर घटाउने गर्नु राम्रो हुनेछ । जुन तरिकाले भएपनि वातावरणमैत्री निर्माणलाई गाउँगाउँमा प्रोत्साहन दिने भिजनभएका उम्मेदवार र पार्टीको पहिचान हामीले गर्नुछ । वातावरणमैत्री विचारहरु नै यो निर्वाचनमा विजयी बनुन् भन्ने कामना गर्दछु ।