जो साक्षात् ईश्वर हुनुहुन्छ

‘गुरुर्ब्रह्म गुरुर्विष्णु गुरुर्देवो महेश्वरः । गुरु साक्षात् परम ब्रह्म, तस्मैश्री गुरवे नम: ।।’ गुरुलाई त्यसै भगवानको रुप भनिएको होइन, एउटा सच्चा गुरुको कृपाले व्यक्तिको जीवन वरदानतुल्य हुन्छ । सौर्य, यश अनि कृति प्राप्त गर्दछ । आलोकित हुन्छ, सौभाग्यशाली बन्दछ मान्छे । संसारको सार हो, जीवनको शक्ति हो गुरुदीक्षा । सायद सूर्य नहुँदो हो त यस धरामा आगोको पनि कुनै अस्तित्व वा सम्भावना हुने थिएन ।
यो रहस्यमयी दुनियाँमा ज्ञानको खोजी निकै महत्वपूर्ण हुन्छ । मानिसको सबैभन्दा ठूलो शक्ति नै ज्ञान हो । शक्तिको भण्डार छ यहाँ । व्यक्ति आफैंमा केही होइन । सबैकुरा सिक्दै, अनुभव गर्दै जाने हो । सुरुमा खाना त अरुले खुवाइदिनुपर्छ । उभिन र हिँड्न पनि अरुकै हात समातेर थिरीथिरी, तातेताते गर्दै गएर जानिने हो । आमाबुबा र घरपरिवारपछि व्यक्तिले विद्यालय, समाज र वरपरको वातावरणबाट सिक्दछ । सानोमा विद्यालयमै गुरु–शिष्य सम्बन्धको महत्व दर्शाइन्छ । गुरु–शिष्य परम्पराको अभ्यास तथा अनुभव विद्यालयबाटै हुन्छ । गुरुकुलबाटै शिक्षा लिने–दिने संस्कार प्रारम्भ भएको हो । अहिले विद्यालय र शिक्षक भन्ने चलन छ, उतिबेला गुरुकुल र गुरु नै भनिन्थ्यो । अहिले पो शिक्षा व्यवसाय भइदियो । शिक्षकहरु व्यवसायिक अनि अमर्यादित र नैतिकहीन पनि हुँदा गरिमा घट्न पुगेको हो । यसले गुरु शब्दकै प्रतिष्ठामा आँच आएको छ तर गुरुको महिमा अपार छ ।
खासमा विद्यालयमा पढाउने नै वा पढाउनेमात्रै गुरु होइनन् । अज्ञानतारुपी अन्धकार हटाई जीवनलाई ज्ञानरुपी उज्यालोतर्फ यात्रा गराउने शिक्षक, मार्गनिर्देशक, पथप्रदर्शक वा प्रेरणादायी व्यक्तित्व गुरु हो । जीवनयात्राको संघर्षमा निस्वार्थ र शुद्ध भावले व्यक्तिलाई सिद्ध बनाउने वास्तविक गुरु हुन् । जिउन सिकाउँछन् गुरुले । जीवनको कुनै पनि लडाइँमा अपराजय हुने कौशल र तागत दिन्छन् । सदा आशा, उत्साह, हौसला, उर्जा बनेर शिष्यमा छाउँछन् । व्यक्तिमा निहित कला र क्षमताको प्रष्फुटन गराउने गुरु साँच्चै आत्मा जगाउने परमात्मा हुन् । क्षमता पहिचानका साथै प्रस्फुटन गराउनु अनि परिष्कृत र परिमार्जित गर्दै व्यक्तिलाई पारड्डत तुल्याउनमा गुरुको ठूलो हात हुन्छ । गुण, दोष केलाइदिएर व्यक्तिलाई महान बन्न प्रेरित गर्ने गुरु यथार्थमै ईश्वरसमान छन् । जीवनमा गुरुको आशिर्वाद अत्यन्त महत्वपूर्ण शक्ति हो । यो सौभाग्य सबैलाई प्राप्त हुँदैन तर खोजी गरे पाइन्छ । गुरु–शिष्य आचरण र सम्बन्धको पालना मनैदेखि गर्न जरुरी छ ।
खराबको संगतले खराब नै भइन्छ, त्यसैले जहिले पनि असलसँग संगत बढाउनुपर्छ । संग अनुसारको रंग हुन्छ भन्ने उक्ति नै छ । सद्गुरुको सन्निकट तथा सायाले मात्र पनि अपरिमिति आनन्द प्राप्त हुन्छ, सत्मार्गमा डोरिएर सौरभित बन्छ जीवन । परमार्थ मिल्छ । बाटो बिराएर गन्तव्य हराइरहेकाहरुलाई समेत सही दिशानिर्देश गर्ने गुरु त्यो दृष्टि हुन्, जसले असल शिष्य हुने लक्षण पहिल्यै देखिसकेका हुन्छन् । अरुले नपत्याएका, हेला गरेका वा पाखा पारेकाहरुलाई समेत काखी च्यापेर साथ दिन्छन् महान् गुरुहरु र शिष्यलाई पनि सदा महान् कर्म गर्न प्रेरित गरिरहन्छन् ।
उपदेश दिनुमात्र होइन, आफूभित्र रहेको गुरुत्वको खोजी गर्न सक्षम बनाउनु, ब्रह्माण्डीय उर्जासँग तारतम्य मिलाएर परम सम्भावनाको प्रष्फुटन गर्न सक्षम बनाउनु गुरुधर्म हो । ईश्वरले आमाबाबुमार्फत् जीवन दिनुभयो, जीवनको बाटो देखाउने गुरु हुन् । शिष्यको अभिभावक नै हुन्छन् गुरु । आफ्नो शिष्यको निम्ति झरीको ओत र गर्मीको छहारी बनिदिन्छन् । गुरुसत्ताको क्षेत्रमा गुरुतत्व वा गुरु जब सद्गुरुमा रुपान्तरण हुन्छ, तब गुरुका हरेक श्वास, हरेक वाणी, हरेक क्रियाकलाप परम कल्याणकारी हुन्छन् । भनिन्छ, जहाँ मार्गमा संकट आइपर्छ, श्रद्धा, भक्ति र समर्पणको डोरीले गुरुतत्वलाई तानेर ल्याइहाल्छ र तत्काल कृपाको अनुभूति हुन्छ । गुरुको स्मरणले मात्र पनि संकट टर्छ भन्नेछ ।
जस्तोसुकै कठिन परिस्थितिमा पनि शिष्यको सारथी हुन्छन् गुरु । त्यस्तै शिष्यले पनि गुरुलाई हरदम साथ दिनुपर्छ, आमाबाबुको सहारा वा लाठी भएजस्तै । गुरु–शिष्य सुखदुःखको साथी पनि हुन् । तर ईश्वररुपेण गुरुहरु चेलाबाट अरु केही चाहन्नन् । चेलाको उन्नति–प्रगति, विजय र कृतिलाई नै गुरुदक्षिणा मान्छन् । तापनि आफ्नो गुरुको निम्ति बलिदानीको भाव हुनुपर्छ प्रत्येक शिष्यमा । त्याग, तपस्या, लगनशीलता, धैर्यता, सहनशीलता र समर्पण नभई असल शिष्य बन्न सकिँदैन । जिज्ञासु स्वभाव अनि ज्ञानआर्जन गर्ने हुटहुटी हुनैपर्छ । सबै धर्ममा गुरुत्वको उच्च स्थान छ । अद्वितीय गुणगान छ । अदृश्य शक्तिलाई हामी पुज्छौं, ध्यान गर्छाैं । त्यस्तै स्वर्गीय आनन्द र सुखानुभूति गुरुभक्ति र गुरुको सेवाबाट पाउन सक्छौं । श्रद्धेय गुरुको आशिर्वादमा ब्रह्माण्डीय शक्ति हुन्छ भन्ने मान्यता छ । त्यसैले भनिन्छ, गुरुधर्म नै परमधर्म ।
‘गुरु–शिष्य परम्परामा गुरुको महिमा गाएर थाकिँदैन, गुरुनाम अत्यन्त श्रद्धापूर्वक लिइन्छ । गुरु महिमा परम वन्दनीय हुनुपर्छ, गुरुको दर्शन पाएमा अश्रुधारा बहनुपर्छ, गुरुप्रतिको भक्तिभाव मनुष्यको हृदयमा सबैभन्दा गहिरो तलमा पुगी पृथ्वीको गर्भमा जडतत्व पग्लिएर लाभा बनी धर्ती फुटेर बाहिर निस्किएजस्तै छताछुल्ल पोखिनुपर्छ’ भनी कतै लेखिएको पनि पाएँ ।
यो दुनियाँमा निराकार ईश्वरको सर्वव्यापकताप्रति हामीमा जुन आस्था र विश्वास जागृत छ । तिनै ईश्वरको साक्षात् रुप हुन् गुरु, जसले हामीलाई आकार दिनुहुन्छ । जीवनलाई साकार तुल्याउने कडी हुन् गुरु । तर गुरुबाट दीक्षित, परिक्षित भएर मात्र पुग्दैन, ज्ञानलाई व्यवहारमा उतारिएन भने काम छैन । गुरुदीक्षालाई सही ठाउँ र सही समयमा प्रयोग गनुपर्ने हुन्छ, जथाभाबी गरियो वा सदुपयोग भएन भने प्राप्त शक्ति पनि गुम्दै जान्छ । गुरुमन्त्रको नियमित जप र निन्तर अभ्यासले मात्र व्यक्ति निपूर्ण हुन्छ । निर्वाण प्राप्त गर्दछ ।
हाम्रा धर्मग्रन्थहरुमा पनि गुरु–शिष्य सम्बन्ध र त्यसको अपार महिमाको गाथा उल्लेख छन् । शदियौंदेखि जोडिँदै आएको साइनो हो यो । सायद पूर्वजन्ममा पनि कुनै नाता हुनसक्छ । गुरुको रुपमा श्रीकृष्ण हुन्थेनन् भने अर्जुनले महाभारतको युद्ध जित्ने थिएनन्, लड्ने आँट र मनस्थिति पनि थिएन । भगवान कृष्णको पनि गुरु थिए सांथी पनि ।
गुरु–शिष्य परम्पराको सुरुवात् देवाधिदेव शिवबाट भएको मानिन्छ । सर्वप्रथम शिवले नै यस धर्तीमा सभ्यता र धर्मको प्रचारप्रसारको प्रयास गरेको उल्लेख छ, त्यसैले उनलाई आदिदेव पनि भनिन्छ । योग र अध्यात्मका आदिगुरु भगवान शिव हुनुहुन्छ, ध्यानको माध्यमद्वारा सत्, चित् र आनन्दमा पुग्ने ज्ञान सप्तऋषिमार्फत् उहाँले मनुष्य जगतलाई दिनुभएको हो । यस संसारका महान् व्यक्तित्व गुरुकै प्रेरणाले बनेका छन् । भारतका विश्वप्रसिद्ध नेता महात्मा गान्धीका पनि गुरु थिए । गोपालकृष्ण गोखले, दादाभाई नौरोजीहरु गान्धीका राजनीतिक गुरु मानिन्छन् । महान् वैज्ञानिक सर आइज्याक न्युटन गुरु हेनरी मुरेबाट प्रभावित थिए । सामाजिक सञ्जाल फेसबुकको निर्माता मार्क जुकरबर्ग पनि घोर असफलताले घेरिएका बेला अध्यात्मिक गुरुको शरणमा गएका थिए भन्ने छ । पछि उनी सफलताको नयाँ उचाइ हासिल गर्न सक्षम पनि भए । सबैजसो विश्वविख्यात महान् व्यक्तिहरु कसै न कसैको प्रेरणाबाट अघि बढेको किस्सा हामी सुन्न पाउँछौं ।
अज्ञानताको अँध्यारो हटाएर जीवनमा ज्ञानको उज्यालो प्रकाश भरिदिने गुरुत्वको बोध बेलैमा हुनु राम्रो हुन्छ । आधा उमेर ढल्किसकेपछि बल्ल ममा गुरु तत्वको बोध भएको छ । गुरु–शिष्य सम्बन्धको अनुभवकासाथै गुरुजनको महिमा र महानता जान्दैछु । अहिले मेरो जीवनमा खासगरी दुईजना महान गुरुहरु हुनुहुन्छ । सानोमा आमाबाबुको हात समातेर हिँड्न सिकेजस्तै पत्रकारितामा मलाई मेरो बुबाले नै डो¥याउनुभयो । पत्रकारिताको मैदानमा मलाई दौडिन सिकाउनुभयो मेरो गुरुले । ऊबेला काठमाडौंबाट प्रकाशित हुने सबैजसो साप्ताहिक पत्रिकाहरु चितवन आउँथे । मैले लगभग सबैजसो किनेर पढ्थें । जनआस्था साप्ताहिकको समाचार र लेखाइ विशेष लाग्थ्यो । चितवनमा बुबाको स्थानीय पत्रिकामा काम गर्दैगर्दा केही खास समाचारहरु मैले जनआस्थामा पठाउन थालें । प्रकाशित पनि भए । सम्पादकले मेरो सामग्री मन पराउनुभयो । एउटा सम्पादक र सम्वाददाताको रुपमा जोडिन पुगेको हो मेरो महान गुरुसितको सम्बन्ध ।
त्यसपछि लेख र समाचारहरु अझ राम्ररी लेख्न सक्ने भएँ । सरकै प्रेरणा र हौसलाले प्रेस काउन्सिलबाट प्रकाशित हुने पत्रकारिता सिकाउने जर्नल ‘संहिता’ मा समेत मैले केही लेखहरु लेखेको छु । प्रेस काउन्सिल नेपालको वार्षिकोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट सम्मानित पनि भएँ । चितवनमा अहिले जतिपनि मान्छेले मलाई चिन्नुहुन्छ, मेरो पत्रकारिता हेरेर मलाई माया गर्नुहुन्छ, त्यो सबै जनआस्थाको देन हो । जनआस्थाले मलाई पत्रकारिता जगतमा एउटा उचाइ दिएको छ । जनआस्थाको पत्रकार भनेर जनमानसमा जाँदा होस् वा कुनै पनि सरकारी–गैरसरकारी निकायमा प्रवेश गर्दा विशिष्ट किसिमको मान–सम्मान पाएको छु । पटक–पटक मेरो आफ्नै व्यक्तिगत समस्या र अस्तव्यस्तताहरुले म आफ्नो कर्ममा विचलित हुँदासमेत जनआस्थाले मलाई हात समातेर तानिरह्यो । आजसम्म साथ, सहयोग, स्नेह र अवसर पाइरहेछु । जनआस्था स्कूल हो, जहाँ उच्चस्तरको पत्रकारिताको अभ्यास गर्न सकिन्छ ।
पत्रकारितामै क्रियाशील रहँदै गर्दा मैले अर्काे महान गुरु भेट्टाएँ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को अनुसन्धान अधिकारी हुनुहुन्छ उहाँ । कुनै दिन राम्रै खोज–अनुसन्धानमूलक लेख–समाचारहरु लेख्ने ममा ठूलो चाहना छ । अनुसन्धानको पाटो जान्न मैले उहाँसँग सम्पर्क बढाएँ । मेरो लेख्ने शैलीबाट उहाँ पनि प्रभावित हुनुभयो र आफूले सक्दो सहयोग गर्नुभएको छ । किशोर सरले जस्तै उहाँ पनि मलाई ‘भाइ तिमीमा विशेष क्षमता छ’, भन्नुहुन्छ र लेख्न हौस्याइरहनु हुन्छ । ‘तिम्रो अध्ययन कम भयो, अध्ययनमा पनि ध्यान देऊ’ भन्नुहुन्छ । त्यसका लागि महत्वपूर्ण पुस्तकहरु पढ्न सुझाउँदै आउनुभएको छ । आफैंले किताब किनेर समेत मलाई पढ्न दिनुभयो । हरेक भेटमा केही न केही जानकारीमूलक ज्ञानवद्र्धक र प्रेरक प्रसंगहरु सुनाइरहनुहुन्छ । सदा सत्मार्गमा अघि बढ्न प्रेरित गर्दै आउनुभएको छ । कतिपटक म विचलित भएर बाटो भड्किँदा उहाँले पनि साथ छोड्नुभएन । बरु म आउट अफ ट्रयाक भएको मान्छेलाई ट्रयाकमा ल्याउन कोसिस गर्दै रहनुभयो । गुरुहरु साँच्चिकै महान् हुँदा रहेछन् । उहाँहरुले देखाउनुभएको प्रगतिपथमा बाटो नबिराई अगाडि बढ्न सकेको भए म अझ धेरै माथि पुग्ने मान्छे । कमजोरी मबाटै भइरहेछ । तैपनि मुख मोड्नुभएको छैन । उहाँहरुको माया, साथ र हौसला पाइरहेको छु । ममा पनि राम्रो गर्ने इच्छुकता त छ नै । हेरौं, भाग्य र परिस्थितिले कहाँसम्म पु¥याउँछ
प्रकाशित :२०८० मंसिर १७, आईतवार ०६:४४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%