खानेकुरामा स्वच्छता त हुनैपर्यो नि

चितवन/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, चितवनले चालु आर्थिक वर्षको अहिलेसम्म तीनवटा उद्योगमाथि मुद्दा चलाएको छ । चामलको प्याकिङमा लेबल विवरण नराख्ने रत्ननगर– ११ को केसी राइस मिल, न्यून गुणस्तरको चामल उत्पादन गर्ने खैरहनी–६ को मायादेवी राइस मिल र लेबलमा पूर्ण विवरण नराख्नुका साथै खाद्य स्वच्छता सम्बन्धी मापदण्ड पूरा नगरेको भेटिएपछि भरतपुर–१२ को लक्ष्मी बिस्कुट उद्योगमाथि जिल्ला प्रशासन कार्यालयमा मुद्दा चलाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले जानकारी दिए । कार्यालयले त्रैमासिक लक्ष्य राखेर अर्थात् तीन–तीन महिनाको योजना बनाएर काम–कारबाही अगाडि बढाउँदै आएको छ । एउटा मुद्दा पछिल्लो तृतीय त्रैमासिकमा दायर भएको हो ।

Advertisement 1

गत माघ, फागुन र चैतको तीन महिनामा गुणस्तर परीक्षणका लागि ३५ वटा खाद्य नमूना संकलन गरिएको छ । घिउ, तेल, बिस्कुट, चकलेट, चामल, पानी, जाम, जुस, सफ्ट ड्रिंक लगायतको नमूना संकलन गरी परीक्षणका लागि पठाइएकोमा रिपोर्ट आउने क्रममा रहेको कार्यालय प्रमुख अधिकारीले बताए । ऐन बमोजिम १४० वटा खाद्य नमूना संकलन गर्ने वार्षिक लक्ष्य रहेकोमा तृतीय त्रैमासिकको ३५ सहित हालसम्म १०५ वटा नमूना संकलन भएको कार्यालयले जनाएको छ ।

पछिल्लो तीन महिनामा खाद्य स्वच्छता सर्भिलेन्सका लागि तीनवटा नमूना संकलन भएको अधिकारीले बताएका छन् । ‘यो भनेको नयाँ प्रोडक्टको स्याम्पलिङ हो’, उनले भने, ‘अहिले चकलेट, मह र सफ्टड्रिंकको नमूना संकलन गरिएको छ ।’ तृतीय त्रैमासिक प्रगति विवरणमा १२ वटा दाना नमूना संकलन भएको बताइएको छ । ती संकलित नमूना कुखुराको दानाको भएको अधिकारीले जानकारी दिए । यसै तीन महिनामा दाना बजार अनुगमन ६ पटक भएको उनले बताए । चालु आर्थिक वर्षमा हालसम्म १८ पटक दाना बजार अनुगमन भइसकेको कार्यालयको प्रगति विवरणमा उल्लेख छ ।

Advertisement 2

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले यो वर्ष दाना पदार्थको स्वच्छता तथा गुणस्तर सम्बन्धी सरोकारवालाबीच एकपटक अन्तरक्रिया समेत गरेको छ । नेपालमै दाना उद्योग बढी भएको जिल्ला चितवन भएको हुँदा कार्यालयले दानामा पनि विशेष ध्यान दिएर काम गरिरहेको अधिकारीले बताए । ‘दानामा त्यस्तो मेजर समस्या त देखिएको छैन’, उनले भने, ‘भण्डारण व्यवस्थित नहुँदा कसै–कसैमा मोइस्चर (चिसोपना) बढी भएको पाइएको छ ।’

पछिल्लो तीन महिनामा कार्यालयबाट खाद्य बजार अनुगमन १२ पटक भएको जनाइएको छ । यो अवधिमा प्रहरी, प्रशासनसमेत संयुक्त रुपमा दलबलसहित बजार अनुगमन चारपटक भएको छ । खाद्य उद्योगको अनुगमन संख्या ८ र दूध तेल पानी उद्योगको अनुगमन संख्या ४ रहेको छ । यसै अवधिमा हाटबजार/मेला महोत्सवको पनि तीनपटक अनुगमन गरेको कार्यालयले जनाएको छ । हाटबजारमा पकाएर बेचिने जेरी, पकौडा जस्ता खाद्य परिकारहरुमा अत्यधिक रंग प्रयोग भएको पाइएको अधिकारीले बताए । तृतीय त्रैमासिकमा होटल रेष्टूूरेन्टको अनुगमन १० पटक भएको बताइन्छ । बताइएअनुसार यसवर्षको वार्षिक लक्ष्य अनुसार होटल लोगो स्तरीकरण तथा नवीकरणको काम यसअघि नै सम्पन्न भइसकेको छ ।

Advertisement 3

सौराहाका ३० वटा होटलको स्तरीकरण गरिएकोमा तीन तारासहितको ग्रिन स्टिकर (अति उत्तम) कसैले पाएनन् । सातवटाले दुईवटा स्टारसहितको ग्रिन स्टिकर (उत्तम), आठवटाले एउटा तारासहितको ग्रिन स्टिकर (सन्तोषजनक) र सातवटाले पहेँलो स्टिकर (नराम्रो छैन, ठिकै छ, केही सुधार भने गर्नुपर्छ) पाएको अधिकारीले जानकारी दिए । अन्य आठ वटामा भने तत्काल सुधार गर्नुपर्ने अवस्था देखिएपछि सुधार गर्न निर्देशन दिइएको उनले बताए । यसैगरी नारायणगढको पोखरा बसपार्क र रामनगर क्षेत्रका २० वटा होटलहरुको पनि स्तरीकरण गरिएको अधिकारीले बताए । होटलको सरसफाइ, कच्चा पदार्थ र पकाइएका परिकारको स्वच्छता तथा गुणस्तर, कामदारको सरसफाइ लगायतका ५० वटाजति आधारको मूल्यांकन गरी होटलहरुको स्तरीकरण गरिन्छ ।

गत वर्ष मुग्लिनका ५० वटा र नारायणगढ बजारको १०० वटा होटलहरुको स्तरीकरण गरिएको भन्दै गत वर्ष स्तरीकरण गरिएको नारायणगढ, कमलनरस्थित होटल ह्याप्पी होमले स्तरीकरण गरिएपछि व्यापार पनि राम्रो भएको बताएको अधिकारी जनाए । यस्तै लायन्सचोकको मामाघर तन्दुरी रेष्टुरेन्टले पनि स्तरीकरण भएपछि व्यवसाय बढेको प्रतिक्रिया दिएको उनी बताउँछन् । मामाघर तन्दुरी रेष्टुरेन्टले होटलको अगाडिपट्टि नै स्तरीकरणको स्टिकर टाँसेर राखेको छ । अचेल मान्छे सचेत हुँदै गएका छन् । अधिकारी भन्छन्, ‘होटल, रेष्टुरेन्टमा जाँदा नेपाल सरकारले दिएको स्टिकर छ, छैन भनी हेर्ने चलन बढ्दै गएको छ ।’

 

प्रकाशित :२०७९ बैशाख २१, बुधबार ०९:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry