शुद्ध पानी–सस्तै दाम, भरतपुरमा बोर्डको काम

– अजय गोर्खाली
Advertisement 1
चितवन/भरतपुरवासीलाई स्वच्छ, गुणस्तरीय खानेपानी उपलब्ध गराउने जिम्मेवारी पाएको भरतपुर खानेपानी व्यवस्थापन बोर्डका ग्राहक अहिले ३४ हजार हाराहारी छन् । अहिलेसम्म वडा नं. १ देखि १६ र वडा नं. २२ का बासिन्दालाई पानी खुवाउन सफल भएको बोर्डले भरतपुरभरिका सम्पूर्ण उपभोक्तालाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्य अनुरुप आवश्यक ठाउँहरुमा बर्सेनी सेवा विस्तार गर्दै आएको छ ।
यो वर्ष १०० किमि भन्दा बढी पाइपलाइन बिच्छ्याइएको बोर्डले जनाएको छ । जखडीमाई सहलगानी खानेपानी आयोजना अन्तर्गत ६० देखि ६५ किमि पाइपलाइन बिच्छ्याउने काम भएको बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले जानकारी दिए । यसैगरी, उपभोक्ताको जनसहभागितामा १४ किमि र बोर्डले ठेक्कामार्फत् ३२ किमि गरी थप ४६ किमि पाइपलाइन विस्तार गरेको बोर्डका प्रशासन शाखा प्रमुख सञ्जय बरालले बताए । भरतपुर ११ र २ नं वडालाई लक्षित गरी सञ्चालित जखडीमाई सहलगानी खानेपानी आयोजना अन्तर्गत दुईवटा डिप बोरिङ निर्माणका साथै एउटा नौलाख लिटर क्षमता र अर्काे चारलाख ५० हजार लिटर क्षमताको ओभरहेड टंकी निर्माणको अन्तिम चरणमा रहेको कार्यकारी निर्देशक दाहालले जनाए ।
Advertisement 2
यसका अतिरिक्त प्रदेश सरकार अन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मार्फत् यसैवर्ष कैलाशनगर, आनन्दपुर र मंगलपुरमा चारलाख ५० हजार लिटर (४५० घनमिटर) क्षमताका तीनवटा ओभरहेड टंकी निर्माण सम्पन्न भएको बोर्डले जानकारी दिएको छ । यसको फिटिङ, विद्युत जडान, ल्याण्ड डेभलपमेन्ट र मेन पाइपलाइन जडान गर्ने कार्यसमेत बोर्डमार्फत् सम्पन्न भई बोर्डले सञ्चालन गर्ने चरणमा रहेको निर्देशक दाहालले बताए ।
भरतपुर खानेपानी व्यवस्थापन बोर्डले हाफ इन्च पाइपको निजी÷घरायसी धारामा न्यूनतम १० हजार लिटर पानी खपत बापत कायम गरेको न्यूनतम महसुल जम्मा १०० रुपैयाँ छ । त्यो भन्दा बढी पानी खपत भएमा प्रतिहजार लिटरको १८ रुपैयाँ लिने गरेको छ । हाफ इन्चको संस्थागत धारामा न्यूनतम १० हजार लि. खानेपानी खपत बापत न्यूनतम महसुल दर रु. १३५ कायम गरेको बोर्डले संस्थागत रुपमा १० हजार लिटर भन्दा बढी पानी खपत हुँदा प्रतिहजार लिटर २० रुपैयाँका दरले महसुल उठाउने गरेको छ । सूचना अधिकारी समेत रहेका प्रशासन शाखा प्रमुख बराल भन्छन्, ‘अरु खानेपानी संस्थाको तुलनामा हाम्रो महसुल दर कमै छ ।’
Advertisement 3
भरतपुर खानेपानी व्यवस्थापन बोर्डको पानीको स्रोत बोरिङ (जमिनमुनिको पानी) नै हो । ‘हाम्रो स्रोत एकदम शुद्ध छ, बोरिङ भएको ठाउँमा स्रोतको वर्षेनी परीक्षण गर्छाैं । कहिलेकाहीँ पाइपलाइन फुटेर पानी दूषित हुनसक्छ भनेर उपभोक्ताको धाराबाटै पानीको नमूना लिएर परीक्षण गर्ने गरेका छौं’, बरालले भने, ‘हरेक महिना ३० जना ग्राहकको रेन्डम स्याम्पल लिएर हाम्रो आफ्नै ल्याबमा परीक्षण गर्छाैं ।’ खानेपानीको शुद्धता तथा गुणस्तर कायम राख्ने कुरामा बोर्ड एकदम सचेत रहेको उनले बताए ।
‘अहिले सुक्खायाममा पानीको माग बढी छ । सडक मर्मतका क्रममा ठाउँ–ठाउँमा पाइप फुटेका छन् । पानीको फोर्स पनि कम छ’, उनले भने, ‘यो बेला नआत्तिकन पानीको सही प्रयोग गरिदिनु हुन ग्राहकवर्गमा अनुरोध गर्छाैं ।’