पूर्व प्रशासकहरुको तर्क :- ‘दुई दिने बिदा अव्यवहारिक र हावादारी’

सरकारले सातामा दुइ दिन सार्वजनिक बिदा दिने निर्णय गरे पछि त्यसउपर विभिन्न क्रिया र प्रतिक्रियाहरु सार्वजनिक भएका छन् । विशेष गरी पूर्व प्रशासकहरुले यस्तो विरोध शुरु गरेका छन् । पूर्व अर्थ सचिव शान्तराज सुवेदीले सातामा दुई दिन बिदा दिँदा त्यस्ले सर्वसाधरणलाई सास्तीमात्र थप्ने प्रतिक्रिया दिएका छन् । उनले विगतको परीक्षणबाट असफल भएको दुईदिने बिदा इन्धन बचाउने नाममा बिना कुनै अध्ययन हचुवाको भरमा हठात् लागु गर्नु नहुने तर्क पेश गर्दै निर्णय सच्याउनु उपयुक्त हुने सुझाव दिएका छन् ।
पूर्व अर्थसचिव सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन् :-
१) हप्तामा दुईदिन बिदाले नत सरकारको इन्धन र अन्य सञ्चालन खर्च घट्छ न कर्मचारीको कार्यसम्पादनमा चमक आइ सेवा ग्राहीले शीघ्र, गुणस्तरीय र कम लागतमा सेवा पाउछन। यसबाट विकट भौगोलिक क्षेत्र र सडकरयातायात सञ्जालमा नजोडिएका स्थानमा टाढाबाट सेवा लिन आउने सर्वसाधारणको सास्तीमा थप केही खुट्किला थपिनेछन्।
२) हाम्रो जस्तो विश्वमै सार्वजनिक बिदा धेरै भएको र समय पालनामा लापरबाह मुलुकमा हप्तामा दुईदिन बिदाबाट सरकारी तथा गैरसरकारी क्षेत्रबाट हुने सेवाप्रवाह र यसबाट सेवाग्राहीलाई पर्ने असर, निजीक्षेत्रको चासो, कर्मचारीको कार्यसम्पादन क्षमतामा आउने परिवर्तन, सामाजिक मनोभाव, समयको पालना एवं मुलुकको समग्र अर्थतन्त्रमा पर्ने प्रभावको सुक्ष्म अध्ययन नगरी सरकारको खर्च बचत हुने असंभव आशामा सरकारले यस्तो गलत निर्णय लिनु हुने थिएन।
Advertisement 1
३) विकसित र सूचना प्रविधिको भरपुर उपयोग गरी प्राय सबै सेवा अनलाइनबाट प्रवाह गर्ने मुलुकसँग तुलना गरेर हप्तामा दुईदिन बिदा दिने अवस्थामा हामी अझै पुगेका छैनौँ। विगतको परीक्षणबाट असफल भएको दुईदिने बिदा इन्धन बचाउने नाममा बिना कुनै अध्ययन हचुवाको भरमा हठात् लागु गर्नु हुँदैन। निर्णय सच्याउनु उपयुक्त हुन्छ।
यस्तै पूर्व मुख्य सचिव समेत रहिसकेका विमल कोइरालाले बिना अध्ययन र विश्लेषण दुई दिन बिदा दिने गरी गरिएको निर्णयले परिणाम उल्टो आउन सक्ने बताए ।उनले सातामा दुई दिन बिदा दिने निर्णयले सेवा प्रवाह अत्यन्तै कमजोर भएर जाने र त्यसको असर संघीय शासन प्रणालीमा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
यस्तै अर्काे पूर्व प्रशासक गोपीनाथ मैनालीले सामाजिक सञ्जालबाटै सातामा दुइ दिन बिदा दिने निर्णय पुर्नविचार गर्न सुझाव दिएका छन् ।
उनले ट्वीटरमार्फत लेखेका छन्,हप्तामा दुईदिन विदा दिने प्रयोग पहिला पनि भएको हो, पछि फिर्ता लिइएको हो । समष्टिगत असर अध्ययन गरेर निस्कर्षमा पुग्दा उचित हुने थियो ।’
कतिपय पूर्व प्रशासकले यस्लाई दुर्भाग्यपूर्ण निर्णय र मुलुकको अहितमा रहेकाले सो निर्णय सच्चाउनुपर्ने माग प्रशासकले गरेका छन् ।
यस्तै पूर्व सचिव केशव भट्टराईले पनि नेपाल सबैभन्दा बढी सार्वजनिक बिदा दिने देशको रुपमा रहेकोमा अझै सातामा दुई दिन सार्वजनिक बिदा दिँदा बार्षिक ५२ दिन अरु बिदा थपिने हुँदा त्यसले मुलुकको निजी क्षेत्र र आर्थिक क्षेत्रमा समेत गम्भीर संकट पैदा गर्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।
यस्तै अर्काे पूर्व प्रशासक शारदाप्रसाद त्रितालले सरकारले अन्तर्राष्ट्रिय अभ्यासका आधारमा नभई बिना अध्ययन र विश्लेषण दुईदिने बिदाको निर्णय गरेकाले सो निर्णय सफल नहुने ठोकुवा गरेका छन् ।
Advertisement 2
सरकारले यसअघि काठमाडौं उपत्यकामा २०५६ सालमा सातामा दुई दिन बिदा दिने निर्णय गरी कार्यान्वयनमा ल्याएको थियो । तर, त्यसले सरकारी कामकारबाहीमा शिथिलता आएको र सेवा प्रवाहसमेत प्रभावहीन भएपछि सरकारले छोटो समयमा नै सो निर्णय खारेज गर्न बाध्य भएको थियो । अहिले पनि सरकारले बिनाअध्ययन हचुवाकै आधारमा दुईदिन बिदा दिने निर्णय गरेको बताइएको छ ।