परदेशीको पत्र :- यसपालि मकै नछर्नु र धान नरोप्नु प्रिया
म परदेशिएको पनि ४ बर्ष व्यतित भइसकेछ । त्यहाँका नेताको व्यबहार सम्झदा भक्कानिन्छ । अहिले त्यही भक्कानिएको मुटु र काँपि रहेका हातलाई थाम्दै, देख्न नसक्ने आँखा र लेख्न नसक्ने कलमलाई छाम्दै, टुटेका हृृृदय र फुटेका छातिलाई मिच्दै यो पत्र लेख्न वाध्य छु । मैले भोट हाल्न लगाएर विजयी बनाएको नेताले खेतमा पानी लाउने कुलो बनाइदिएनन है। परेको पानी बाहेक सिंचाइ खेतमा नहुँदा अनाज उत्पादन कम भो होला नि । पीर नगर म यहाँ दुख गरेर नि पैसा पठाएर पालौला सबैलाई।
प्रिय साँच्चै प्रणय दिवसमा पत्र लेखौला सोचेथें, यहाँ खाडीको गर्मी , उराठिलो मौसम, चिन्ताले पिरलिएको मन त्यहाँको खबर बुझ्न मन भएर पनि प्रणय दिवसकै दिन यहाँ खाडीको मालिकको खेतमा बाली लाउने दिन परेर साहुजीले फुर्सद नै दिएनन, फोन गर्नै र पत्र लेख्नै पाईन। अहिले नेपालमा नयाँ बर्ष, तिमी लगायत सबै आफन्तजनमा नयाँ बर्षको मंगलमय शुभकामना छ।
Advertisement 1
प्रिया, अब नेपालमा सायद निर्वाचन आएको होला, भोट माग्नेहरु आउलान , मेरो बारेमा सोधे भने नेपालमा चुनाबमा आउने भन्नु भाको छ भन्नु। पोहोर साल हाम्रो पैसा जम्मा गरेको सहकारीको पैसा दुरुपयोग गरेर खाने नेताले पनि मेसेज लेखेको छ मलाई , भोट दिन पर्छ फेरि चुनाब उठदैछु भनेर । त्यही सालनै तल्लो गाउँको अर्को ठेकदारले रसायनिक मल ल्याउन पहिलै पैसा लग्यो र मल पनि ल्याएन अनि यसपाला उ पनि पालिकामा उठ्ने रे चुनाबमा प्रमुख पदमा । भत्किएको बाटो र खोलाको कटान रोक्ने बजेट आफ्नै प्रयोगमा ल्याएर खाने पनि चुनाब उठने रे , त्यसले पनि भोट हाल्न भए पनि आउनु दाइ भनेर लेखेको छ मेसेन्जरमा। पहिला नक्कली काम गरेर पैसा कमाउनेहरु पनि जुन पार्टीले टिकट दियो त्यसैमा उठने भन्ने सुनेको छु, अनि नेपालमा अहिले हाम्रो पार्टीले पनि अर्कैको चुनाब चिन्हमा भोट हाले पनि हुने भन्ने निर्णय गरेको छ रे , हो र ?
पहिला हामिलाई अर्काको चिन्हमा भोट हाल्न हुन्न भनेर सिकाउने नेतालाई कोभिडले मारेछ है। हाम्रो लागि चुनाब अर्थहिन छ तर के गर्नु प्रिया , आफूले पाएको अधिकार भनेर हामी झन झन मूर्ख हुने नै भएउँ ।
Advertisement 2
अहिलेको साल त्यहाँ रासायनिक मल बीउ बिजन आउला झैं लागेको छैन हामीलाई । मलाई तिम्रो पत्र आएको पनि करिब तीन महिना भयो, त्यो बेलादेखि आजसम्म अत्यावश्यक मल बीउ बीजन नआउनुले अब आउन्न होला सायद । खेतीपातीको कुरा यस्तै भए। त्यसैले तिनै ठग मध्येका कुनैको पक्षमा नलागे हाम्रो खानेपानीको पाइप बिगार्लान, स्कुल बन्द गराउलान, हामी हिड्ने बाटोमा अबरोध गर्लान, घरमाथी बिकासका नाममा डोजर लाएर पहिरो लगाउलान,नेपाल बन्द गर्लान त्यसैले चुनाबमा उठने मध्येका एकलाई सहयोग गर्छु भनेर तिमीले मैले पठाएको पैसा झिकेर स्कुटर किन्नु र निर्वाचनमा प्रचारप्रसार गर्न स्कुटरमा झण्डा राखेर हिडें हुन्छ। त्यसो हुंदा हेल्मेटभित्र लुकेका ती आँखा, खित्त हाँस्दा देखिने मिलेका ती सेता दाँत, चुच्चो देखिने नाक, स्वासको बेहोसीसँगैको प्रेमको मधुसीको मिठास बोकेको बतासले हाम्रो पक्षको नेता फटाह भए पनि जित्ला र पहिलाको जस्तै हामिलाई सहकारी , मल र कुलोमा ठग्ला । यस्तै छ प्रिया हामिलाई जसले पनि प्रयोग गर्ने मात्रै हुन , त्यसै अग्रजले गीत गुनगुनाएका होइनन ९ पोहोर साल खुशी फाट्दा जतन गरि मनले टाँले, त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टाँले , यसपालि त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो भनेर। यस्तै सम्झेर पनि मन बुझाउँ। ठगे नि ठगोस तर बालबालिकालाई पढाइ बन्द नगर्देर र खानेपानीको पाइप नकाटे जीवन चल्ला नि हैन र। म खाडीमै भए पनि जेनतेन गरेर तिमीहरुलाई बालबच्चालाई पालौला ।
नेपालको राजनीतिको परम लक्ष्य नेताहरूको परिवारका सदस्य, नातागोतालाई रोजगारी सुनिश्चित गर्नु हो, हाम्रा देशमा हुने नीति (नातागोता रोजगारी नीति) हो भनेर कहिले बुझ्लान मतदाताले है। यो कुरा त राजदुत नियुक्तिमा पनि आयो नि। आत्मनिर्भरमुखी कृषि प्रणाली र यसको नितिगत अवस्था नबुझ्नाले बिजोग भयो। संबैधानिक ब्यबस्थालाई मिच्ने प्रवृत्तिले देखियो।
Advertisement 3
हरेक आर्थिक बर्षमा बजेट भाषण मार्फत सरकारको नीति तथा कार्यक्रम प्रस्तुती र कार्यान्वयन कृषिमा आधरित धेरै बजेट बिनियोजन हुने गर्दछ। बिगत बर्षहरुमा पनि कृषि क्षेत्रलाई ४१ अर्ब ४० करोड र सिंचाईमा २७ अर्ब ९६ करोड रकम बिनियोजन भएको छ । सरसरी हेर्दा यहाँ कृषिका लागि मानव श्रोत, लगानी, बजार, बित्तिय सुविधा र सरकारी नीतिगत ब्यवस्थाको अवस्था र व्यबहारिक अवस्था यस्तो देखिन्छ । तर परिणाम शून्य भएको छ। नाटक नै रहेछ सबै। मानवसंसाधन, पुंजीको मुल्याङ्कन तथा दीर्घकालीन योजननाद्वारा कृषकको दक्षता अभिबृद्धि तथा व्यवस्थापन गर्न ढिला भैसकेको छ । यसतर्फ विशेष रुपमा सोच्नुपर्ने आवश्यकता भइसकेको छ तर नेतालाई त्यही बजेट दुरुपयोग कसरी गर्ने, नक्कली कृषि फर्म कसरी बनाउने र चुनाब कसरी जित्ने भन्नेमा लागेर हामिलाई भुल्याउनै ब्यस्तता छ ।
कृषि पेशा वा व्यवसायका लागि उपुक्त जग्गा, सिंचाई, हावापानी, कृषी औजार, दक्ष श्रम, लगानी, मल र किटनासक औषधी, बित्तीय सुबिधा, ढुवानी, बिमा र सरकारी निति, बजार र श्रमको मुल्य लगायतको अनुकुल स्थिति आवश्यक छ तर नेतालाई मतलब छैन । मल बीउमा पनि भ्रष्टाचार गरेर खाने दाउमा छ्न।मल र किटनासक औषधी बिदेशबाट आयातमा निर्भर छ ।हाम्रो देशमा उत्पादन छैन।
बित्तिय सुबिधा कृषीमुखी नभै संस्थागत नाफामुखी मात्र भएको छ । निर्वाहमुखी परम्परा त्यागेर पुर्ण व्यवसायिक तथा योजनाबद्द कार्यक्रम अबको आवश्यकता हो तर तुलनात्मक लाभको क्षेत्र नै हाम्रोमा पहिचान गर्नै दिएनन नेताले।
“गरिबै भए पनि माझी दाइलाई माछा मारेर दिनु पर्दैन, जाल उपलव्ध गराइ दिए हुन्छ भनेझैं हामीलाई कुलो निर्माण , रासायनिक मल र बीउ बीजन उपलब्ध भए हामि आफै आफ्ना हात फोरेर उत्पादनमा लाग्न हुन्थ्यो यो सतीले सरापेको देशमा कसले गर्छ खै ?
यसकारण लगानीका लागि भर्जीन ल्याण्ड मात्र होईन, प्राकृतिक रुपमा सुन्दर, पानीको लागि बिश्वमा दोस्रो धनी र बिभिन्न खानीहरु समेतले भरीपुर्ण हाम्रो मुलुकलाई मानव श्रोत र पुँजीको अवस्थामा सुधार गरेर प्रबिधिको उपयोग गर्दै आत्मनिर्भर बनाउनु आजको आवश्यकता हो ।
म सकेको मिहेनत गरेर यहीँ काम गर्छु। बाबुनानीलाई राम्रो प्राबिधिक शिक्षा दिउँ भन्ने मनमा छ । भोलिका दिनमा उनिहरुलाई पनि मेरो जस्तै परदेशमा काम गर्न आउन नपरोस। नेपालमा रहेका नयाँ युवा नेताहरुले तालमेल गरेर चुनाबमा जाने भनेका छन रे । तालमेलमा सहयोग नगरे हाम्रो पार्टीले पनि हामिलाई क्रियाशील नदेला। तालमेल समुहलाई भोट हाल्न जबर्जस्त गर्लान। सरकारले सार्वजनिक बिदा पनि दुई दिन दिएर पेट्रोल खर्च घटाउने कुरा गरेको रैछ। सायद सार्वजनिक बिदा दुई दिन दिँदा खर्च अझै बढ्ला भन्ने अध्ययन किन नभाको होलारु सार्बजनिक बिदा घटाउन पर्ने र सेवा प्रबाह अझै बढाउन पर्ने अबस्थामा अझै बिदा थप्नेहरुले कहाँबाट ज्ञान पाएका होलान, किसानलाई सुबिधा दिन आबस्यक काम किन नगरेका होलान, त्यसैले प्रिया यसपाला मल , बीउ , बीजन केही आउन्न होला, नेताजति चुनाबमा लाग्नेछ्न, त्यसैले तिमिले पनि मकै नछर्नु, धान नरोप्नु, बाँझो खेतमा चुनावी विजयी सभा गर्न दिनु । त्यस पस्चात अर्थशास्त्रीले भनेको कुल ग्रार्हस्थ उत्पादनमा फरक परे पनि रासायनिक मल, बीउ नआएकोले भन्ने लेखिने छैन। कुलो नबनेकाले भन्ने लेखिने छैन। हामिले मकै नछरेर , धान नरोपेर जग्गा जमिन बाँझो राखेको भनेर जग्गा खोस्ने नीति बनाउने छन यिनै नेताले हामिलाई सुकुम्बासी बनाएर पछि फेरि भोट हालेर सुकुम्बासीलाइ जग्गा दिने भनेर आउनेछ्न, यस्तै हुनेछ ।
अन्तमा सुकुम्बासीलाई जग्गा दिँदापनि हामिलाई झुक्याइनेछ। जति झुक्याउन, ठगुन तर खेतमा धान नरोप्ने र बारीमा मकै नछरेर पनि तिमी चुनाबमा भोट माग्न लाग्नु, यिनैलाई जिताउनु, वास्तविकता यहि हो। अरु कुरा अन्य पत्रमा लेखौला। खेत बाँझो भयो भन्ने चिन्ता नगर्नु ल। रासायनिक मल बीउ नल्याउने नेतालाई किन मल बीउ नल्याको भनेर नसोध्नु । अस्तु ।