प्रधानमन्त्रीको एसम्यान सिफारिस नहुँदा….
क्याम्प फेरेर, मन्त्रीको कुर्सीमा टिकेर,झण्डामात्र हल्लाएर के गर्नु,जाबो एउटा मामुली कर्मचारी समेत नियुक्ति गर्ने हैसियत नरहेपछि !
छेपारोलेझैं रंग फेरेर,प्रचण्ड क्याम्पबाट ओली गुटतिर प्रवेश गरेपछि लाग्दो हो अहिले प्रधानमन्त्री ओली र उद्योगमन्त्री लेखराज भट्टबीच क्या हार्दिकतापूर्ण सम्बन्ध होला ।
तर तथ्यले त्यस्तो बोल्दैन् ।
बर्षाै दिनदेखि उद्योग मन्त्रालय मातहतका एक दर्जन निकाय रिक्त छन् । त्यहाँ नियुक्तीको प्रक्रिया अघि बढ्दछ,नाम सिफारिस हुन्छ तर प्रधानमन्त्री ओलीको एस म्यान छनोट नहुँदा क्याविनेटबाटै प्रस्ताव मन्त्रालयतिरै फर्कने सिलसिला रोकिएको छैन् ।
हालैमात्र मन्त्रालयले विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्तिको प्रक्रिया अघि बढायो ।
मन्त्रालयले सर्ट लिष्ट गरीवरी तीन जनाको नाम क्याविनेटमा पठायो । यसरी मन्त्रिपरिषद्मा पुगेका नाम थिए ः वाणिज्य विभागका पूर्व महानिर्देशक योगेन्द्र गौचन र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका पूर्व कार्यकारी निर्देशक रघुराज काफ्लेसहित सेज डुबाउने बदनाम हाकिम चण्डीकाप्रसाद भट्ट ।
सेजको नियुक्तिका लागि लोकसेवा आयोगले परीक्षासमेत लिएको थियो । लकडाउनको बेला उम्मेद्धारको घरमै गाडी पठाएर योजना आयोगबाट उद्योग हेर्ने सदस्य रामकुमार फुँयालको अध्यक्षतामा इन्टरभ्यु लिइएको थियो तर, समितिले गरेको सिफारिसमा ‘आफ्ना मान्छे’ नपरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सो सिफारिस रद्द मात्र गरेनन् अहिले उद्योग मन्त्रालयमै फर्काइएको छ ।
यो तथ्यले भन्छन् ओलीका क्याविनेटका मन्त्रीहरु आफ्नै मन्त्रालयमा एउटा मामुली सह सचिवसम्म नियुक्ति गर्ने हैसियत राख्दैनन् । सिफारिस गरेर क्याविनेट गएका नामहरु धमाधम फिर्ता मात्र आउने भएकै कारण उद्योग मन्त्रालय मातहत मात्र एक दर्जन निकायका प्रमुखको नियुक्ति अलपत्र छ । ती सबै निकाय निमित्तकै भरमा घर्सिरहेका छन् ।
यसरी कामचलाउ रुपमा चलिरहेका संस्थानहरुमा नेपाल औषधि लिमिटेड,उदयपुर सिमेन्ट उद्योग,नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड,व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र लगायत छन् । यीमध्ये अधिकांश रिक्त स्थानमा मन्त्रीले नियुक्ति गर्ने खोज्ने तर मन्त्रीपरिषद्बाट प्रस्ताव फिर्ता आउने श्रृंखला निरन्तरता पाएपछि मन्त्री भट्ट हत्तु छन् ।
यस अघि मातृका यादव मन्त्री हुँदा मन्त्रालयले सिफारिस गरी पठाएको नाम उसैगरी फिर्ता भएको थियो ।