सहमतिमा यौन सम्बन्धपछि बलात्कार आरोप लगाउनेलाई ३ वर्ष जेल

घरमै आएका पाहुनासँग सहमतिमा यौनसम्बन्ध राखेपछि बलात्कार आरोप लगाएकी एक किशोरीलाई साढे तीन वर्षको जेल सजाय भएको छ ।
Advertisement 1
अछामको कमलबजारकी ती १९ वर्षीया किशोरीलाई जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीको एकल इजलासले साढे तीन वर्ष जेल सजायको फैसला सुनाएको हो । बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय युवकलाई सफाइ दिएर अदालतले युवतीलाई कारागार पठाउने फैसला गरेको जनाएको छ ।
युवतीले फोनमार्फत् विवाहको प्रस्ताव लिएर पुरुष घरमा आएको, घरमा आमासँग विवाहको कुराकानी गरेको र राति अबेर भएपछि त्यहीं बसेको बयान दिएकी थिइन् । उनले नन्दरामले माघ १५ गते राति आफ्नै घरमा बलात्कार गरेको भन्दै माघ १७ गते प्रहरीमा उजुरी दिएकी हुन् । अछाम प्रहरीका अनुसार युवकले तत्काल विवाह नगर्ने भनेपछि रिसको आवेगमा युवतीले बलात्कारको उजुरी दिएर फसाउन खोजेकी बयान दिएका थिए ।
Advertisement 2
तर, झुटो आरोप लगाएको पुष्टि भएपछि युवतीलाई अदालतले कैद फैसला गरेको जनाएको छ । अदालतले पनि दुवैको बयान, आवश्यक प्रमाण र शारीरिक परीक्षणसहितको विवरणको अध्ययन गरेपछि ती किशोरी र पुरुषबीच सहमतिमै यौन सम्बन्ध स्थापित भएको ठहर गरेको छ ।
दुवै पक्षको बयान र आवश्यक तथ्य प्रमाणका आधारमा अदालतले यो मुद्दामा किशोरीलाई तीन वर्ष जेल सजाय तोक्दा ती २० वर्षीय पुरुषलाई सफाइ दिएको छ । किशोरीलाई अदातलको आदेशमा जिल्ला कारागार कार्यालय चलान गरिने भएको छ ।