२५ जना क्षमताको कारागारमा १ सय ८ कैदी बन्दी, आधा भन्दा बढी त बलात्कारी

अञ्जनकुमार हिमाली
कसैको चर्चा वा मानप्रतिष्ठालाई धुलिसात पार्नु छ भने बलात्कारको आरोप जस्तो सजिलो उपाय सायदै होला । दैनिक जसो बलात्कारका उजुरी पर्न थालेपछि जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक जगदिश रेग्मी मात्रै हैनन्, जिल्ला अदालतका श्रेस्तेदार उदयराज काफ्ले समेत चित खाएका छन् । हुन् पनि २५ जना क्षमताको कारागार लमजुङमा १ सय ८ कैदी बन्दी मध्ये आधा भन्दा बढी त बलात्कार मुद्दा कै छन् ।
सात महिनासम्म लोग्नेस्वास्नी भएर काठमाडौमा बस्दै आएका बेसीशहर -७ चनौटेका १९ वर्षीय सन्तोष कुमार राउत नाबालिका बलात्कारको आरोपमा गत माघ २६ मा समातिए । मर्स्याङ्दी गाउँपालिका – ९ सिम्पानी की १५ वर्षीय नेपाली थरकी एक बालिकालाई जबर्जस्ती करणीका साथै बालविवाहमा मुद्दा लगाएपछि केटा प्रहरी हिरासतमा अनुसन्धानमा छन् । सात महिनासम्म ठिकै थियो । तर केटी सानो जातकी भन्ने चाल पाएसी केटाका परिवारले ती बालिकालाई फिर्ता पठाए । केटीका बाबु विदेश । आमाले ठिकै छ नि त मेरो छोरीको पठन पाठनका लागि पाँचलाख खर्च दिनु भन्ने माग राखेपछि चनौटेका क्षेत्री जंगिए । पाँच लाख त के सुक्को नदिने भन्दै हकारेपछि केटाले बालविवाह तथा करणीको आरोपमा जेल जाने पक्का छ ।
तीनसाता अघि ठमठमाउदी २५ वर्षीय युवती सहित  ४० वर्षका हरिबहादुर गुरुङलाई लिएर बेसीशहर -१० का एकहुल मानिस जिल्ला प्रहरी कार्यालय आए । उजुरी उही जबर्जस्ती करणी कै । आफन्तकोमा जान हिँडेकी ती युवतीलाई हरिबहादुर गुरुङले राइनास – ६ स्थित जंगलमा लगेर करणी गरेको भन्दै केटीका आफन्तले उजुरी गरे । आफन्तकोमा आउँछु भनेकी युवती अबेरसम्म नआएपछि आफन्तले खोजी गर्ने क्रममा दुवै जना बाटो भन्दा माथिको जंगलमा फेला परेका थिए । मान्छेहरुले चाल पाएसी भागे । तर आफन्तले प्रहरी चौकी धमिलिकुवा र जिल्ला प्रहरी कार्यालयमा जानकारी गराई सकेको हुँदा प्रहरी कै सहयोगमा गुरुङ पक्राउ परे । केटीको जाहेरी बयान कै क्रममा प्रहरी अधिकृत आफै छक परे, बाटो माथि जबजस्ती करणी अनि २५ वर्षीय युवती । जबरजस्ती करणीसंग तालमेल नखाएपनि यस्ता केसमा प्रहरीले चाइँचुइँ गर्न नी मिलेन । गुरुङ पुर्पक्षका लागि कारागार चलान भए ।
जापानमा लामो समय बसेर नेपाल आएका बेसीशहर -८ का माओवादी नेताका भतिजा पर्ने एक दनाई गत बुधबार मात्रै पुर्पक्षका लागि कारागार चलान भए । मनाङ घर भई आमा सगै बेसीशहर बस्दै आएकी ७ वर्षीय उनकै डेरामा आमा नभएको मौका पारी बालिकालाई केक खुवाएर गुप्ताङ्ग चाट्ने, खेलाउने अनि लिङ्ग प्रवेश गराउन खोज्ने क्रममा बालिका रोईकराई गरेपछि घटना बाहिरिएको थियो । स्थानियले नाङ्गे पारेर गरेको रामधुलाईबाट पीडक दनाईलाई बचाउन जनपथ प्रहरीले सशस्त्रलाई नै गुहार्नु परेको थियो ।
यता यस्ता घटना घट्दै गर्दा इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत प्रहरी जवान इन्द्रजीत आलेको भने ठनक्कै हात भाँचिनुका साथै अनुहार भरी लागेको  चोटको जिल्ला अस्पताल लमजुङमा उपचार गराउँदै छन् । गत १६ गते रातको दस बजे सुनपा -९ फूलबारी चोकमा डेरागरी बस्ने दोर्दी गाउँपालिका – २ भार्तेकी प्रतिमा अधिकारीसंग सहबास हुँदै गर्दा लोग्ने साइला राईले कुटपिट गर्दा निजको दाहिने हात भाँचिनुका साथै अनुहार भरी चोट लागेको हो । राईले ट्याक्टर चलाउने क्रममा प्रतिमालाई लभ पारेर विवाह गरेका थिए । दुई सन्तानकी आमा अधिकारी को चाल चलन माथि शंका भएपनि कुनै दसी प्रमाण नभेटेका र बच्चाको मुख हेरेर श्रीमती अधिकारीले थुप्रै पटक डिभोर्स माग्दापनि चुपचाप बसेका राईले सो रात आफ्नै आँखाले त्यस्तो घटना देखेपछि प्रहरीलाई कुटेको जिल्ला प्रहरी कार्यालयमा बयान दिएका छन् । भने कुटाई खाएर उपचारको क्रममा रहेका आलेले भने यो घटनाबारे कसैलाई जानकारी नदिन मातहत संग हारगुहार गरिरहेका छन् ।
प्रकाशित :२०७८ चैत्र १९, शनिबार १७:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry