छ महिनाको तालिम ६ हप्तामै सक्ने सरकारको तयारी

गत १६ माघमा ४८५ जना कर्मचारीहरु अधिकृतमा नियुक्तिका लागि सिफारिस भए । २ फागुनदेखि उनीहरुको प्रशिक्षण चल्दैछ । नवप्रवेशी अधिकृतलाई ६ महिना तालिम दिँइदैं आएको थियो बिगतमा । तर,यस पटक स्थानीय तहको निर्वाचनको बाहना र अधिकांश स्थानीय तह रिक्त रहेको कारण देखाएर ६ हप्ता मात्र तालिम दिएर काममा खटाउने तयारी चल्दैछ ।
गत २ फागुनदेखि दुई हप्तासम्म अनलाइनबाटै तालिम लिएका अधिकृतहरुलाई त्यसपछि भौतिक उपस्थितीमै तालिम दिन थालिएको छ । स्टाफ कलेज स्रोतका अनुसार,त्यसमध्ये पनि प्रशासन सेवाबाहेकका कर्मचारी बाहेक अरुको तालिम आगामी चैत्र १ गतेसम्म मात्र चल्नेछ । प्रशासन सेवा बाहेक परराष्ट्र,न्या,लेखा समूहका कर्मचारीहरुलाई आ आफ्नै तालिम केन्द्रमा पठाइने छ । प्रशासन सेवाका अधिकृतहरुले भने स्टाफ कलेजबाटै तालिम लिनेछन् । स्टाफ कलेजका प्रवक्ता शिवहरि अधिकारीका अनुसार स्टाफ कलेज ६ महिना नै तालिम दिनका लागि तयार छ । चैत्र १ भित्रमा कर्मचारीहरुलाई अत्यावश्यक पर्ने कार्यालय सञ्चालन, व्यवस्थापकीय कुशलता,संघीयताको बिषयमा तालिम दिइसकिनेछ ।
Advertisement 1
प्रशासन सेवाका कर्मचारीहरुलाई समेत १५ चैत्र अगावै तालिम टुंग्याएर काममा पठाउने तयारी चल्दैछ । यस अघि नवप्रवेशी अधिकृतहरुलाई कम्तिमा ६ महिनाको तालिम दिदैं आएकोमा यस पटक यस्तो तालिम ६ हप्तामै सकाउन लागिएको हो ।
Advertisement 2
सरकारले आगामी वैशाख अन्तिम साता स्थानीय तहको निर्वाचन गर्न लागेको छ । निर्वाचन आयोगले समेत १५ चैत्र अगावै कर्मचारीहरुको सरुवा वा बढुवाको काम टुंग्याउन सरकारलाई निर्देशन दिइसकेको छ । सोही निर्वाचनलाई लक्षित गरी अधिकृतहरुको तालिम छोट्याएर उनीहरुलाई खटाउन लागिएको हो । अहिले तालिम लिइरहेकामध्ये प्रशासन समूहतर्फका १ सय ४० अधिकृतहरु प्रमुख प्रशासकीय अधिकृतको रुपमा गाउँपालिकामा खट्नेछन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अहिले देशका एक तिहाई स्थानीय तह निमित्तकै भरमा चलिरहेको छ । कूल ७५३ स्थानीय तहमध्ये २ सय १३ स्थानीय तह निमित्तको भरमा चलेका छन् । त्यसमध्ये १ सय ४० गाउँपालिका निमित्तको भरमा चलेका छन् । निमित्तको भरमा चलेका गाउँपालिका धेरैजसो नायब सुब्बाको भरमा चलेका छन् । कुनै ठाउँमा कविराज र विद्यालय निरीक्षिकले पनि चलाएका छन् । यसरी निमित्तका भरमा चलिरहेका स्थानीय तहहरुमा फ्रेस कर्मचारी पठाउने तयारी चल्दैछ ।