ग्यास पाइपलाइनमार्फत घरघरसम्म पुर्याउने योजना : पाइप विस्तारको काम सुरु

घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा फोहरबाट ग्यास उत्पादन गर्न सुरुआत गरिएको छ । नेपाल ऊर्जा विकास कम्पनी प्रालिद्वारा सञ्चालित सो प्लान्टबाट अहिले दैनिक ३०० घनमिटर ग्यास उत्पादन हुने गरेको छ ।
Advertisement 1
प्लान्ट व्यवस्थापक हरिशरण श्रेष्ठले भने, “अहिले फोहर कम राखिएको छ । यसले गर्दा ग्यास उत्पादन कम भएको हो । केही समयपछि फोहर धेरै राखेर उत्पादनलाई वृद्धि गरिने छ । ” प्वान्टमा उपमहानगरपालिकाबाट उठ्ने फोहर मात्र प्रयोग गरिएको छ । उनका अनुसार उत्पादन भएको ग्यास पाइपलाइनमार्फत घरघरसम्म पुर्याउने योजना छ । यसका लागि पाइप विस्तारको काम सुरु गरिने जनाइएको छ । उनले भने, “हामीलाई आवश्यक पर्ने एनडिपी पाइप हो, यो अर्डर दिएपछि मात्र निर्माण गरिने भएकाले ढिला भएको हो ।”
पाइपमार्फत ग्यास प्रयोग गरेबापत उपभोक्ताले मिटरअनुसार रकम तिर्नुपर्नेछ । कोरोना सङ्क्रमणका कारण निर्माण कार्य केही ढिला भएको जनाइएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल ऊर्जा विकास कम्पनी प्रालि र उपमहानगरपालिका बीचको त्रिपक्षीय सहकार्यमा फोहरबाट ग्यास उत्पादन गर्न थालिएको व्यवस्थापक श्रेष्ठले बताए । पहिलो चरणमा ४५० घरधुरीमा पुर्याउने उद्देश्यले सर्भे गरिएको छ । पछि विस्तार गरिने भएको छ । उत्पादन गरिएको ग्यास वरिपरिका स्थानीयलाई परीक्षण गरिने छ । सफल भएमा उपमहानगरभित्रका सहरमा विस्तार गरिनेछ ।
Advertisement 2
त्रिपक्षीय सम्झौता २०७५ मङ्सिर ५ गते भएको थियो । ग्यास उत्पादन गर्नका लागि पहिले करिब रु २० करोड लगानी लाग्ने भनिएको थियो तर पाइपमार्फत घरघरसम्म ग्यास पुर्याउनुपर्ने भएपछि करिब रु २२ करोड लाग्ने उनले जानकारीदिए । यो रकम घरघरसम्म ग्यास पाइपमार्फत पुर्याउँदा खर्च हुनेछ । फोहरबाट ग्यास उत्पादनका लागि केन्द्रले ४० प्रतिशत रकम दिनेछ भने ६० प्रतिशत कम्पनी आफैँले बेहोर्ने सहमति भएको जनाइएको छ ।
संरचना निर्माणका लागि नगरपालिकाले करिब तीन बिघा जग्गा उपलब्ध गराएको छ । उक्त ग्यास प्लान्ट दुई हजार घनमिटरमा छ । फोहरबाट ग्याससँगै कम्पोष्ट मलसमेत उत्पादन गरिने उनले बताए । कम्पनी र उपमहानगरपालिकाबीच २० वर्षको सम्झौता गरिएको छ । सम्झौताअनुसार २० वर्षपछि संरचनासहित सबै पूर्वाधार घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गरिने भएको छ । २० वर्षसम्मका लागि कम्पनीले नगरपालिकालाई पाँच प्रतिशत रकम दिने सहमति भएको छ ।
Advertisement 3
उपमहानगरप्रमुख नरुलाल चौधरीले भने, “नगरपालिका र कम्पनीबीच २० वर्षको सम्झौता भएको छ, त्यसपछि सबै नगरपालिकालाई हस्तान्तरण हुनेछ । यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने र उपमहानगरपालिकाको आम्दानीको स्रोतमा वृद्धि गर्ने लक्ष्य रहेको छ ।” ग्याससँगै कम्पोष्ट मल उत्पादन गर्ने र फोहर व्यवस्थापनमा सहजता हुने अपेक्षा गरिएको उनले बताए ।
जिल्लामा नै फोहरबाट ग्यास उत्पादन भएपछि ग्यासको मूल्य पनि कम हुने नागरिकले अपेक्षा लिएका छन् । फोहरबाट ग्यास उत्पादन गर्न थालिएको जिल्लामा यो पहिलो हो । जिल्लामा निर्माण गर्न थालिएको यस प्रकारको कार्य अवलोकन गर्नका लागि जिल्ला तथा बाहिरी जिल्लाबाट नागरिक आउने गरेका छन् । फोहरबाट ग्यास तथा कम्पोष्ट मल उत्पादन भएपछि फोहर व्यवस्थापनमा समेत सहजता आउने नगरपालिकाको अपेक्षा छ । ग्यास उत्पादन गर्न थालेपछि गलेर जाने वस्तुको सदुपयोगसमेत हुनेछ ।
उपनगरपालिकाले अहिले गल्ने र नगल्ने वस्तु छुट्टाछुट्टै उठाउने गरेको छ । नगल्ने फोहरसमेत उपमहानगरपालिकाले किन्न थालेको छ । यसले नगर सरसफाइमा सहयोग पुग्ने अपेक्षा उपमहानगरपालिकाको छ । उपमहानगरपालिकाले घरघरबाट फोहर खरिद गर्न थालेको छ । बोटल र गुट्खाका खोलमा पैसा आउन थालेपछि स्थानीय दङ्ग परेका छन् ।